एमाले र राप्रपाबाहेक नयाँ समीकरणको कसरत

|

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक विगत छ महिनादेखि बस्न सकेको छैन।

गत भदौ ५ गते बसेको केन्द्रीय कमिटी बैठक स्व. नेता प्रदीप गिरिको निधनमा शोक प्रस्ताव पारित गर्दै सकिएको थियो। त्यसअघि २७ असारदेखि २ साउनसम्म कार्यसमितिको बैठक बसेको थियो। 

गत मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलगायतका विषयमा छलफल गर्न बोलाइएको बैठक दोस्रो पटक पनि स्थगित भयो। गत पुस २२, पुस २८ गतेका लागि बोलाइएको बैठक पुनः माघ १५ गतेका लागि सारियो। तर, सरकार र संसद देखाउँदै सबै बैठक स्थगित भए। 

लोकतान्त्रिक विधि र पद्धतिअनुसार चल्ने पार्टीको बैठक विविध कारण देखाउँदै स्थगित गरेपछि सभापति शेरबहादुर देउवा नेताहरूको तारोमा पर्ने गरेका छन्। प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा गठबन्धन गर्ने तर, सरकार निर्माणमा गठबन्धन तोडेका कारण सभापति देउवामाथि नेताहरूले आक्रोश पोखिरहेका छन्।

पुस १० गते माओवादी केन्द्रले नयाँ गठबन्धन बनाएपछि देउवामाथि आफ्नै पार्टीका नेताहरूले असन्तुष्टि जनाएका हुन्।  कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत फागुन २५ गतेको राष्ट्रपति निर्वाचन अगाडि केन्द्रीय कमिटी बैठक नबस्ने बताउँछन्। 

‘संसद बैठकलगायतका विविध कारणले बैठक स्थगित भएको हो। राष्ट्रपतिको निर्वाचन अगाडि बैठक बस्ने तयारी छैन,’ उनले भने। 

प्रवक्ता डा. महतले सभापति देउवाको निर्देशनभन्दा पनि नेताहरूको सुझावमा बैठक सारिएको दाबी गरे। 

‘यो बैठक सभापतिज्यूले भन्दा पनि अन्य साथीहरूको प्रस्तावमा सारिएको हो। अब तोकिएको समयमा बैठक बस्छ। उक्त बैठकमा निर्वाचनको समीक्षा, पार्टीलगायतका विविध विषयमा एकमुष्ठ समीक्षा हुन्छ,’ उनले भने। 

सभापति देउवाले नयाँ सत्ता समीकरणपछि मात्रै बैठक डाक्ने तयारी गरेका छन्। नयाँ समीकरणको तयारी भइरहेकाले तत्कालै बैठक बोलाउँदा नेताहरूका अभिव्यक्ति र सुझावले उक्त समीकरण बिग्रिने डर सभापति देउवालाई छ।

कांग्रेसले राष्ट्रपतिमा आफ्नो दाबी कायम राखेको छ। त्यसका लागि सभापति देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको संवादलाई अगाडि बढाएका छन्। कांग्रेस एमालेबाहेकको नयाँ समीकरणका लागि सक्रिय भइरहेको छ। त्यसका लागि कांग्रेस नेताहरूले माओवादी केन्द्रका नेताहरूसँग निरन्तर संवाद अगाडि बढाइरहेका छन्। 

‘सभापतिज्यूले गुमाएको सत्ता फर्काउन नसके पनि राष्ट्रपति मात्रै पाउन सके पार्टीभित्र कम विवाद हुने आँकलन अनुसार बैठक रोक्नुभएको हो। तत्कालै बैठक बोलाए बन्न लागेको समीकरण बिग्रिने हो कि भन्ने डर सभापतिज्यूलाई छ,’ देउवा निकट एक पदाधिकारीले थाहाखबरसँग भने। 

केन्द्रीय सदस्य मिनबहादुर विश्वकर्माले राष्ट्रपतिको निर्वाचन अगाडि केन्द्रीय समिति बैठक नबस्ने बताए। संविधानमा उल्लेख भएअनुसार माघ २५ गते राष्ट्रपति निर्वाचन हुनुपर्नेमा फागुन २५ मा पुर्याएर निर्वाचन आयोगले संविधानको धज्जी उडाउने काम गरेको बताउँदै उनले यसले आफूहरूको पार्टीको बैठकलाई समेत प्रभावित पारेको बताए।

