रवि गृह पाए अझै फर्कन तयार, नपाउँदा सबै मन्त्री फिर्ता !

|

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट फिर्ता हुने निर्णय गर्यो। आइतबार बसेको केन्द्रीय कमिटी र संसदीय दलको संयुक्त बैठकले प्रचण्ड नेतृत्वको सरकारमा रहेका तीन जना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो। 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल,  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र स्वास्थ्य राज्यमन्त्री डा.तोसिमा कार्की सरकारबाट फिर्ता भएका हुन्। तर, उक्त विषयमा औपचारिक जानकारी सभापति रवि लामिछानेले दिँदै थिए। उनले आइतबार बिहान विशेष पत्रकार सम्मेलन गर्ने बताए। 

सोहीअनुसार उपसभापति डोलप्रसाद अर्याल र सहमहामन्त्री डा. मुकुल ढकाललाई दायाँबायाँ राखेर पत्रकार सम्मेलनको आयोजना गरेका सभापति लामिछानेले पार्टी र सरकारबारे विशेष सम्बोधन गर्ने आँकलन गरिएको थियो। तर, उनी व्यक्तिगत विषयमा बढी केन्द्रित भए।

मूलधारका मिडिया र सञ्चालकविरूद्ध आक्रोशित रूपमा प्रस्तुत भएका लामिछानेले आफ्नाविरुद्ध भ्रामक समाचार लेख्ने मिडिया हाउस घेर्ने चेतावनी नै दिए।  

नयाँ दल खुलेको सात महिनामा ११ लाख भन्दा बढी मत पाएको पार्टीको सभापति, उपप्रधान एवं गृहमन्त्री भइसकेको व्यक्तिले उच्चारण गरेका शब्दहरू जो कोहीलाई पाच्य हुनसक्ने खालका थिएनन्। रविका समर्थकहरूले उनले सत्य बोलेको बताए पनि संविधानविद्, राजनीतिक विश्लेषकहरूले यसलाई अस्वभाविक रूपमा लिएका छन्। 

उनको हिजोको पत्रकार सम्मेलनलाई नेताहरूले व्यक्तिगत विष वमनका रूपमा लिएका छन्। रास्वपा केन्द्रीय सदस्य गणेश कार्की सभापति लामिछानेको पत्रकार सम्मेलन पार्टीगत नभइ व्यक्तिगत रूपमा रहेको बताउँछन्। 

‘हिजोको पत्रकार सम्मेलन उहाँ(लामिछाने)को व्यक्तिगत हो। संस्थागत होइन,’ उनले भने, ‘हामी मिडियाप्रति नकारात्मक छैनौं।’ 

सभापति लामिछाने टेलिभिजन पत्रकारिता गर्दै राजनीतिमा भित्रिएका व्यक्ति हुन्। पत्रकारिता गर्दा नेताहरूविरूद्ध खरो रूपमा प्रस्तुत हुने लामिछानेले गत असार ७ गते राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेर राजनीतिमा होमिए। दल खुलेको सात महिनाको अवधि गत मंसिर ४ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा लोकप्रिय मत पाएको रास्वपाप्रति असन्तुष्ट मतदाताको सहानुभूति रह्यो।

तर अप्रत्यासित नतिजा ल्याएको रास्वपाको सत्ता यात्राले उसको राजनीति गृह मन्त्रालयमै रुमल्लिएको देखिन्छ।

प्रत्यक्षमा सात सिट जितेको रास्वपाले समानुपातिकमा ११ लाख ३० हजार ३४४ र प्रत्यक्षमा सात जना सांसदले एक लाख ६२ हजार ९६८ मत पाएका थिए। अहिले प्रतिनिधिसभामा १८ जना सांसदले रास्वपाबाट प्रतिनिधित्व गरिरहेका छन्। राष्ट्रिय राजनीतिमा 'किङमेकर पोजिसन' बनाएका लामिछानेले बचपना देखाएको सोही पार्टीका सांसदले आरोप लगाए। 

