|

काठमाडौं : राष्ट्रपति निर्वाचन नजिकिएसँगै सत्ता गठबन्धनको विषयमा आशंका उत्पन्न भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने भनेर गरेको निर्णय र आगामी फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका कारण गठबन्धनको भविष्यबारे विभिन्न टीका टिप्पणी हुन थालेका छन्।

सत्तारूढ दल नेकपा माअ‍ोवादी केन्द्रले राष्ट्रिय सहमतिको विषय उठाइरहेकाले सत्ता समीकरण कता जाने भन्ने विषय राष्ट्रपति निर्वाचनले निर्क्यौल गर्ने भएको छ।सत्तारूढ दल माओवादी केन्द्रका नेता लीलामणि पोखरेल राष्ट्रपति प्रकरणले सरकारको स्थिति टुंगो लाग्ने बताउँछन्। 

तत्कालै आफूहरूले गठबन्धनको विकल्प नसोचेको उल्लेख गर्दै उनले भने, ‘नयाँ गठबन्धन कायम भएको धेरै भएको छैन। त्यसलै यो गठबन्धनको अर्को विकल्प हामीले बनाएका छैनौं। सरकारको स्थिति राष्ट्रपति प्रकरणले टुंगो लगाउँछ। राष्ट्रपतिको विषयमा राष्ट्रिय सहमति कायम हुन्छ। त्यसमा एमालेसहितको सहभागिता रहन्छ।’

नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेल सरकार ५ वर्ष सञ्चालन गर्नका लागि राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति पदको उम्मेदवार टुंगो लगाउनुपर्ने बताए। नेता पौडेलले सभामुख, उपसभामुख र प्रदेशमा सहमति भएकाले राष्ट्रपतिमा साझा व्यक्ति हुनुपर्ने बताए। 

‘हामीले कसैलाई अपमान र सहमति उल्लंघन गरेका छैनौं। केही पदहरूमा सहमति गरौं भनेका हौं। बाँकी रहेका पदहरूलाई एक अर्कालाई प्रतिष्पर्धीको रूपमा भन्दा पनि जनताले दिएको मतका आधारमा ५ वर्षसम्म सरकार सञ्चालन सहज हुने गरी समझदारीमा गरौं भनेका हौं,’ उनले भने, ‘प्रदेशका सबै सरकारहरू सहमतिमा भए। प्रतिनिधिसभाको सभामुख र उपसभामुख सहमतिमा टुंगो लाग्यो। जहाँ हामीले इमान्दारीपूर्वक भनेका थियौं। सोहीअनुसार गर्‍यौं।’

नेता पौडेलले राष्ट्रपतिमा साझा व्यक्ति हुनु नराम्रो नभएको बताए। उनी अगाडि थप्छन्, ‘राष्ट्रपतिजस्तो पद दलले बाँडचुड गर्नुभन्दा पनि साझा व्यक्ति होस् भन्ने कुरा नराम्रो हो र? राष्ट्रको प्रमुख पदका बारेमा एमालेसँग हामीले प्रारम्भिक सहमति गरेका थियौं। सोही पार्टीले त्यस्तो व्यक्ति प्रस्ताव गर्दा पनि हुन्छ त। त्यो व्यक्तिलाई कांग्रेस, रास्वपालगायत अन्य पार्टीहरूले पनि गरून्। हिजोको सहमतिसहित साझा व्यक्तिलाई खोजौं भनेका हौं।’

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धनभित्र असहज महसुस गरिरहेको बताए। उनले राष्ट्रपतिमा माओवादी केन्द्रको समर्थन पाउने विषयमा प्रधानमन्त्री सकारात्मक रहेको उल्लेख गर्दै राष्ट्रपतिको निर्वाचनपछि सत्ता समीकरण फेरबदल हुनसक्ने बताए।

