|
फाइल तस्वीर

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रसिंह रावल काठमाडौंमा छन्।

रावल विश्वासको मत लिने वातावरण मिलाउन संघीय राजधानी काठमाडौं गएका हुन्। मुख्यमन्त्री रावलले मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिन अर्थात् यही माघ २६ गतेभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

त्यसकारण उनी विश्वासको मत लिने समय नजिकिँदै गर्दा राजधानी पुगेका हुन्। उनीनिकट स्रोतका अनुसार यही साता उनले विश्वासको मत लिनेछ्न्। यसअघि पनि विश्वासको मतका लागि वातावरण बनाउन आग्रह गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरुलाई भेटेका रावलले फेरि शीर्ष नेताहरूसँग भेट गरिरहेको बताइएको छ।

सुदूरपश्चिममा उनलाई एउटा मात्र पार्टी नागरिक उन्मुक्तिले अड्चन गरिरहेको छ। मुख्यमन्त्री नियुक्त हुँदा समर्थन गरेको नागरिक उन्मुक्तिले विश्वासको मत दिने कुरामा अझै निर्णय गरिनसकेको हुनाले उनलाई सकस थपिएको हो।

सत्ता गठबन्धनमा साझेदार रहेको दल नागरिक उन्मुक्तिले विश्वासको मत दिने/नदिनेबारे अहिलेसम्म पनि आधिकारिक टुंगो लगाएको छैन। त्यसमाथि कैलाली क्षेत्र–२ बाट निर्वाचित नागरिक उन्मुक्तिका प्रतिनिधिसभा सदस्य अरुण चौधरी पक्राउ परेपछि सो पार्टी झनै चिढिएको छ।

यी नै घटनाक्रमले मुख्यमन्त्री रावल सकसमा परेका हुन्। नागरिक उन्मुक्तिका प्रतिनिधिसभा सदस्य गङ्गाराम चौधरीले अहिले सुदूरपश्चिमका हकमा ठ्याक्कै निर्णय नभएको तर छ्लफल जारी रहेको जानकारी दिए। उनका अनुसार निर्णय हुन केही दिन कुर्नु पर्नेछ। 

२५ गते विश्वासको मत लिने : सभामुख

यता, सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीम भण्डारीले भने सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले २५ गते विश्वासको मत लिने तयारी थालेको बताएका छन्। उनले २५ गते विश्वासको मत लिने आफूसँग छलफल भइरहेको बताए।

उनले भने, ‘अहिले यस विषयमा निर्णय त भइसकेको छैन तर २५ गते विश्वासको मत लिने गरि कुरा भइरहेको छ, त्यही नै हुन्छ।’

मुख्यमन्त्री रावलले विश्वासको मत लिने तयारी गरिरहेका बेला नागरिक उन्मुक्ति पार्टी सकारात्मक बनेको हो कि जस्तो देखिएको छ।

आइतबार रेशम चौधरी तथा टीकापुर घटनाको सन्दर्भमा झगडिया झिकाउन सर्वोच्च अदालतले आदेश दिएसँगै नागरिक उन्मुक्ति अलिकति लचक भएको हो। अहिलेसम्म विश्वासको मत दिने बिषयमा निर्णय नभए पनि विश्वासको मत दिने बिषयमा सकारात्मक रहेको नागरिक उन्मुक्तिका शीर्ष नेताहरूको भनाइ छ।

उनीहरूले यसअघिदेखि नै रेशमलाई छुटाउन पहल थाल्न सरकार र दलहरूलाई दबाब दिँदै आएका थिए।

यस्तै सुदूरपश्चिम प्रदेश सरकारकी मन्त्री सन्तोष शर्मा थापाले पनि सरकारले छिट्टै पूर्णता पाउने बताएकी छन्। प्रेस चौतारी सुदूरपश्चिम प्रदेश कमिटीले २५ औँ स्थापना दिवसको अवसरमा धनगढीमा उनले यस्तो बताएकी हुन्।

२/३ दिनभित्रै सरकारले पूर्णता पाउने उनको दाबी छ। सुदूरपश्चिममा रावल एमालेका १०, नेकपा माओवादी केन्द्रका ११, नागरिक उन्मुक्तिका ७ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का १ जना गरी २९ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री बनेका थिए।

त्यसपछि उनले माओवादी केन्द्रका खगराज भट्ट र सन्तोषी शर्मा थापालाइ मन्त्री नियुक्त गरे पनि उनीहरूले मन्त्रालय पाएका छैनन्।

विश्वासको मत लिएपछि मात्र मन्त्रालय दिइने भन्दै मन्त्रालय विभाजन नगरिएको जनाईएको छ। यहाँ नागरिक उन्मुक्तिले विश्वासको मत दिएमा मात्र एमाले नेतृत्वको सरकार टिक्ने देखिन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.