‘हामीले केही दिन अगाडि नै बाहिर पत्रकारहरू आउनु भएको छ,बोलिदिनूस।  समाचारहरू फेक आएका आयै भए। त्यही समाचारले गर्दा हामीलाई प्रेसर भइसक्यो। खुलेरै भनिदिनुपर्‍यो भनेका थियौँ। उहाँले म एकदिन ठूलै रूपले बोल्छु। आनन्दले बोल्छु, ढुक्क हुनुहोस् भन्नुभएको थियो। सोही तरिकाले हिजो बोल्नुभयो। तर, उहाँजत्तिको बुझ्ने मान्छेले व्यक्तिगत रूपमा बोल्नुभयो। तलै आएर बोल्नुपर्ने छ भन्नुहुन्थ्यो। त्यही भएर व्यक्तिगत रूपमा भन्नुभएको होला,’ ती सांसदले थाहाखबरसँग भने, ‘न्यूनतम साझा कार्यक्रममा हाम्रा पार्टीका एजेण्डा धेरै छन्। ती एजेण्डाहरू पूरा गर्न सरकारलाई समर्थन गरेका हौं। मन्त्रिमण्डलमा बसेर मन्त्रालयगत रूपमा काम गर्न सकिन्थ्यो। संसदमा समर्थन गर्न सकिन्छ। व्यवहारिकता कत्तिको भन्ने कुरा हो।’

स्वास्थ्य राज्यमन्त्रीबाट राजीनामा दिएकी डा. तोसिमा कार्कीले सभापति लामिछानेमाथि सहानुभूति प्रकट गरिन्। न्याय  सुरक्षा गर्ने जिम्मा मिडिया नभइ जनतालाई सुम्पिएको भन्दै विचलित नहुने लामिछानेलाई आग्रह गरिन्।  

‘कत्ति पनि विचलित नहुनुहोस् सभापतिज्यू, हामी साथमा छौँ, हामीसँग जनता साथमा छन्। जनतासँग गरेको एक एक वाचा भुलेका छैनौँ। भुल्नेछैनौँ,’ उनले भनेकी छन्, ‘हामी जहाँ उभिन्छौँ जनताको मुद्दाको वकालत त्यहीँबाट गर्छौं र गरिरहन्छौँ। लोकतन्त्रमा सबै भन्दा शक्तिशाली जनता हुन् त्यसैले सत्य साहस निष्ठा र इमान को न्याय एवं सुरक्षा गर्ने जिम्मा पनि खुद जनतालाई नै सुम्पेका छौँ।’

सरकारलाई समर्थन, सदनमा प्रतिपक्ष !

राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिनिधिसभामा प्रतिपक्षी दलको भूमिकामा प्रस्तुत हुने भएको छ। माघ २२ गते सरकारबाट आफ्ना तीन जना मन्त्रीलाई फिर्ता बोलाएको रास्वपाले संसदमा प्रतिपक्षको भूमिका निर्वाह गर्ने भएको हो। ​रास्वपा सह–महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकालले आफ्ना सांसदहरू प्रतिपक्षी बेञ्चमा बस्ने र सरकारलाई खबरदारी गर्ने बताए। 

‘राजनीतिक दलहरूले सरकार बाहिर बसेर पनि समर्थन गरेका दृष्टान्त धेरै छन्। हामीले सरकारलाई समर्थन गर्नुको अर्थ हाम्रा नीति तथा कार्यक्रमहरू समेटिएकाले त्यसलाई कार्यान्वयन गराउन खबरदारी गर्नेछौं। साथै सरकारले ल्याएका विधेयकहरूलाई रचनात्मक ढंगले पास गर्न सहयोग गर्छौं,’ उनले थाहाखबरसँग भने। 

केन्द्रीय सदस्य गणेश कार्कीले सरकारलाई दिएको समर्थन फिर्ता लिँदा पुनः नयाँ सरकार बनाउने चलखेल हुने भएकाले आफूहरूले समर्थन यथावत राखेको बताए। ‘रास्वपाका कारणले सरकार ढलेर राजनीतिक चलखेल हुने भएकाले समर्थन कायम राखेका हौं,’ उनले भने। 

