|

काठमाडौं : स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको समय नजिकिएसँगै यतिखेर विद्यार्थी संगठनका नेताहरूमा निर्वाचनको चहलपहलमा व्यस्त हुन थालेका छन्। उनीहरूले क्याम्पसहरूमा भेला राख्ने, निर्वाचनबारे चेतना दिनेलगायत कार्यक्रमहरू गरिरहेका छन्। 

पुस २२ गते बसेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) को कार्यकारी परिषद्को बैठकले स्ववियु निर्वाचन आगामी चैत ५ गते गर्ने निर्णय गरिसकेको छ। त्रिविले २८ पुसमै क्याम्पसहरूलाई स्ववियु निर्वाचनको तयारी गर्न निर्देशन दिएको थियो। तोकिएकै समयमा निर्वाचन भए १४ वर्षपछि कलेज/क्याम्पसहरूमा विद्यार्थी युनियन चुनिनेछ। 

किनभने त्रिविले २०६५ सालअघिसम्म शैक्षिक क्यालेन्डरमा २/२ वर्षमा फागुन १४ गते चुनावको कार्यतालिका राखेर स्ववियु निर्वाचन गराउँदै आएको थियो तर त्रिविका क्याम्पसहरूमा २०६५ सालयता नियमित निर्वाचन हुन सकेको छैन। त्रिविका ६२ वटा आंगिक क्याम्पस छन्।

०६५ चैत ६ गतेपछि ८ वर्षमा २०७३ चैत १५ गते स्ववियु चुनाव भएको थियो। त्यसवेला देशभर त्रिविका ६२ आंगिक क्याम्पसमध्ये रत्नराज्य (आरआर), जनप्रशासनसहित उपत्यकामा ९ आंगिक र उपत्यका बाहिर १७ क्याम्पसमा मात्र स्ववियु निर्वाचन भएको थियो।

स्ववियु विद्यार्थीहरूले मत दिएर चुनिने वैधानिक संस्था हो। यो निर्वाचनबाट विद्यार्थी नेतृत्व छानिन्छ र उसले विद्यार्थीको हक–अधिकारको निम्ति काम गर्छ। त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारी स्ववियु निर्वाचनको धेरै महत्व रहेकाले समयमा निर्वाचन गर्नुपर्ने र यसका लागि विद्यार्थी संगठनका नेताहरू तयारी गर्दै जानुपर्ने सुझाउँछन्।

‘स्ववियु निर्वाचन गराउँदा विद्यार्थीहरूको हकहितका लागि आवाज बुलन्द हुन्छ, सत्तामा पुग्न नीति नियमसम्म पहुँच पुग्छ, निर्वाचनबाट चुनिएका नेतृत्वले विश्वविद्यालय, क्याम्पस र विद्यालयमा भएको अराजकता, बेथितिको सुधार तथा खबरदारी गर्छ,’ उनले भने। 

तर १४ वर्षदेखि नियमित निर्वाचन नहुँदा विश्वविद्यालय सभादेखि क्याम्पसहरूका महत्वपूर्ण निकायमा विद्यार्थीको प्रतिनिधित्व हुन सकेको छैन। 

अर्कोतर्फ स्ववियु निर्वाचन हुँदा पनि निर्वाचित भएर नेतृत्व लिएकाहरूले आफ्नो हकहित र अधिकारका लागि काम गरेको अनुभूति विद्यार्थीहरूले गर्न पाएका छैनन्। क्याम्पसका प्रोफेसर, शिक्षकहरूमाथि विद्यार्थी संगठनका नेताहरूले स्वार्थ बाझ्दा भौतिक आक्रमणसमेत गर्ने हुँदा उनीहरूलाई जोखिम छ।

अहिले हुन लागेको स्ववियु निर्वाचनमा कस्तो नेतृत्व आवश्यक छ भनी विद्यार्थीहरूको राय बुझ्ने प्रयास गरेका छौँ।

कल्पना सापकोटा, विद्यार्थी

अब स्ववियुको लागि शैक्षिक क्रान्तिको मुद्दा बोक्ने, त्रिविमा भएको अराजकता, विकृति विसंगतिका गतिविधि निराकरण गर्ने र विद्यार्थीहरूले भोग्दै आएका समस्या समाधान गर्न सक्ने नेतृत्व आवश्यक छ।

त्रिविलगायत क्याम्पसहरूमा छात्राले अझै पनि स्यानेटरी प्याडलगायत समस्या झेल्दै आएका छन्। यसको समाधानको लागि आवाज उठ्नुपर्ने त्यो नपुगेको पनि हो। दोस्रो कुरा जति आवाज उठेको छ‚ त्यसको सुनुवाइ पनि भएको छैन।

स्ववियु नहुँदा विद्यार्थी आन्दोलनलाई नटेर्नु, बेवास्ता गर्ने, त्रिवि प्रशासनका कर्मचारीहरूले विद्यार्थीहरूलाई लाद्न खोज्नेजस्ता धेरै समस्या छन्। त्यही भएर विद्यार्थीले धेरै सास्ती खेपिरहेका छन्।

त्रिवि, कलेजका प्रशासनमा पनि भिसी, रेक्टर,रजिष्ट्रार पूरै राजनीतिक दलदलमा फसेका छन्। यावत कुराहरूलाई पनि उनीहरू आफ्नो दलभित्र  समाहित गर्ने र आफ्नो दलको भए गर्न खोज्ने विरोधी दल र संगठनको भए जल्दाबल्दा शैक्षिक मुद्दाको समेत बेवास्ता गर्ने गरेका छन्। त्यसैले स्ववियु आवश्यक छ। हामी जसरी पनि निर्वाचन गराउने पक्षमा लागेका छौँ।

उज्ज्वल खड्का, विद्यार्थी 

विद्यार्थी राजनीति पुरानो संरचनाभन्दा नयाँ संरचनामा कसरी लान सकिन्छ भन्ने चेतना भएको, विद्यार्थीहरूको समस्या बुझेको नेतृत्वको आवश्यक छ।

अहिले हामी पञ्चायतकालीन राजनीतिमै चलिरहेका छौँ‚ यसबाट बाहिर निस्किनको लागि बहस सिर्जना गर्ने व्यक्ति आवश्यक छ। यसका लागि विद्यार्थी संगठन तयार हुनुपर्छ।  

प्रबल भण्डारी, विद्यार्थी

यहाँ पछिल्लो समय राजनीति गर्ने तर कलेज नियमित नआउने प्रवृत्ति छ। यसकारण कलेजमा भएका समस्याहरूबारे थाहा हुँदैन। विद्यार्थीहरूको माग के हो भन्ने जानकारी हुँदैन। त्यसैले नियमित कलेजमा आएको मान्छे उम्मेदवार बन्नुपर्छ। तबमात्र कलेजमा भएका समस्याबारे बुझ्छ‚ नभए सक्दैन।

क्याम्पसहरूमा हरेक कुरामा कमजोरी छ। नतिजाका विषय होस् य अन्य सवालमा कसरी फेस र सुधार गर्ने योजना त्यो व्यक्तिमा हुनुपर्छ। पछिल्लो समय क्याम्पस लडाइँ गर्ने थलो बनेको छ।

त्यसैले सुरक्षाको व्यवस्था गर्ने लगायत क्लियर विचार‚ योजना र भिजनमा भएको नेतृत्व चाहिन्छ। तबमात्र विद्यार्थीहरूले न्याय पाउनेछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.