|

विराटनगर :  नेपाली काँग्रेसका सांसद एवम् पूर्व कानुनमन्त्री केदार कार्कीले सोमबार दिउँसो प्रदेशसभा बैठक चलिरहँदा टेबल ढ्याप–ढ्याप गरे। त्यति वेला सभामुख बाबुराम गौतमले मन्त्रिपरिषदको कार्यविभाजन र जिम्मेवारीसम्बन्धी पत्र पढेर सुनाउँदै थिए।

कार्कीले मागेको ढ्याप–ढ्यापे समयप्रति सभामुख गौतम नै अनभिज्ञ बने तर पनि उनलाई सभामुख गौतमले बोल्ने अवसर दिए। त्यसो त प्रदेश १ मा प्रदेशसभाको छैटौँ बैठक सम्पन्न भइसक्दा पनि सांसदहरूले शून्य समय लिएर बोल्ने अवसर पाएका छैनन्।

मंगलबार अर्थात् सातौँ बैठकमा पनि सांसदहरुले शून्य समय पाउने सम्भावना देखिँदैन। सातौँ बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। 

मंसिर ४ गतेको निर्वाचनपछि गठन भएको प्रदेशसभाको पहिलो बैठक पुस १७ गते बसेको थियो। पहिलो बैठकमा पनि सांसदहरु बोल्ने अवसरबाट चुकेका थिए। अर्थात् उनीहरुले शून्य समय पाएनन्।

पहिलो बैठकदेखि नै केही सांसद आफ्ना भनाई राख्न नपाएकोमा रुष्ट थिए। त्यहीअनुसार आज (सोमबार) पनि प्रदेशसभा बैठकमा सांसदहरुले शून्य समयमा आफ्नो भनाई राख्ने अपेक्षासहित सभा हलभित्र प्रवेश गरे।

तर प्रदेशसभा बस्नु अघि बसेको दलहरुको संयुक्त बैठकमा कार्य व्यवस्था परामर्श समिति नै नबनेको भन्दै नेकपा एमालेले समिति गठन भएपछि मात्रै सांसदहरुलाई बोल्न दिनुपर्ने बताएको थियो।

काँग्रेस सांसद कार्कीको आक्रोश

केदार कार्कीले सभामुखसमक्ष ढ्याप–ढ्यापे समय माग गर्दै आफ्नो भनाई राख्ने क्रममा सुरुवातमा नै शून्य समयमा बोल्न नदिनु ‘सेटिङ’ भएको आरोप लगाए।

उनले प्रदेशसभामा नयाँ सांसद निर्वाचित भएको ३ महिना पुग्न लाग्दा पनि निर्वाचनको क्रममा जनतासँग गरेको वाचाअनुसार जनसरोकारका विषय संसदमा सांसदहरुले उठाउन नपाएको बताए।

उनले भने, ‘संसद सेटिङ जस्तो गरेर शून्य समय नै हटाएर सांसदले आफ्नो अभिव्यक्ति राखेर जनतासम्म पुर्‍याउन नपाउनु सेटिङजस्तो देखिएको छ।’

उनले कुनै बेला जिल्ला विकास समितिको सर्वदलीय बैठक चलाएजस्तो गरेर शून्य समय हटाइएको भन्दै सर्वदलीय बैठकको नाममा संसदलाई बोल्नै नदिइकन यस्तो गर्न नहुनेमा जोड दिए। उनले लामो समयपछि चलाएको संसद ८ मिनेटमै सकिनु लाजमर्दो भएकोसमेत उल्लेख गरे।

दलहरूकै सहमतिले शून्य समय नराखेको : सभामुख गौतम

दलहरुबीच सहमति भएरै शून्य समय सोमबारको बैठकमा नराखिएको सभामुख गौतमले जवाफ दिए। उनले आगामी दिनमा शून्य समय राख्ने बताउँदै भने, ’उहाँहरूले बोल्न पाउनु हुन्छ।’ 

यता, सांसद कार्कीले हावादारीमा टेबल ढ्याप-ढ्याप पारेको सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले आरोप लगाए। कार्कीले हावादारीमा टेबल ढ्यापढ्याप गरेको आरोप लगाउँदै उनले कार्यव्यवस्था परामर्श समिति आजमात्र बनेको बताए।

राजभण्डारीले अब शून्य समय भएन भनेर कुरा उठाउँदा ठिक हुने बताउँदै अहिले समय कति दिने भन्ने विषय नै नटुंगिएकाले त्यस्तो भएको उल्लेख गरे। उनले भने, ‘माननीयले हिरो बन्न यसो गरेजस्तो लाग्यो।’

काँग्रेस संसदीय दलका नेता उद्धव थापाले आफ्नै  दलका सांसदको बुझाइमा कमजोरी भएको बताए।

उनले दोस्रो चरणको प्रदेशसभाले आफ्ना अंगहरुलाई पूर्णता दिने काममै लागिरहेको बताउँदै भने, ‘कार्यव्यवस्था परामर्श समिति नबनेसम्म नबोल्दा हुन्छ भन्ने हिसाबले सबै दलबीच सहमति भएको हो, अहिले संसदले विशेष कार्यक्रम मात्र गरिरहेकाले विशेष समय र शून्य समय उपयुक्त हुँदैन, अब भोलिबाट विशेष र शून्य समय हुन्छ।’

संसदीय पत्रकार मञ्चका अध्यक्ष पत्रकार गणेश लम्सालले  सांसद कार्कीले गरेको ढ्याप–ढ्यापे समय नियममा नभएको नजिर बसाएको बताए। उनले  नियममा नै नभएको  कुरालाई सही भन्न नमिल्ने बताउँदै भने, ’नियममा नभएको नजिर बसाउनुभयो।’

प्रदेश निजामती सेवा अध्यादेश र केही प्रदेश ऐन संशोधन स्वीकृत 

८ मिनेटमा सकिएको बैठकमा यसअघि प्रदेशसभामा प्रस्तुत प्रदेश निजामती सेवा अध्यादेश र केही प्रदेश ऐन संशोधन अध्यादेश प्रदेशसभाले स्वीकृत गरेको छ।

प्रदेशसभा नियमावली पहिलो संशोधन २०७४ को नियम १३ बमोजिम सभामुखको अध्यक्षतामा कार्य व्यवस्था परामर्श समिति गठन भएको छ। जसमा आन्तरिक मामिला तथा कानुनमन्त्री तथा उपसभामुख पदेन सदस्य रहनेछन्।

मनोनीत सदस्यहरूमा अम्बरबहादुर विष्ट, नारायणबहादुर मगर, विद्या चाम्लिङ राई, भीम पराजुली, भूपेन्द्र राई, रेवतीरमण भण्डारी, सिर्जना राई र ज्ञानेन्द्र सुवेदी रहेका छन्।

बैठकले प्रदेशसभा सञ्चालन तथा व्यवस्थापनका लागि नयाँ नियमावली मस्यौदा निर्माण गर्न समिति पनि गठन गरेको छ। समितिमा कमलप्रसाद जबेगु, केदार कार्की, गीता तिम्सिना, गोम्बु शेर्पा, तिलचन पाठक, निमसरी राजवंशी, मोहन महर्जन, यशोदा कायस्थ, रामवेद यादव, लिलाबल्लभ अधिकारी र शोभा चेम्जोङ रहेका छन्।

उक्त समितिले आफ्नो संयोजक छनोट गर्दै आगामी ३० दिनभित्र नियमावलीको मस्यौदा प्रदेशसभामा बुझाउनु पर्ने कार्यादेश दिइएको छ। प्रदेशसभाको अर्को बैठक मंगलबार बस्नेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.