ठेकेदारलाई साढे आठ करोड जरिवाना

|

सुर्खेत : जाजरकोट खण्डभित्र पर्ने मन्ता भीर निर्माण नहुँदा मध्यपहाडी लोकमार्ग निर्माण कार्य अधुरो भएको छ। लथालिङग तरिकाले सडक निर्माण गर्दा तोकिएको समयमा काम हुुन नसकेको हो।

अधिकांश ट्र्याक खोलिसकेको अवस्थामा लामो समयदेखि मन्ता भिर फोड्ने काम पूरा नहुँदा समस्या भएको छ। जाजरकोटको छेडागाड नगरपालिकामा पर्ने उक्त भिर कटानको काम गर्न थालेको १२ वर्ष लागे पनि अझैँ पूरा हुन सकेको छैन। कटानको जिम्मेवारी लिएको निर्माण व्यवसायी र आयोजनाले एकले अर्कालाई आरोप लगाउँदै आएका छन्। 

सबै ठाउँमा पिच गर्ने भन्दै काम समेत जारी रहेको छ। पिच भएको अधिकांश ठाउँ समेत भत्किसकेको छ। मापदण्ड अनुसारको निर्माण सामग्री प्रयोग नभएका कारण सडक अगाडि बनाउँदै, पछाडि भत्किँदै गरेको अवस्थामा रहेको छ। मध्यपहाडी लोकमार्गको जाजरकोट खण्ड निर्माण सुरु भएको १२ वर्ष बिते पनि झार्पा र कार्कीगाउँबीचमा रहेको मन्ता भिरखण्डको बाटो निर्माण हुन नसक्दा समस्य हुँदै आएको छ। कुदुदेखि सुयाडासम्मको ८२ किमि सडकसमेत खुलिसकेको छ तर भन्ताभिरको ५०० मिटर चट्टानका कारण १२ वर्षदेखि सडकको काम अलपत्र परेको हो । 

अगाडि बनाउँदै जाँदा पछाडि भत्किँदै?

लोकमार्गको जाजरकोट भेरी नगरपालिका– १३ कुदुदेखि स्याउली बजारसम्म पिचको काम पूरा भए पनि भत्किने कामसमेत सुरु भएको छ। आधा दर्जन बढी ठाउँमा सडक भत्किएका कारण यो पिच भएको सडक जोखिमपूर्ण भएको छ। निर्माण व्यवसायीले भत्किएको सडक मर्मततर्फ ध्यान नदिएको स्थानीय भविलाल शाहीले बताए। १७ किलोमिटर सडक पिच भएकोमा जगतीपुरदेखि स्याउली बजारसम्म अधिकांश ठाउँमा भत्किएको शाहीले बताए। सडक निर्माण गर्दा स्थानीयवासीको होटलमा खाएको र कामदारले श्रमको मूल्य नपाएको गुनासो गरेका छन्।

मध्यपहाडी लोकमार्ग अन्तर्गत ८२ किलोमिटर सडक जाजरकोटमा पर्छ। उता, निर्माण व्यवसायी सिंह एण्ड ब्रदर्सका विश्वास उप्रेतीले १७ किलोमिटर सडक पूर्णरूपमा काम भइसकेको बताएका छन्। त्यस्तै स्याउलीदेखि कार्कीगाउँ सम्मको १७ किलोमिटरमा पिचको काम जारी रहँदा काम गुणस्तर नभएको भन्दै पर्खाल भत्काउदै बनाउँदै गर्ने कामसमेत जारी रहेको छ। सिमेन्ट र बालुवा राख्दा मापदण्डभन्दा बाहिर गएर निर्माण गरेको भेटिएपछि भत्काउने काम भएको हो।
प्राविधिकको आँखा छलेर भारी मात्रामा सडकमा पिच गर्दा कटिङ गरिएको ठाउँमा लगाइने वालहरूमा मापदण्डभन्दा बाहिर गएर काम गर्ने गरेको पाइएको प्राविधिकको भनाइ छ। 

कार्की गाउँबाट थलहसम्मको २० किलोमिटरमा समेत काम जारी रहेको छ। थलहदेखि दैलेखको सिमानासम्म २९ किलोमिटर सडकको पिचको काम सकिएको छ। यो आर्थिक वर्षभित्र मध्यपहाडी लोकमार्गअन्तर्गत जाजरकोट खण्डको काम पूरा गर्ने लक्ष्य रहेको छ।

भत्किएको सडकका विषयमा ठेकेदार कम्पनी बेखबर

कुदुदेखि स्याउली बजारसम्म पिच भइसकेको सडक भत्किए पनि ठेकेदार कम्पनी बेखबर रहेको छ। पिच गर्न बाँकी रहेको ठाउँमा मात्र काम भइरहेको छ भने पिच भत्किएको ठाउँमा काम सुरु नै गरिएको छैन।

