|
तस्वीर सौजन्य : क्यान

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) ल‍े भारतका मोन्टी देसाईलाई राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। क्यानको छनोट समितिले उनलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो।

क्यानले देसाईलाई राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक नियुक्त गरिएको सोमबार जनाएको हो। क्यानका अनुसार देसाईले क्यानसँग २ वर्षको सम्झौता गरेका छन्।

क्यानले राष्ट्रिय खेलकुद परिषद् (राखेप) र खेलकुद मन्त्रालयले स्वीकृति दिएपछि मात्र देसाईलाई प्रशिक्षकमा नियुक्त गरेको सार्वजनिक गरेको हो। देसाईलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको घोषणा क्यानले गर्नुअघि नै उनी क्रिकेट टोलीको प्रशिक्षणमा सहभागी भइसकेका थिए।

यसअघि देसाई सन् २०१७ मा नेपाली यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीका लागि ब्याटिङ कन्सल्ट्यान्टका रुपमा काम गरिसकेका छन्। उनले सन् २०१४ को आइसिसी टी–२० विश्वकप छनोटका वेला पनि राष्ट्रिय टोलीसँग सहकार्य गरेका थिए।

क्यानले मुख्य प्रशिक्षकमा आवेदन दिएका २४ जनामध्ये छनोटको अन्तिम चरणमा ५ जनामध्ये मोन्टी पनि रहेका थिए। ती पाँचै जनाको क्यानले अन्तरवार्ता लिएको थियो। 

यसअघि मुख्य प्रशिक्षक रहेका भारतकै मनोज प्रभाकरले एक वर्षको सम्झौता सकिनुअघि नै राजीनामा दिएपछि नेपाली टोली मुख्य प्रशिक्षकविहीन भएको थियो। 

यति वेला राष्ट्रिय पुरुष टोली आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालमै हुने त्रिकोणात्मक एकदिवसीय शृंखलाका लागि बन्द प्रशिक्षणमा रहेको छ।

नेपाल, नामिबिया र स्कटल्याण्ड समावेश शृंखला आगामी फागुन २ गते शुरु हुँदै छ। खेल तालिकाअनुसार नेपालले फागुन २ र ६ गते नामिबियासँग र फागुन ५ र ९ गते स्कटल्यान्डसँग खेल्नेछ। स्कटल्यान्ड र नामिबियाबीच भने फागुन ३ र ८ गते खेल हुनेछ।

लिगमा २४ खेल खेलेर ८ जित र १४ हारको नतिजासहित १ खेल बराबरी र १ खेलबिना नतिजािँगै नेपालले जम्मा १८ अंक मात्र बटुलेर अंक तालिकाको छैटौं स्थानमा छ।

लिगको शीर्षमा रहेको स्कटल्यान्डले ३२ खेलमा ४६ अंक जोड्दा नामिबिया ३० खेलबाट ३७ अंकसहित तेस्रो स्थानमा छ भने ओमान ४४, अमेरिका ३५, युएई २७ र पपुवा न्युगिनी ५ अंकसहित क्रमशः तालिकाको दोस्रो, चौथो, पाँचौं र अन्तिम स्थानमा छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.