|

विराटनगर : विराटनगरस्थित कोशी अस्पतालमा भौतिक संरचना र जनशक्ति अभाव भएको अस्पतालका चिकित्सक एवम् कर्मचारीको गुनासो छ।

आज (मंगलबार) कोशी अस्पतालको प्रभावकारी सेवा प्रवाहमा पत्रकारको भूमिका विषयक संवाद कार्यक्रममा आफ्नो भनाइ राख्ने क्रममा कोशी अस्पतालमा कार्यरत चिकित्सक एवम् कर्मचारीले अस्पतालमा दक्ष जनशक्ति र भौतिक संरचना अभाव रहेको बताए।

स्वास्थ्यको हिसाबले पूर्वका विभिन्न पहाडी जिल्लाका सेवाग्राहीको भरोसाको केन्द्र रहेको कोशी अस्पतालमा प्रदेश १ का विभिन्न जिल्लाबाट दैनिकजसो हजारौँ व्यक्ति उपचारका लागि आउँछन्। प्रदेश १ को राजधानीमा रहेको कोशी अस्पतालमा पाउनुपर्ने सेवामा ढिलाइ, समय अवधिसम्म चिकित्सक नभेटिने जस्ता विविध गुनासा सेवाग्राहीबाट आइरहँदा सोही अस्पतालमा कार्यरत चिकित्सकहरूको पनि गुनासो भने कम छैन।

जनशक्ति र भौतिक संरचना अभाव
अस्पतालमा दक्ष जनशक्ति अभाव मुख्य समस्या रहेको डा. रोशन खड्का बताउँछन्। अस्पतालमा १२ शय्या आइसियु रहेको, ४ वटा भेन्टिलेटर नियमित चलिरहेको र कोभिडपछि १२ मध्ये ४ वटा भेन्टिलेटर सञ्चालनमा आएको बताउँदै उनले भने, ‘२४ शय्याको आइसियु सञ्चालन गर्ने तयारी छ।’

डाइलाइसिसका लागि ५ वटा मेसिनबाट १२० जनासम्मलाई सेवा दिँदै आएको बताउँदै उनले अहिले नेफ्रोलोजीलाई विभाग जिम्मा दिएको बताए। उनले यसमा दक्ष जनशक्तिको अभावले २४ वटामा १२ वटा कटौती गरेको बताए।

‘भेन्टिलेटरको कुरा गर्दा ५ वटा शय्या कोभिडपछि १२ वटा रहेको छ, जनशक्तिको अभावले २४ वटामा घटाएर १२ वटा कटौती गरेको र १२ वटामा पनि ४ वटा प्रयोगमा आउनेछ’, उनले भने।

दक्ष जनशक्ति अभावले गर्दा कोशी अस्पतालमा ओरेन्टेशन पनि नभएको बताउँदै उनले भेडाबाख्रा जस्तो नियुक्त गर्नुभन्दा पनि व्यावसायिक र अनुभवी हुनुपर्नेमा जोड दिए। अस्पतालमा सुरक्षागार्डको अभाव समेत रहेको उनले बताए। सुरक्षागार्ड नहुँदा अस्पतालमा भएको घटनामा आफ्नो परिचयपत्र नै लुकाएर हिँड्नुपर्ने अवस्था आइपर्ने उनको भनाइ थियो।

यस्तै अस्पतालमा भौतिक संरचनाको समस्यासँगै काउन्टर समस्या पनि रहेको डा. सुधीर श्रेष्ठ बताउँछन्। कोशी अस्पताल रेफरिङ सेन्टर भए पनि भौतिक संरचनाको समस्या रहेको बताए। 

अस्पतालमा आकस्मिक सेवा लिने संख्या बढेको बताउँदै अघिल्लो वर्ष ३६ हजार ४ सयलाई सेवा दिएको समेत जानकारी दिए।

‘म १७ वर्षदेखि कार्यरत छु, गर्वको विषय जनताले गरेको विश्वास विपी क्याजेसमा डेन्टलको नोबेलको डेन्टल कलेज चलाए पनि दाँतको समस्या भएका विरामी कोशीमा आउने गर्छन् तर सानो कोठाबाट उपचार दिएका छौँ, भौतिक पूर्वाधार छैन’, उनले भने, ‘सातवटा चियर छन्, त्यसमा ४ वटा चियरमा मान्छे सुत्ने खालका मात्रै छन्।’ त्यसमा दक्ष जनशक्ति पनि नभएको उनले बताए।

यस्तै डा. ललिता योञ्जनले थोरै स्टाफले धेरैलाई सेवा दिइरहेको बताउँदै सुरक्षागार्डको अभाव पनि रहेको बताइन्। उनले अस्पतालमा पोर्टेबल एक्सरे जरुरी रहेको समेत बताइन्।

‘अर्थोमा पनि जनशक्ति अभाव छ। भने जति जनशक्ति भए ओटीमा धेरै खटिन सकिन्छ’, उनले भनिन्, ‘अर्थोपेडिक वार्डका बिरामीलाई एक्सरे गर्न जानु समस्या छ, अप्रेशन अघि र पछि नै एक्सरे गर्नुपर्ने हुँदा बिरामीलाई ट्रलीमा लग्ने समस्या छ, त्यो पनि बिग्रिरहन्छ। त्यो ट्रलीमा लिएर जाँदा विरामीलाई दुखाइ कति हुन्छ होला ?’

डा. अन्जु देवले गाइनो विभागमा डाक्टर बढाए पनि नर्स र कार्यालय सहयोगी बढाउनुपर्ने आवश्यकता रहेको बताइन्। उनले गाइनो वार्डमा एक सय शय्या चलेकोमा घटाएर ७० शय्या पुगेको बताउँदै उनले भनिन्, ‘बेडभन्दा बढी सर्भिस दिनुपर्ने समस्या छ, डाक्टर बढाइयो सिस्टर र पियन बढाउनु पयो।’

मेट्रोन मञ्जु यादवले अस्पतालमा नर्सिङ जनशक्ति पनि कम भएको बताइन्। उनले नर्सका लागि आवासको समस्या समेत रहेको बताउँदै टाढाबाट आउने नर्सलाई  सवारीको सेवा नभएको बताइन्। उनले नर्सलाई जोखिम भत्ता समेत नभएको बताउँदै नर्सलाई राज्य र अस्पतालबाटै विभेद भएको बताइन्।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट लक्ष्मीनारायण यादवले अस्पतालका कमी कमजोरी सुधार गर्दै लैजाने बताए। सुरक्षागार्डको सन्दर्भमा छिमेकी प्रहरी रहेको बताउँदै उनले गार्डको माग आइरहेको र त्यसलाई बढाएर लाने बताए।

यस्तै अस्पतालका अध्यक्ष महेश भट्टराईले अस्पतालको भौतिक पूर्वाधार बन्दै गरेको बताए। उनले भने, ‘भौतिक पूर्वाधार बन्दै छ, साढे साततले भवन बन्दै छ।’

अस्पताल निर्माणका क्रममा ठेकेदार भागेको विषयमा ठेकेदार भागेर सरकारलाई घाटा नभएको बताउँदै उनले त्यसको बदलामा अर्को ज्वाइन्ट भेन्चर आउने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.