‘राष्ट्रपतिबारे समर्थन खोजेका छौं। सत्ता गठबन्धनभित्र प्रचण्डजीले असहज महसुस गरिरहनु भएको छ। राष्ट्रपतिको निर्वाचनले कता लैजान्छ हेर्न बाँकी छ। गठबन्धन यताउता हुनसक्छ,’ उनले भने, ‘राष्ट्रपति सहमतिमा हुने भन्ने सकारात्मक कुरा हो। राष्ट्रपतिमा माओवादीको समर्थन पाउने छौं। उहाँहरूले समर्थन गर्छौं भन्नुभएको छ।’ 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही गठबन्धनलाई मिलाएर लैजाने बताए। आफूले राष्ट्रिय सहमति गरेर जाने प्रयास भए पनि सत्ता साझेदारबीचको एकतालाई जसरी पनि बचाउनुपर्ने पक्षमा आफू रहेको बताएका छन्। 

‘मैले उहाँहरूले गरेको पूरै निर्णय हेर्न पाएको छैन। भर्खरै सुनेँ। मैले बिहान उहाँसँग भएको कुराअनुसार सरकारलाई समर्थन फिर्ता चाहीँ होइन। मन्त्रीहरू बाहिर निक्लने विषय छलफल भइरहेको छ भन्नु हुन्थ्यो। फेरि हामी छलफल गर्छौं‚ यसलाई हल गर्नेतिर नै जान्छौं,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘मेरो कोशिस त थियो–राष्ट्रिय सहमति नै गरौं भनिराखेको छु भने त हाम्रो सत्ता साझेदारबीचको एकतालाई त जसरी पनि बचाउनुपर्छ भन्ने हो मेरो। अदालतको निर्णयपछि पक्कै उहाँहरूलाई पनि केही असहज त भएकै थियो। अब उहाँसँग फेरि भेटेर कुरा गर्छु।’

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा कांग्रेसको उम्मेदवार राष्ट्रपति बन्ने बताउँछन्। उनी भन्छन्, ‘नेपाली कांग्रेसले उठाएको उम्मेदवार यो देशको राष्ट्रपति बन्नुहुन्छ। राष्ट्रपतिमा उम्मेदवारी दिँदै गर्दा यसलाई लोकतान्त्रिक अभ्यासका रूपमा नबुझ्ने हो भने त्यो अलोकतान्त्रिक हुन्छ।’ 

कांग्रेसका अर्का नेता प्रदीप पौडेल एमालेलाई राष्ट्रपति दिए संविधान नै धरापमा पर्ने बताउँछन्। 

‘अहिलेको गठबन्धनले हिजोकै जस्तो राष्ट्रपति जन्माउँछ भन्ने हामीलाई आशंका छ। त्यसैले प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्री र राष्ट्रपति केपी ओलीको अनुयायी कार्यकर्ता बन्यो भने देश संवैधानिक हिसाबले धेरै ठूलो संकटमा फस्छ। राष्ट्रपतिमा राष्ट्रिय मर्यादा कायम गर्न सक्ने, संविधानको अभिभावक बन्न सक्ने, संवैधानिक व्यवस्थालाई अक्षरशः पालना गर्न सक्ने व्यक्ति जानुपर्छ। अहिलेको सत्ता गठबन्धनबाट त्यस्तो व्यक्ति जाने हुँदैन। राष्ट्रपतिको मामिलामा हामी सचेत छौं,’ उनले भने।

एमाले सशंकित

सत्तारूढ दल नेकपा एमाले राष्ट्रपति निर्वाचनपछि सत्ता समीकरणमा फेरबदल हुनेमा सशंकित छ। पछिल्लो समय नेपाली कांग्रेसका नेताहरूले प्रधानमन्त्री प्रचण्डसँग गरेका गोप्य भेटवार्ता नजिकबाट नियालिरहेको बताउँदै एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर ‘ढोक्सा थाप्ने काम गरेको’ बताउँदै आएका छन्। 

आइतबारको प्रतिनिधिसभा बैठकमा अध्यक्ष ओलीले कांग्रेसका पछिल्ला व्यवहारलाई सरकारमाथि गरेको विश्वासको रूपमा मान्न नसकिने बताउँदै राष्ट्रपति र सभामुखको निर्वाचनमा खिचोला खडा गर्ने दुराशय देखिएको आरोप लगाए। राष्ट्रपतिमा कांग्रेसले ‘च्याँखे दाउ थाप्ने’ सुइँको पाएका अध्यक्ष ओलीले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर राष्ट्रपति पदमा बार्गेनिङ नगर्न रोष्ट्रमबाट कांग्रेसलाई चेतावनी दिए। 