भत्किएको विषयमा पटक–पटक कुरा उठाउँदा पनि सुनुवाइ नभएको स्थानीय कमल शाहीले बताए। उत्ता निर्माण कम्पनीका प्रतिनिधि विश्वास उप्रेतीले आयोजनाबाट आफूले पैसा नपाएका कारण काम गर्न गाह्रो भएको बताए। आयोजनाका प्रमुख यूवराज पोखरेलले निर्माण कम्पनीले भारी बदमासी गरेको बताए। एकले अर्कालाइ आरोप लगाउने भन्दा अरु काम नगरेको स्थानीयवासी बताउँछन्। 

१० वर्षदेखि पुल अलपत्र पार्ने ठेकेदारलाई साढे आठ करोड जरिवाना

ठेक्का लिएको १० वर्ष सम्म पुल नबाउने ठेकेदार कम्पनीलाई सरकारले साढे आठ करोड रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ। पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजना निर्देशनालय दैलेखले मध्यपहाडी सडक अन्तर्गत जाजरकोट र रुकुम पश्चिम जोड्ने भेरी नदीमा पुल बनाउने जिम्मा लिएको वाईपी कन्स्ट्रक्सन प्रालिलाई साढे आठ करोड रकम जरिवाना तिराउने भएको हो।

निर्देशनालयले एक सूचना जारी गर्दै उक्त निर्माण व्यवसायीलाई ठेक्का सम्झौता अनुसार काम नगरेको भन्दै ८ करोड रुपैयाँ दाखिला गराउने जनाएको छ। वाईपी कन्स्ट्रक्सनले रुकुम–जाजरकोट जोड्ने भेरी नदीमा पुल निर्माण गर्ने काम अलपत्र पारेको थियो। निर्देशनालयले पटकपटक ताकेता गर्दा पनि निर्माण कार्य गर्न अटेर गरेपछि गत मंसिर २९ गतेको विभागीय निर्णय अनुसार ठेक्का सम्झौता रद्द गरिएको थियो।

कम्पनीले २०६९ मा नै ठेक्का सम्झौता गरेको थियो। तर १० वर्ष बितिसक्दा पनि निर्माण कार्य भने सम्पन्न गर्न नसकेपछि निर्माण व्यवसायीसँग ठेक्का तोडिएको हो।
सार्वजनिक खरिद नियमावली २०६३ अनुसार ठेक्का तोडिएपछि निर्माण व्यवसायीबाटै रकम असुल उपर गर्ने व्यवस्था रहेको छ। सोही नियमावलीअनुसार उक्त ठेक्काको जम्मा रकम आठ करोड ५७ लाख ९५ हजार ६२६ रुपैयाँ जरिवाना गरिएको निर्देशनालयका डिभिजन प्रमुख इन्जिनियर युवराज पोखरेलले बताए। यो रकम निर्माण व्यवसायीले आयोजना निर्देशनालयलाई तिर्नुपर्ने छ। पेश्कीको ब्याज, अतिरिक्त रकम र क्षतिपूर्ति वापतको रकम तिर्नुपर्ने भएको हो।

निर्माण व्यवसायीले सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र नेपाल सरकारको राजस्व खातामा जम्मा गर्नुपर्ने आयोजनाले जनाएको छ। माघ ६ गते सार्वजनिक सूचना प्रकाशित गरिएको छ। साथै हाल सम्म भएको अधुरो कार्य स्वीकार योग्य नभएको हुँदा सार्वजनिक खरिद ऐन २०६३ को दफा ५९ को उपदफा ८ बमोजिम निर्माण कार्य पूरा गर्न लाग्ने उक्त रकम वाईपी कन्स्ट्रक्सन बाट असुलउपर गरिने आयोजना निर्देशनालयले जनाएको छ। 

लागत स्टिमेट तयार हुँदैछ। कति रकममा पुल बन्छ, सबै रकम सोही निर्माण कम्पनीले तिर्नुपर्ने प्रावधान रहेको डिभिजन प्रमुख पोखरेलले बताए। जरिवाना र लागत रकम तिर्न आनाकानी गरे सरकारी बाँकी सरह जायजेथा (अचल सम्पत्ति)बाट समेत असुल उपर गर्ने कानुनी प्रावधान रहेको उनले बताए। वाईपी कन्ट्रक्सन प्रालि काठमाडौंले २०६९ सालमा यो पुल निर्माणको ठेक्का सम्झौता गरेको थियो।

जाजरकोटको भेरी नगरपालिका र रुकुमको चौरजहारी नगरपालिका जोड्ने पुल ठेकेदारको लापरबाहीका कारण १० वर्ष देखि निर्माण कार्य अलपत्र परेको थियो। पुलका दुई वटा पिलर मात्र हालेर निर्माण कम्पनीले काम अलपत्र छोडेको हो।

तीन वर्षमा काम सम्पन्न गर्ने गरी १८ करोड स्टमेटको यो ठेक्का वाईपी कन्ट्रक्सनका प्रोपाइटर राजु श्रेष्ठले १४ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेका थिए। ठेक्का सम्झौता गरेको १० वर्ष बितिसक्दा पनि काम नगरेपछि ठेक्का सम्झौता गत मंसिरमा तोडिएको थियो। पुल नबन्दा सडक आयोजनाको स्तरोन्नति र कालोपत्रेको काम समेत प्रभावित भएको उनले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.