|

संखुवासभा : अलैँचीलाई आफ्नै ब्राण्ड र प्याकेजिङमा अन्तरराष्ट्रिय बजारमा लैजना तीनै तहका सरकारको सहयोग आवश्यक रहेको अलैँची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईले बताएका छन्।

अलैँचीको उत्पादन, गुणस्तर सुधार र बजारीकरणसम्बन्धी भएको अन्तरक्रियामा अध्यक्ष अध्यक्ष भट्टराईले अलैँचीलाई अन्तरराष्ट्रिय बजारमा पुर्‍याउन गुणस्तरीय अलैँची आवश्यक भएको बताए।

उनले भने‚ ‘कसरी धेरै मूल्य लिन सकिन्छ भनेर कृषक, व्यवसायी र सरोकारवाला निकायसँग छलफल कार्यक्रम गरिएको अध्यक्ष भट्टराईले बताए। नेपाली अलैँचीलाई भारतबाहेकका तेस्रो बजारमा लैजानसके अलैँचीको मूल्य राम्रो पाउन सकिने उनले बताए। संखुवासभाको धर्मदेवी नगरपालिका मुढेमा अलैँचीको उत्पादन, गुणस्तर सुधार र बजारीकरणसम्बन्धी अन्तरक्रियामा उनले सो कुरा बताए।

अलैँचीको बजार र गुणस्तर सुधार गर्न नीति निर्माणदेखि कृषकको उत्पादनको तहसम्म गर्नुपर्ने कामहरूको बारेमा छलफल भएको थियो। प्रदेश १ को कृषि मन्त्रालयको सहयोगमा तथा नेपाल अलैँची व्यवसायी महासंघको केन्द्रीय कार्यालय बिर्तामोडको आयोजनामा अलैँचीको समस्याबारे कृषक र सरोकारवालाबीच छलफल भएको थियो।

कुनै समय १ लाख २० हजार रूपैयाँ प्रति मन (४० किलो) मा बिक्री हुने अलैँची हाल २९ हजार रूपैयाँमा मात्र कारोबार भैरहेको छ। अलैँची उत्पादन गर्दै आएका कृषकले अलैँचीको मूल्य नपाएको भन्दै मूल्य निर्धारणका लागि सरकारसँग माग गरेका छन्।

नेपालको अलैँचीको बजार भारतमा निर्भर रहेको र भारतका विभिन्न भूभागमा समेत ठूलो मात्रामा अलैँची उत्पादन हुन थालेकोले नेपालको अलैँचीको मूल्यमा त्यसको प्रभाव परेको व्यवसायीले बताए। अन्तरक्रियामा संखुवासभा, धनकुटा र तेह्रथुमका अलैँची कृषक र अलैँची व्यवसायीको सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.