|

काठमाडौं: नेपालमा भ्रूण हत्याका घटना बढ्दै गएको छ। मुख्यगरी लिङ्ग पहिचान गरी भ्रूण हत्या गर्ने प्रवृत्ति बढेको हो। यसले गर्दा छोराछोरीमा भेदभाव र महिलाको स्वास्थ्यमा असर मात्रै गरेको  छैन, नेपालमा जन्ममा हुने लैङ्गिक अनुपातमै असन्तुलन देखिन थालेको छ।

स्वास्थ्य तथा जसंख्या मन्त्रालय लैङ्गिक समानता तथा सामाजिक समावेशिता शाखाका अनुसार नेपालमा लिङ्ग पहिचान गरेर गरिने भ्रूण हत्या( गर्भपतन) लाई कानुनले अपराध मान्ने गरेको भए पनि लुकीछिपी यस्ता घटनाहरू बढेको हुँदा जन्ममा महिला र पुरुषमा हुने अनुपातमा असन्तुलन देखिन थालेको हो।

चिकित्सकका अनुसार गर्भमा रहेको भ्रूणको १४ हप्ता नपुग्दासम्म लिङ्ग पहिचान गर्न सकिँदैन। तर १४ हप्तापछि लिङ्ग पहिचान गरेर बच्चा जन्माउँदा एकातिर जन्ममा हुने लिङ्ग अनुपातमा असन्तुलन बढ्दै गएको छ भने, अर्कोतर्फ समाजमा भ्रूण हत्याको संख्या बढेको पुष्टि हुन्छ।

हाल देशभर १५ सयको संख्यामा सुरक्षित गर्भपतन गराउने स्वास्थ्य संस्था सूचीकृत छन्।

सरकारले मुलुकी अपराध (संहिता) ऐन, २०७४, परिच्छेद १३ को गर्भ संरक्षण विरुद्धको कसुर अन्तर्गत दफा १८८ र १८९ मा लिङ्ग पहिचान गरी गरिने वा गराईने गर्भपतनलाई अपराधको रुपमा परिभाषित गरी दण्ड र सजायको व्यवस्था गरेको छ।

तर, छोराको चाहनामा लिङ्ग पहिचान गरी भइरहेको भ्रूण हत्याले देशमा जन्मको लैङ्गिक अनुपातमा असन्तुलन देखिन थालेको बताउँछिन् स्वास्थ्य मन्त्रालयको लैङ्गिक समानता तथा सामाजिक समावेशिता शाखाकी नर्सिङ अधिकृत सुनालक्ष्मी कर्मचार्य। 

'भ्रूण हत्या कानुनले नै बर्जित गरेको हुँदा लिङ्ग पहिचान गरेर कतिले भ्रूण हत्या गरे भन्ने ठ्याक्कै तथ्याङ्क हुँदैन तर पछिल्लो समय नेपालमा बढ्दै गएको जन्ममा हुने पुरुष र महिलाको अनुपातको असन्तुलनले लिङ्ग पहिचान गरेर भ्रूण हत्या गर्नेको संख्या बढ्दै गएको पुष्टि हुन्छ’उनले भनिन।

नेपालमा हाल गर्भवतीको मञ्जुरीमा बढीमा १२ हप्तासम्मको गर्भपतन गराउन सक्ने प्रावधान छ भने जबर्जस्ती करणी वा हाडनाताको करणीबाट गर्भ रहेको तथा गर्भमा नै वंशाणुगत खराबी देखिएमा २८ हप्तासम्मको गर्भपतन गराउन सक्ने व्यवस्था छ। स्वास्थ्य मन्त्रालयले २०७३ कात्तिक २ गतेदेखि गर्भपतन सेवा निःशुल्क समेत बनाएको छ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को सन् २०११ को रिपोर्ट अनुसार सामान्यत: १ सय जना छोरी जन्मँदा १ सय २ देखि १ सय ६ जनासम्म छोराको जन्म हुन्छ। तर, संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए) नेपालको सन् २०१८ को तथ्याङ्क अनुसार नेपालमा जन्मको लैङ्गिक अनुपात १ सय १० रहेको छ। यो भनेको नेपालमा १०० जना छोरीको जन्म हुँदा ११० जना छोराको जन्म हुन्छ। यो अत्यन्तै असन्तुलित हो।

