|

हेटौंडा : नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) ले संसदीय समितिको सभापतिमा भाग खोजेपछि प्रदेशसभा बैठक अन्योलमा परेको छ। सोमबार दिउँसो १२ बजे बोलाइएको बैठक ४ बज्दा पनि सुरु भएको छैन। 

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाइका अनुसार नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले मुख्यमन्त्रीलाई विश्वासको मत दिएको भन्दै संसदीय समितिको सभापतिमा भाग खोजेका छन्। 

‘उहाँहरूको भागवण्डा नमिलेपछि प्रदेशसभा अन्योलमा परेको छ’, उनले भने, ‘दिउँसो १२ बजे बोलाइएको प्रदेशसभा बैठक अझै सुरु भएको छैन, सर्वदलीय बैठक बस्ने पनि सुरसार छैन।’

प्रदेशसभा बैठक सुरु नभएपछि प्रदेशसभा सदस्यहरु सचिवालयतिरै टहलिरहेका छन्। 

एकीकृत समाजवादीका प्रदेशसभा सदस्य कृष्ण खनाल सत्तापक्षमै भागवण्डा नमिलेको दाबी गर्छन्।

‘सत्ता साझेदार दलहरुबीचमै भागवण्डा मिलिसकेको छैन’, खनालले भने, ‘उहाँहरूले हामीलाई दोष लगाउनु बेकार छ।’ यद्यपि उनले संसदीय समितिको सभापतिमा आफूहरूको दाबी रहेको स्वीकार गरे। 

नेपाली कांग्रेसले त संसद प्रतिपक्षको भएको भन्दै सबै समितिको सभापतिमा दाबी गरेको छ।

‘सरकारले सरकार चलाओस्, संसद प्रतिपक्षको हो, त्यसैले प्रदेशसभाका सबै समितिमा हाम्रो दाबी रहन्छ’, कांग्रेसका एक सांसदले भने। 

प्रदेशसभामा प्रदेश मामिला, अर्थ तथा विकास, सार्वजनिक लेखा, शिक्षा, स्वास्थ्य तथा कृषि र उद्योग, पर्यटन तथा वातावरण गरी पाँच वटा समिति गठन हुन्छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.