‘पार्टीको बैठक बस्न नसकेको लामो समय भयो। बैठक आवश्यक थियो। तर, राष्ट्रपतिको निर्वाचन र नयाँ सत्ता समीकरणले गर्दा फागुन २५ अगाडि बस्ने अवस्था देखिँदैन,’ नेता विश्वकर्माले भने, ‘निर्वाचन आयोगले संविधानले तोकेको व्यवस्थाभन्दा बाहिर गएर राष्ट्रपतिको निर्वाचनको मिति तोकिएको छ त्यसले गर्दा बैठक अनिश्चित बन्न पुग्यो। किनकि बैठकका कारण बन्न लागेको नयाँ समीकरण बिथोलिने अवस्था आउन सक्छ।’ 

कांग्रेस केन्द्रीय सदस्य गुरूराज घिमिरेले सभापति देउवाले यसअघिका घटनाक्रमबारे आत्मालोचना गरेर बैठकमा छलफल गरेर आगामी कदमबारे नेताहरूका राय सुझाव अनुसार अगाडि बढ्नुपर्ने बताए। 

‘राष्ट्रपतिको चुनावलाई केन्द्रित गरेर बैठक सारिएको देखिन्छ। तर, केन्द्रीय कमिटीको बैठकमा छलफल गरेर राष्ट्रपतिको निर्वाचनमा जाँदा प्रभावकारी हुन्थ्यो। पार्टीले चाल्ने कदमबारे बैठकबाट निर्णय गर्दा राम्रो सन्देश जान्थ्यो। राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिने भनेको छ। केन्द्रीय समिति बैठक सुझाव लिने र दिने थलो हो। तर त्यसलाई वेवास्ता गर्दा नेतृत्वबारे प्रश्न उठ्छ,’ उनले भने, ‘नेतृत्वले पुस १० गते हामीबाट ठूलो कमजोरी भयो। त्यसलाई स्वीकार गरेर हामी करेक्सन गरेर जान्छौं। राष्ट्रपतिमा कसरी हाम्रा उम्मेदवार जिताउन सकिन्छ भनेर केन्द्रीय समितिमा प्रस्ताव गर्दा राम्रो हुन्थ्यो।’  

सभापति देउवा अनेकन प्रश्नहरूबाट भागिरहेको एक पदाधिकारीले आरोप लगाए।

बहुसङ्ख्यक केन्द्रीय सदस्यहरूले एकल रूपमा निर्वाचन लड्नुपर्ने बताइरहँदा देउवा एकलौटी निर्णयमा केन्द्रित भएर सत्ता गठबन्धनसँग चुनाव लडेको र सोचेजति सिट जित्न नसकेको, निर्वाचनपछि सरकार निर्माण गर्दा गठबन्धन किन तोडेको र तोड्ने भए किन चुनावमा सँगै गएको? पार्टीभित्र संगठन निर्माणमा चासो नदिएको, भ्रातृ संगठनहरू भद्रगोल अवस्थामा छोडेको लगायतका आरोपको सामना देउवाले गर्नुपर्ने छ। 

‘सभापतिज्यूमाथि हातमा आएको सत्ता गुमाएको आरोप लागिरहेका छन्। केन्द्रीय कमिटी बैठकमा उहाँले यी विषयको जवाफ दिन सक्नुहुन्न। सोही कारण अनेकन बहाना बनाएर बैठक सारिरहनुभएको छ। उहाँले रास्वपाले सरकार छाडेसँगै नयाँ समीकरण हुने आँकलन गरेर र राष्ट्रपति निर्वाचनसम्म केही गर्ने छाँटस्वरूप बैठक सार्नुभएको हो। किनकि राष्ट्रपति हाम्रो हातमा परिहाले त्यसपछि उहाँले बैठक राखेर यसअघि लागेका आरोप छुट पाउने रणनीति लिनुभएको छ। तर, अहिले नै बैठक बोलाए उहाँ आफू निकट नेताको प्रश्नबाटै भाग्नुपरिरहेको छ,’ एक पदाधिकारीले थाहाखबरसँग भने। 

केन्द्रीय सदस्य घिमिरेले सभापति देउवाले नयाँ समीकरण, राष्ट्रपतिको निर्वाचन, प्रधानमन्त्रीको विश्वासको मत, संसद बैठक लगायतका अनावश्यक कारण देखाएर प्रश्नहरूबाट भागिरहेको बताए।