अर्घाखाँचीमा सबैभन्दा धेरै छोरा जन्मिए

केही जिल्लामा भने जन्मको लैङ्गिक अनुपात १ सय १० भन्दा माथिसमेत रहेको देखाएको छ।

स्वास्थ्य मन्त्रालयले सन् २०१८ मा १२ वटा जिल्ला( अर्घाखाँची, भक्तपुर, कास्की, ललितपुर, पाल्पा, काठमाडौं, रुपन्देही, कन्चनपुर, गुल्मी, सप्तरी, झापा र पर्वत) मा गरेको अध्ययनले यसको पुष्टि गर्दछ।

जसमा अर्घाखाँचीमा महिला र पुरुष शिशु जन्मको अनुपातमा एकदमै धेरै असन्तुलन देखिएको थियो। अर्घाखाँचीमा १ सय जना छोरीको जन्म हुँदा १ सय २७ जनासम्म छोरा जन्मिएका थिए। यस्तै, सय जना छोरी जन्मिँदा भक्तपुरमा १२३, कास्कीमा ११४, ललितपुरमा पनि ११४, काठमाडौंमा ११३, रुपन्देही गुल्मीमा १११ र झापा र पर्वतमा ११० जना छोरा जन्मिएका थिए।

यसरी हेर्दा १२ जिल्लामा एक वर्षभन्दा मुनिका शिशुको जन्मको लैङ्गिक अनुपात १ सय १० देखि १ सय २७ सम्म रहेको छ। स्वास्थ्य मन्त्रालय लैङ्गिक समानता तथा सामाजिक समावेशिता शाखाका अनुसार सन् २००१ मा ३ वटा जिल्लामा १ वर्षभन्दा मुनिका जन्मको लैङ्गिक अनुपात १ सय ६ भन्दामाथि देखिएको थियो।

तर, सन् २०११ मा पुग्दा १६ वटा जिल्लामा यस्तो असन्तुलन देखिएको  नर्सिङ अधिकृत कर्माचार्यको भनाइ छ। यसरी हेर्दा नेपालमा हाल जन्मको लैङ्गिक अनुपात एकदमै असन्तुलित रहेको कर्मचार्यको भनाइ छ।

उनका अनुसार सन् २०१६ मा गरिएको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणको तथ्याङ्कमा प्रजनन दर सन् २००१ मा ४.१ रहेको थियो भने सन् २०१६ सम्म आउँदा यो दर घटेर २.३ मा झरेको छ।

विगत दुई दशकको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणको तथ्याङ्कमा आधारित रहेर गरेको विश्लेषणमा पहिलो बच्चाको लिङ्गको आधारमा त्यसपछिको बच्चा‍ जन्मँदाको लैङ्गिक अनुपातमा उच्च असन्तुलन देखिएको छ।

पहिला दुई छोरा हुनेहरूको तुलनामाभन्दा पहिला दुई छोरी हुनेहरूमा तेस्रो बच्चाको लैङ्गिक अनुपातमा उच्च असन्तुलन देखिएको छ। जहाँ १ सय ८० छोरा जन्मँदा १०० मात्रै छोरीको जन्मिएको पाइएको छ।

त्यसैगरी पहिलो बच्चा छोरा हुने महिलाहरूमा दोस्रो बच्चाको लैङ्गिक अनुपातमा सन्तुलन देखिएता पनि पहिलो बच्चा छोरी छ भने दोस्रो बच्चा जन्मिँदाको लैङ्गिक अनुपातमा पनि असन्तुलन देखिएको छ। जहाँ १ सय छोरीको जन्म हुँदा १२२ छोराको जन्म हुने गरेको छ।

जन्ममा लैङ्गिक असन्तुलन देखिनुमा तीनवटा निर्धारक कारक तत्व रहेको कर्माचार्यको भनाइ छ।

उनका अनुसार पहिलो प्रजनन दर घट्नु, दोस्रो छोरालाई उच्च प्राथमिकता दिनु र तेस्रो भ्रूणको लिङ्ग पहिचान गर्ने प्रविधि (अल्ट्रासोनोग्राफी) मा सहज पहुँच हुनु हो। 