रविको चाहना गृह, बोलाए अझै जान तयार

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पुनः सहभागी हुने तयारीमा छन्। उनले आफूले चाहेको मन्त्रालय पाए सरकारमा जाने बताए। आइतबारको पत्रकार सम्मेलनमा उनले कामको लोभमा आफू पुनः गृह मन्त्रालयमा जाने बताए। 

‘हामीले गृह मन्त्रालय बसेर १२/१३ वर्ष धाएको मान्छेलाई १२ मिनेटमा काम गरिदिएका थियौँ । म त्यो लोभका लागि गृह मन्त्रालय जान चाहन्छु’, रविले भने, ‘अहिले यति गाली गर्दा पनि, फेरि बोलाए भने जान्छु । जान्छु, पद लोलुप भएर हैन काम गर्नका लागि जाने भनेको छु।’

लामिछानेको अभिव्यक्ति र प्रधानमन्त्री प्रचण्डको सचिवालयको भनाई अनुसार उनी गृहमन्त्रालय नपाएको झोंकमा सरकार छोडेको र पुनः सोही मन्त्रालय पाए जान इच्छुक छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीले लामिछानेलाई गृहको जिम्मेवारी दिन गरेको लबिइङबाटै यस विषयको पुष्टि हुन्छ। प्रधानमन्त्रीको सचिवालय सभापति लामिछानेले गृह नपाएर आफ्ना बाँकी मन्त्रीलाई फिर्ता बोलाएको बताउँछ। 

उनले आइतबारकाे पत्रकार सम्मेलनमा अझै गृह मन्त्रालय दिए सरकारमा फर्किने बताए। ‘अझै बोलाए भने म जान्छु, यसो भनिरहँदा पदलोलुपको आरोप लाग्न सक्छ तर लागोस्', उनले भने,‘पदका लागि होइन हामी काम गर्न जाने हो।’ 

‘रविजीले आफूले गृहमन्त्रालय नपाएपछि अन्य मन्त्रीलाई पनि फिर्ता बोलाउनुभएको हो। गृहमन्त्रालय पाउनका लागि उहाँका पछिल्ला गतिविधिहरू नियाल्दा नै काफी हुन्छ,’ प्रधानमन्त्री सचिवालय स्रोत भन्छ, ‘प्रधानमन्त्रीज्यूले गृहमन्त्रालयको जिम्मेवारी दिए उहाँहरू स्वतः आउनुहुन्छ। तर, अब त्यो अवस्था सकिएको छ।’  

सभापति लामिछानेको उक्त अभिव्यक्तिप्रति सांसद डा. ढाकाकुमार श्रेष्ठ असहमति प्रकट गर्छन्। सांसद श्रेष्ठ सभापति लामिछानेले आवेगमा बोलेको उल्लेख गर्दै प्रचण्ड नेतृत्वको सरकारमा आफूहरू सहभागी नहुने बताउँछन्।  

‘उहाँले आवेगमा आएर भन्नुभएको हो। हामी यति धेरै घटनाक्रम भएपछि प्रचण्ड नेतृत्वको सरकारमा जाँदैनौं। नयाँ सत्ता समीकरण आए जानसक्छौं। कहिले यो मन्त्रालय भनेर दिने कहिले खोस्ने गर्दा हामीलाई हीनताबोध महसुस भएको छ। त्यसैले जाँदैनौं,’ उनले भने।  

रास्वपाका अर्का सांसद सरकारमा आफूहरूलाई बच्चा खेलाएजस्तो खेलाएकोले सरकारबाट बाहिरिनुपरेको बताउँछन्। 