उनले भने, ‘कांग्रेसले राष्ट्रपति र सभामुखको निर्वाचनमा खिचोला खडा गर्ने दुराशय देखाएको छ। उहाँहरूले हामीले ढोक्सा थापेको भन्नु नै भएको छ। ढोक्सा थापेको भन्ने कुराको गज्जबको जवाफ दिनुभयो– प्रचण्डजीलाई हामीले सडकमा पुर्‍याएका थियौं। सडकमा पुर्‍याएको व्यक्तिलाई प्रधानमन्त्रीको पिंजडामा हाल्ने? प्रधानमन्त्री नदिएर सडकमा पुर्‍याएका थियौं प्रचण्डलाई। प्रधानमन्त्री बनाउने भनेर मतिर त आँखै तर्नुभयो। प्रधानमन्त्रीजस्तो जिम्मेवारी फुक्काफाल हुँदैन।’

एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरूङले आफूहरूकै पार्टीबाट राष्ट्रपति बन्ने दाबी गरे। उनले राष्ट्रिय सहमतिको खोजी गरेर एमालेभित्रको व्यक्ति राष्ट्रपति बन्ने बताएका हुन्। 

‘गठबन्धनभित्रकै मान्छे राष्ट्रपति हुन्छ जो भए पनि, गठबन्धनभित्रको सहमति एमालेलाई राष्ट्रपति दिने हो। त्यसैमा राष्ट्रिय सहमतिको खोजी गर्ने हो सकभर,’ उनले भने, ‘राष्ट्रिय सहमति भएन भने सत्तारूढ दलहरूबीचको सहमतिमा हुन्छ नि। राष्ट्रपति एमालेभित्रै छ नि!’

माओवादीप्रति ‘नरम’ कांग्रेस

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सातदलीय गठबन्धन फुटाउने दाउमा लागेको छ। आफ्नो पूर्व सहयात्री दल नेकपा माओवादी केन्द्रप्रति नरम रहँदै आएको कांग्रेस सरकारमा रहेका अन्य दलहरूप्रति गरम हुँदै आइरहेको छ।

सभामुख र उपसभामुखमा आफ्नो छुट्टै उम्मेदवार खडा गरेको कांग्रेस राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचनबाट भने ब्याक भएको छ। उपाध्यक्ष पदमा राष्ट्रियसभा सदस्य उर्मिला अर्यालले माओवादी केन्द्रबाट उम्मेदवारी दिएसँगै कांग्रेसले उनैलाई समर्थन गर्ने निर्णय गरेको हो। 

सभामुखमा सत्ता गठबन्धनबाट नेकपा एमालेका देवराज घिमिरेलाई उम्मेदवार बनाएसँगै कांग्रेसले ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाएको थियो भने उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार इन्दिरा मगरविरूद्ध मुक्ता यादवलाई उठाएको थियो।

तर कांग्रेसले दुवै पद गुमाएको थियो। आइतबार बिहान बसेको कांग्रेससहितको विपक्षी गठबन्धनको बैठकले माओवादीबाट उम्मेदवार भएकी अर्याललाई सघाउने निर्णय गरेको हो। यसरी हेर्दा पुरानो सत्ता सहयात्री दल माओवादी केन्द्रप्रति लचक भएको देखिन्छ। 

माओवादी केन्द्रका एक स्थायी कमिटी सदस्य भन्छन्, ‘कांग्रेसलाई सत्ता गुमाएको पश्चाताप अझै देखिन्छ। किनकि उसले प्रधानमन्त्री विश्वासको मत दिएर पुष्टि गरिसकेको छ। पुनः राष्ट्रियसभाको उपाध्यक्षमा समर्थन गरेर कांग्रेस पुरानो गठबन्धन ब्युँताउने खेलमा लागेको प्रष्टै हुन्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.