पछिल्लो समयमा नेपालमा जन्ममा महिला र पुरुषमा हुने अनुपातमा असन्तुलन हुनु प्रमुख कारण रहेको शाखाकी  नर्सिङ अधिकृत कर्माचार्यको भनाइ छ।

‘अझै पनि हाम्रो समाजमा छोरालाई प्राथमिकता दिने चलन रहेको छ यसले गर्दा पहिलो पटक छोरी जन्माएकाहरुले प्रविधिको प्रयोग गरी लुकीछिपी भ्रूणको लिङ्ग पहिचान गरेर सन्तान जन्माउने प्रचलन पनि रहेको छ,यसले गर्दा अपराध मानिएको भ्रूण पहिचान गरेर गर्भ पहिचान गर्ने संख्या बढ्दै गएको देखाएको छ भने अर्को तर्फ समाजमा पुरुष र महिलाको जन्ममा हुने अनुपातमा एकदमै धेरै असन्तुलन देखिन थालेको छ।‘ कर्माचार्यले भनिन्।

कानुनले बर्जित गरेको लिङ्ग पहिचान गरेर गरिने भ्रूण हत्या (गर्भपतन) लैङ्गिक अनुपातमा असन्तुलन मात्रै नबनाएर महिलाको स्वास्थ्यमा समेत असर गर्ने बताउँछन् स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. किर्तिपाल सुवेदी। 

उनका अनुसार आमाको पेटमा हुर्किरहेको भ्रूणको प्राय: १२ देखि १४ हप्तामा लिङ्ग पहिचान हुने गर्छ।

यस्तो अवस्थामा लिङ्ग पहिचान गरेर लुकीछिपी गरिने  गर्भपतनले महिलाको स्वास्थ्यमा धेरै नै असर गर्ने गर्छ।

‘यदि आमाको गर्भमा रहेको भ्रूणमा केही खराबी रहेको छ भने चिकित्सकले नै गर्भपतन गर्ने सल्लाह पनि दिइन्छ। यस्तो बेला विज्ञ चिकित्सकहरूले महिलाको सम्पूर्ण स्वास्थ्य अवस्था हेरेर गर्भपतन गराउँछन् । तर भ्रूणको लिङ्ग पहिचान गरेर लुकीछिपी गर्ने गर्भपतनमा दक्ष चिकित्सकले नगराउने वा आफूखुसी औषधी सेवन गरेर गरिने गर्भपतनले महिलाको स्वास्थ्यमा धेरै नै असर गर्छ’ डा.सुवेदीले भने।

यसरी गरिने गर्भपतनले भविष्यमा गर्भ नबस्ने, पाठेघरको र पाठेघरको मुखको क्यान्सर हुने, संक्रमण भइरहने जस्ता स्वास्थ्य समस्या देखिने डा. सुवेदीको भनाइ छ।

विभेदपूर्ण लिङ्ग छनौटको अन्त्यका लागि राष्ट्रिय रणनीति

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  लिङ्ग पहिचान गरेर भ्रूण हत्या गर्ने क्रम बढ्न थालेपछि त्यसलाई रोक्न ‘विभेदपूर्ण लिङ्ग छनौटको अन्त्यका लागि राष्ट्रिय रणनीति २०७८–२०८८’  समेत बनाएको छ।

मन्त्रालयले बनाएको उक्त १० वर्षे रणनीतिमा कानुनबमोजिम बाहेक लिङ्ग पहिचान गरी गरिने गर्भपतनको विरुद्धमा आवश्यक नीति, योजना तथा कार्यक्रम निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्नु रहेको छ।

साथै छोरीको महत्वलाई प्रोत्साहन गर्दै लैङ्गिक समानता सुनिश्चित गर्नु पनि रणनीतिको उद्देश्य रहेको छ। यसका साथै छोरा र छोरीको समान महत्व स्थापित गर्न किशोरी एवं महिला केन्द्रित सामाजिक तथा आर्थिक सशक्तीकरणका कार्यक्रम प्रभावकारी रुपमा समन्वय गरी कार्यान्वयन गर्ने उल्लेख गरिएको छ। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.