|
फाइल तस्वीर

काठमाडौं : राजधानीमा जारी छैठौं संस्करणको महिला राष्ट्रिय भलिबल प्रतियोगितामा न्यु डायमण्डले अपराजित यात्रालाई तेस्रो खेलमा निरन्तरता दिँदै फाइनलमा पुगेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सोमबार भएको लिग चरणको अन्तिम खेलमा न्यु डायमण्डले विभागीय टोली एपिएफलाई पराजित गर्दै तालिकाको शीर्ष स्थानमा रहँदै फाइनलमा स्थान बनाएको हो।

दुवै टोलीले सोमबार भएको प्रतिष्पर्धामा मुख्य खेलाडीलाई विश्राम दिएका थिए। दोस्रो रोजाईका खेलाडीबीचको प्रतिष्पर्धामा एपिएफ न्यु डायमण्डसँग ३–१ को सेटमा पराजित भएको हो। डायमण्डले पहिलो र दोस्रो सेट क्रमशः २५–२१ र २५–१९ ले जिते पनि तेस्रो सेट २१–२५ ले गुमाएको थियो।

चौथो सेटमा डायमण्ड २५–२१ ले विजयी हुँदा तेस्रो खेलमा पनि सुखद् नतिजा निकाल्न सफल भएको हो। यससँगै न्यु डायमण्डले तालिकामा स्पष्ट ९ अंक जोड्दै शीर्ष स्थानमा रहेको हो। उता एक खेलअगावै फाइनलमा पुगेको एपिएफको ६ अंक मात्र भयो। एपिएफ दोस्रो स्थानमा रहेको छ।

शुरुवाती दुवै खेलमा पराजित पुलिस र आर्मीबीच सोमबार नै भएको लिग चरणको अन्तिम खेलमा पुलिसले आर्मीलाई ३–१ को सेटमा हरायो। पुलिसले पहिलो सेट २६–२४ ले गुमाएको थियो। त्यसपछिको सेट २६–२४, २६–२४ र २५–२० ले जित्दै पुलिसले जारी लिगमा पहिलो जित निकालेको हो।

अब यी दुई टोलीबीच मंगलबार तेस्रो स्थानको छिनोफानोका लागि प्रतिष्पर्धा हुनेछ भने उपाधिका लागि न्यु डायमण्ड र एपिएफ क्लबबीच मंगलबार नै प्रतिष्पर्धा हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.