|

पर्वत : कृषि ज्ञान केन्द्र पर्वतको आयोजना तथा मोदी गाउँपालिकाको आयोजनामा मोदी कृषकहरूले खेतीपाती गर्दै आएको माटोको परीक्षण गरिएको छ।

माटोको परीक्षण नगरी बाली लगाउँदा लगानी अनुसारको उत्पादन नआउने तथा माटोको उर्वरा शक्तिमा ह्रास आउँदै जाने भएकाले कृषकहरूलाई माटो परीक्षणमा आकर्षित गर्ने गरी शिविर सञ्चालन गरेर माटोको अवस्था जाँच गरिएको हो।

केन्द्रकी प्रमुख तथा वरिष्ठ कृषि विकास अधिकृत मनिता थापाका अनुसार व्यावसायिक रूपमा होस् वा सामान्य गुजारा चलाउने गरी खेती गर्दै आइरहेका कृषकहरू नै किन नहुन निकै थोरैले बाहेक माटो जाँचेर त्यसको उपचार गर्ने गरेका छन्। कृषकहरू माटोको बिग्रिँदो अवस्थाका बारेमा सचेत नहुँदा उनीहरूको लगानी खेर जान सक्ने भएकाले माटो परीक्षणका लागि कार्यालयमा रहेको ‘मिनी ल्याब’ तथा विभिन्न ठाउँमा शिविर राखेर सचेतना फैलाउने प्रयास भइरहेको छ।

थापाका अनुसार पी.एच मान नाप्दा शून्यदेखि १४ सम्मको नतिजामा निस्कन्छ। जसमा अधिकांश बाली वा बिरुवालाई पाँच दशमलव पाँचदेखि सात दशमलव पाँचसम्मको पी.एच अवस्था भएको हुनुपर्छ। ० देखि ६ सम्मको अवस्थामा माटो अम्लीय हुने, छ देखि सातसम्मको माटो तटस्थ हुने र सातदेखि १४ सम्मको माटो क्षारीय हुन्छ। खेतीका लागि अम्लीय र क्षारीय दुवै नहुने भएकाले माटोको अवस्था तटस्थ वा त्यसको वरिपरि भएको राम्रो मानिन्छ।

मेदीको शिविरमा ८२ जना कृषकहरूले ल्याएको माटो परीक्षण गर्दा अम्लीय पदार्थको मात्रा ७३ प्रतिशत रहेको पाइएको छ। परीक्षण गरिएकामध्ये ७० प्रतिशत नमुनामा नाइट्रोजनको मात्रा कम रहेको तथा ७५ प्रतिशतमा फस्फोरसको मात्रा कमी रहेको र ७० प्रतिशतमा पोटासको मात्रा कम रहेको पाइएको छ। प्राप्त नतिजाको आधारमा विभिन्न बालीमा नाइट्रोजन, फस्फोरस र पोटासको मात्रा सिफारिस गरिएको छ।

‘तटस्थ विन्दुबाट जति–जति तल वा माथि जान्छ उति मात्रामा माटोको अवस्था बिग्रिँदै जाने हो। उत्पादन भएन भनेर रासायनिक मल हाल्ने गरिन्छ। रासायनिक मलमा भएको तत्त्व बिरुवाले लिन्छ भनेर हाल्ने हो’, थापा भन्छिन्, ‘अम्लीय र क्षारीय अवस्थामा नभएको माटोले मात्रै रासायनिक मलको मात्र शोषण गर्छ र त्यो बिरुवाले लिन्छ। बिग्रेको माटोमा रासायनिक मल हालेर उत्पादन बढ्दैन, बरु त्यही रासायनिक मलले माटो बिग्रिन सहयोग गर्छ।’ सिफारिस भएको पी.एच भन्दा फरक अवस्थामा रहेको माटोमा लगाइएको खेती राम्रो बनाउन रासायनिक मल वा अन्य कुनै खाद्य तत्त्व प्रयोग गर्नुको पनि अर्थ नहुने उनको भनाइ छ।

कृषक माटो परीक्षणमा आकर्षित नभए पनि कार्यालयले विभिन्न समयमा फरक–फरक स्थानको माटो आफैँले सङ्कलन गरेर परीक्षण गर्ने गरेको छ। नेपालको समग्र नतिजालाई हेर्दा माटोको ‘पी.एच’ मान ६० प्रतिशत रहेको छ। पर्वतको माटोको ‘पी.एच’ मान ८४ प्रतिशत रहेको छ। माटोमा नाइट्रोजन र फस्फोरसको मात्रा जति धेरै भयो उति नै राम्रो हुन्छ। पर्वतको माटोमा भने यो मात्रा घट्दै गएको देखिएको छ। यो अवस्थामा सुधार ल्याउनकै लागि कार्यालयले माटो परीक्षणमा तीव्रता दिइरहेको छ।

सबै बालीमा एउटै ‘पी.एच’ मान नहुने र आवश्यक पनि नपर्ने भएकाले समय समयमा माटोको परीक्षण गर्नुपर्ने कृषि प्राविधिकको सुझाव छ। बाली लगाउनु पूर्व नै माटोको परीक्षण गरी सोही अनुसारको उपचार गरेमा उत्पादन बढ्छ। रासायनिक मलको प्रयोगको सट्टा कम्पोस्ट वा गोबर मलको प्रयोग गरेमा उत्पादन बढ्छ। तर माटोको अवस्था धेरै नै बिग्रिएको भए कृषि चुनको प्रयोग गरेर माटोको अवस्थामा सुधार ल्याउन सकिने कार्यालय प्रमुख थापाले बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.