|

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक साताअघि पदबाट राजीनामा दिएपछि मुलुक नयाँ प्रधानमन्त्री चयनको क्रममा छ। संसद सचिवालयले जेठ २१ गते प्रधानमन्त्री चयन गर्न निर्वाचन गर्ने गरी कार्यतालिका सार्वजनिक गरिसकेको छ। 

प्रधानमन्त्री चयन प्रक्रिया सुरु नभइसके पनि नयाँ मन्त्रिपरिषदमा को को मन्त्री हुनेछन् भन्ने विषयमा भने चर्चा सुरु भइसकेको छ। अब बन्ने सरकारमा पनि अहिलेकै सत्ता गठबन्धनले निरन्तरता पाउने र प्रधानमन्त्रीको रुपमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अघि सर्नेछन्। त्यसका माओवादी केन्द्र महत्वपूर्ण सत्ता साझेदारको रुपमा रहनेछ। अब बन्ने मन्त्रिपरिषदमा नयाँ अनुहार पर्लान् वा पुरानै दोहोरिएलान् भन्ने विषयमा धेरैको चासो छ। 

माओवादीका तर्फबाट सरकारमा कसले नेतृत्व गरेर जाने भन्ने बारेमा अझै टुंगो लागिनसकेको उपप्रधानमन्त्री एवं अर्थमन्त्री कृष्णबहादुर महराले बताए। उनले भने, ‘प्रधानमन्त्री छान्ने प्रक्रिया सकिएपछि मात्र पार्टीको तर्फबाट को सरकारमा जाने र कुनकुन मन्त्रालय लिने भन्नेबारेमा छलफल हुनेछ।’

नयाँ मन्त्रिपरिषदमा पार्टीको तर्फबाट कसलाई पठाउने भन्नेबारे अहिलेसम्म कुनै छलफल नभएको माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले बताइन्। यो विषयमा छलफल गर्न प्रधानमन्त्री छान्ने प्रक्रियापछि मात्र पार्टीको बैठक बस्ने उनले बताइन्। नयाँ प्रधानमन्त्री चयन प्रक्रियापछि पार्टीको तर्फबाट मन्त्रिपरिषदमा नेतृत्व गर्दै एक जना उपप्रधानमन्त्री पठाउने भन्नेबारे अध्यक्ष प्रचण्डसँग सामान्य छलफल भए पनि कसलाई पठाउने भन्नेचाहिँ प्रवक्ता भुसालले खुलाउन चाहिनन्। 

अध्यक्ष प्रचण्डका विश्वासपात्र रहेका नेता कृष्णबहादुर महरा नै माओवादी केन्द्रका तर्फबाट मन्त्रीहरूको नेतृत्व गर्दै सरकारमा सहभागी हुने संभावना प्रबल रहेको एक हेडक्वाटर सदस्यले थाहाखबरलाई जानकारी दिए। ऊर्जामन्त्री जनार्दन शर्मा पनि नयाँ मन्त्रिपरिषदमा दोहोरिने संभावना पनि उत्तिकै रहेको उनले बताए। प्रचण्ड सरकारमा ऊर्जामन्त्री रहेका जर्नादन शर्माले उपत्यकालगायत नेपालभर लोडसेडिङ अन्त्यका लागि उल्लेख्य काम गरेको हुनाले जनतामा पनि उनको छवि राम्रो बनेको हुँदा उनलाई दोहोर्‍याउनुपर्छ भन्ने चर्चा माओवादी वृत्तमा चलेको छ। 

त्यस्तै, नेताहरू गिरिराजमणि पोखरेल, टोपबहादुर रायमाझी, हरिबोल गजुरेललगायतका नेताको नाम अब बन्ने मन्त्रिपरिषदको संभावित सदस्यको रूपमा चर्चामा छ। सल्यानका टेकबहादुर बस्नेत अब बन्ने मन्त्री मण्डलमा जाने पक्कापक्की जस्तै भएको स्रोतले बतायो। बस्नेत अहिले माअोवादी संसदीय दलका प्रमुख सचेतक हुन्। माओवादीभित्र मधेसको प्रतिनिधित्व गर्ने नेता प्रभु शाह, मोरङका शिवकुमार मण्डल, रामेछापका श्यामकुमार श्रेष्ठ, कालिकोटका महेन्द्रबहादुर शाही पनि मन्त्री बन्न सक्ने चर्चा माओवादीभित्र छ। 

महिलाबाट रेखा शर्मा, सीता नेपाली, आशा खनाललगायतको चर्चा छ। रेखा शर्मा केपी शर्मा अोली नेतृत्वको सरकारमा सामान्य प्रशासनमन्त्री भइसकेकी छन्। महिलाबाट राज्यमन्त्रीका लागि सिर्जना तरामु मगर, अञ्जना चौधरी, केशरी घर्ती मगर, दुलारी हरिजनलगायतका आकांक्षी रहेका स्रोत बताउँछ।

यसअघिको मन्त्रिपरिषदमा माओवादी केन्द्रबाट एक जना पनि महिला फुल मन्त्री बनाइएको थिएन। अब बन्ने मन्त्रिपरिषदमा भने माओवादी संसदीय दलकी सचेतकसमेत रहेकी सीता नेपाली फुल मन्त्री बन्न सक्ने स्रोतले बताएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.