‘सभापति बैठकबाट भाग्दा डेमोक्रेटिक पार्टीको नीति सिद्धान्त नै धुमिल हुन्छ। कमजोरी स्वीकार गरेर जाँदा सम्भावित परिघटनाबारे पनि निष्कर्षमा पुग्न सकिन्छ। पार्टीमा एकाधिकार हावी भएको छ। राष्ट्रपतिको निर्वाचन र नयाँ सत्ता समीकरण भनेर बैठक सार्ने काम भइरहेको छ। यो कदापी स्वीकार हुँदैन,’ उनले भने, ‘त्यसो भए अर्को राजनीतिक घटनाक्रम विकसित भयो भने बैठक सार्ने त? यस्तो कुतर्क गर्न मिल्दैन। बैठक पार्टीका समग्र नेताहरूले चाहेर बोलाउने कि केही नेताहरूले बोलाउने? यो शैली मनोगत भयो। नेताको व्यक्तिगत चाहनामा पार्टी चल्यो, सभापति देउवाको कार्यशैली नै लोकतान्त्रिक भएन।’ 

गठबन्धन फुटाउने देउवाको चाहना 

नेपाली कांग्रेसका सभापति  देउवा अहिलेको सात दलीय गठबन्धन कुनै हालतमा भत्काउने रणनीतिमा लागेका छन्। नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा बनेको सरकारमा देउवा एमाले र राप्रपारहित गठबन्धन बनाउने रणनीतिमा लागेका हुन्। 

कांग्रेसले राष्ट्रपति निर्वाचनले सत्ता गठबन्धनभित्रको विवादले सत्ता समीकरण फेरबदल हुनसक्ने आशंका गरेको छ। कांग्रेस प्रवक्ता डा. महत राष्ट्रपतिको निर्वाचनपछि सत्ता समीकरण फेरबदल हुनसक्ने बताउँछन्।

‘राष्ट्रपतिमा माओवादी केन्द्रको समर्थन खोजेका छौं। सत्ता गठबन्धनभित्र प्रचण्डजीले असहज महसुस गरिरहनु भएको छ। राष्ट्रपतिको निर्वाचनले कता लैजान्छ हेर्न बाँकी छ। गठबन्धन यताउता हुनसक्छ,’ उनले भने, ‘राष्ट्रपति सहमतिमा हुने भन्ने सकारात्मक कुरा हो। राष्ट्रपतिमा माओवादीको समर्थन पाउने छौं। उहाँहरूले समर्थन गर्छाैं भन्नुभएको छ।’

राष्ट्रपतिमा राष्ट्रिय सहमति कायम गर्न कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, नेता कृष्णप्रसाद सिटौला, रमेश लेखक र माओवादी केन्द्रबाट उपाध्यक्ष कृष्णबहादुर महरा, उपमहासचिव जनार्दन शर्मा, गिरिराजमणि पोखरेल र शक्ति बस्नेतले संवाद गरिरहेका छन्। 

संवाद टोलीमा सहभागी माओवादी केन्द्रका एक नेताले नेकपा एमालेबाट आफूहरू निरन्तर पेलानमा परेको र राष्ट्रपतिमा एमालेको उम्मेदवारलाई स्वीकार गर्न नसकिने भएकाले समीकरण फेरबदल हुनसक्ने बताए। प्रधानमन्त्री प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीको गत आइतबार संसदमा गरेको सम्बोधनबाट सन्तुष्ट छैनन्। 

‘ओलीजीले रवि लामिछानेलाई पुनः गृहमन्त्री बनाउन निरन्तर दबाब दिनुभयो। साथै आइतबारको संसद बैठकमासमेत उहाँ(रवि)कै पक्षमा बोल्नुभयो। जबकी सर्वोच्च अदालतले उहाँको नागरिकता अवैध ठहर गर्दै बदर गरेको थियो,’ प्रचण्ड निकट एक नेताले थाहाखबरसँग भने, ‘दुई–दुई पटक संसद विघटन गर्दासमेत उहाँ अझै हाकाहाकी संसद् विघटन सही थियो भन्नुहुन्छ । यसले पनि उहाँसँग सत्ता यात्रा गर्न सहज देखाउँदैन। सम्भवतः राष्ट्रपति निर्वाचनमा नयाँ समीकरण बन्न सक्छ।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.