|

सुर्खेत : आर्थिक रुपमासमेत कमजोर भएकाले आफ्नो उपचार गराउन नसक्ने विकलांग, अशक्त तथा असहाय बालबालिकाको जाजरकोटको नलगाड नगरपालिकाले उपचार गर्न थालेको छ।

पहिलो चरणमा नलगाड नगरपालिका–४ स्थित जनता प्रावि पिपलचौरका ७ जना विद्यार्थीलाई बनेपास्थित अस्पतालमा लगेर उपचार गर्न लागिएको नगर प्रमुख डम्बरबहादुर रावतले जानकारी दिए।

दोस्रो चरणमा फागुन १४ गते पालिकाभित्रका शारीरिक रुपमा अशक्त तथा असहाय सबै बालबालिकालाई नगरपालिकास्थित दल्लीमा शिविर सञ्चालन गरेर उपचार गरिने जानकारीसमेत उनले दिए।

दल्लीमा उपचार सम्भव नभएका बालबालिकाको बाहिर लगेर उपचार गरिने प्रमुख रावतले बताए।

‘अहिले नगरपालिकाका सबै वडामा शारीरिक रुपमा अशक्त तथा असहाय बालबालिकाको खोजी भइरहेको छ। वडाध्यक्षलगायत अन्य सरोकारवाला निकायको पहलमा खोजी गरेर फागुन १४ गते शिविरमा ल्याएर उपचार गरिनेछ‚’ नगरप्रमुख रावतले भने, ‘दल्लीमा ल्याएर उपचार गरेर सम्भव नभएका बालबालिकालाई बाहिर लगेर पनि पूर्ण रुपमा उपचार गरेर निको पारी घरमा ल्याइने योजना छ। सो योजनाअन्तर्गत काम भइरहेको छ।’

पहिलो चरणमा उपचार गर्ने ७ जना बालबालिकाको सिफारिश गरी प्रदेशस्थित अपांग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र वीरेन्द्रनगर सुर्खेत ल्याएर सिफारिश गरी बनेपास्थित अस्पतालमा लैजाने जानकारी उनले दिए। नगरपालिकाको यो अभियानले आर्थिक रुपमा पछि परी वर्षौं उपचार नपाएर समस्या भोगिरहेका बालबालिका खुशी भएका छन्।

उपचार गर्ने आर्थिक हैसियत नभएका अभिभावकले समेत नगरपालिकाले सबै उपचार निःशुल्क गरिदिने भएपछि खुशी भएको बताएका छन्। यसअघि नगरपालिकाले आर्थिक रुपमा कमजोर परिवारका सदस्य बिरामी भए वा जटिल रोग लागे उपचारका लागि आर्थिक सहयोग गर्दै आएको थियो।

कार्यविधि बनाएर उक्त सहयोग गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले जानकारी दिए। नगरपालिकाकै पहलमा अहिले पालिका स्तरमै आँखाको उपचार सेवासमेत शुरु भएको छ।

आँखाको उपचार गर्न सदरमुकाम आउनुपर्ने बाध्यता अन्त्य भएसँगै यहाँका सर्वसाधारण घर, आँगनमै जाँच गरि सेवा लिइरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.