|

काठमाडौं : सत्तारूढ प्रमुख घटक नेकपा (एमाले)का उपमहासचिव एवं पूर्वमन्त्री प्रदीप ज्ञवालीले सत्तारूढ गठबन्धनलाई टिकाई राख्न जरूरी रहेको बताएका छन्।

राष्ट्रपति निर्वाचन सम्पन्न गर्न र मुलुकमा देखा परेका राजनीतिक अस्थिरता र अन्योल हटाएर अघि बढ्न पनि सत्तारूढ गठबन्धन टिकाउन जरूरी रहेको उनको तर्क थियो।

रफ्त सञ्चार क्लबले सोमबार भक्तपुरमा गरेको एक कार्यक्रममा उपमहासचिव ज्ञवालीले गत पुस १० गते भएको सहमति कार्यान्वयन गर्न सत्तारूढ दलहरू दृढतापूर्वक उभिनुपर्ने पनि बताए। उनले काँग्रेसले प्रतिपक्ष हुन पाउन निवेदन दिने अनि सत्ताको महत्वपूर्ण अंगहरूमा हिस्सेदारी खोज्ने दोहोरो चरित्र देखाउन नहुने जिकिरसमेत गरे। 

‘राष्ट्रपतिको निर्वाचन पुस १० गते भएको समझदारी अनुसार अगाडि बढ्छ। त्यो समझदारी दृढतापूर्वक कार्यान्वयन हुनु पर्छ। नेपाली काँग्रेसले एकातिर प्रतिपक्ष हुन पाउँ भनेर संसद सचिवालयमा निवेदन पनि दिने, अर्कोतिर सत्ताका महत्वपूर्ण अंगहरूमा हिस्सेदारी पनि खोज्ने। त्यो कहीँ पनि मिलेन। लोकतन्त्रको एउटा बलियो पक्ष भनेको एउटा सशक्त प्रतिपक्ष हो,’ उनले भने, ‘सशक्त प्रतिपक्षको अभावमा लोकतन्त्र कमजोर हुन्छ, नियन्त्रण र सन्तुलन खल्बलिन्छ। तर सत्ताबाट हट्नु परेको डेढ महिनामै त्यो ढंगको छटपटी कांग्रेसमा देखिएको छ। अहिले सत्ता गठबन्धनलाई टिकाई राख्ने, त्यही हिसाबले राष्ट्रपति निर्वाचन सम्पन्न गर्ने र अहिले देखा परेका राजनीतिक अस्थिरता र अन्योलहरू हटाएर अगाडि बढ्न जरूरी छ। ’

उपमहासचिव ज्ञवालीले काँग्रेसमा सत्ताबाट हट्नु परेको छटपटी सुरू भएको आरोपसमेत लगाए। उनले लोकतन्त्रलाई कमजोर बन्न नदिन पनि काँग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.