सरकारमा जाँदा विरोध भइरहेका बेला आफूहरूले जनतालाई डेलिभरी दिन सकिन्छ कि भनेर जनताका समस्या समाधान गर्न सरकारमा गएको उल्लेख गर्दै ती सांसदले पावर सेयरिङ गर्दा गृहमन्त्रालय खोसिने अवस्था आएपछि बाहिरिएको बताए। आफूहरूले सभापति लामिछानेको विकल्पमा अर्को व्यक्तिलाई गृहमन्त्री बनाउनुपर्ने माग राखे पनि प्रधानमन्त्री अस्वीकार गरेकाले सरकारबाट फिर्ता हुनुपरेको ती सांसदले बताए। 

‘भोलि श्रम, शिक्षा पनि खोस्लान्। यहाँ सक्नेले राज गर्ने नसक्नेले जे गरे पनि हुन्छ भन्ने परिस्थिति सिर्जना भएर हामी निस्किएका हौं। सरकारमा हामीलाई बच्चा खेलाएजस्तो भयो। घरी ला घरी ले । यो कुरा सुहाएन,’ ती सांसद् भन्छन्, ‘सबैभन्दा बढी टच हुने प्रहरी प्रशासन, सिडिओ कार्यालय टच हुने गृह हो त्यसबाट जनताका जनगुनासोहरू चाँडै सम्बोधन गर्न सकिन्थ्यो। तर, उहाँलाई अनेक विवाद निकालेर हटाइदिने काम भयो। त्यही भएर हामी सरकारमा बसेनौं।’

रास्वपाभित्र बोल्न पाइँदैन? 

केही दिन अगाडि राष्ट्रिय स्वतन्त्र पार्टीका चितवन जिल्ला सभापति धर्मेन्द्र सापकोटाले पार्टीबाट राजीनामा दिए। पार्टीभित्र आन्तरिक लोकतन्त्र नरहेको र आफ्ना भनाई राख्न नपाएको बताउँदै राजीनामा दिएका सापकोटाले पार्टीमा राणाशासन मौलाएको बताए।  

केन्द्रीय सदस्य गणेश कार्की सापकोटाको कुरामा सहमत छैनन्। पार्टीभित्र सबै नेता तथा कार्यकर्ताहरूलाई आफ्ना विचार स्वतन्त्रता पूर्वक राख्न पाउने हक रहेको उनी बताउँछन्। 

‘पार्टीगत रूपमा हामीले सल्लाह दिन्छौं। पार्टीभित्र आफ्ना कुराहरू भन्न पाउने सुविधा छ। सुरूका दिनमा उहाँ(लामिछाने)लाई हामीले म्याण्डेट दिएका थियौं,’ उनले भने, ‘उहाँले विवेक पुर्याएर काम गर्नुभयो। पछिल्लो खण्डमा सल्लाह सुझावअनुसार काम गरिरहनुभएको छ।’

संगठन विस्तारमा ध्यान

राष्ट्रिय स्वतन्त्र पार्टीले संगठन विस्तारको काम अगाडि बढाउने भएको छ। नयाँ पार्टी खुलेको सात महिना बितिसक्दा पनि संगठनले पूर्णता नपाएकाले रास्वपाले संगठन विस्तारका कामलाई निरन्तरता राखेको हो। प्रवक्ता मुकुल ढकालले प्रदेशस्तरीय संगठन विस्तार सम्बन्धी कार्यक्रम जारी रहेको बताए। 

‘नयाँ दल भएकाले हामीले जनतामाझ गएर काम गर्नूपर्नेछ। संगठन विस्तारलाई पूर्णता दिनुपर्नेछ। त्यसबारे धेरै गृहकार्य गर्नुपर्नेछ,’ प्रवक्ता ढकालले भने।  

माघ २१ गतेदेखि सुरू भएको प्रदेशस्तरीय संगठन विस्तार जारी छ। दाङमा माघ २४ गते लुम्बिनी प्रदेश, धनगढीमा माघ २६ गते सुदूरपश्चिममा र सुर्खेतमा माघ २८ गते कर्णालीको भेला हुँदैछ। प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशको समय तोकिएको छैन। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.