|

म्याग्दी : जिल्लाको धवलागिरि गाउँपालिका–५ मल्कबाङको दुर्गम बस्ती मलम्पार सडक सञ्जालमा जोडिएको छ। अघिल्लो वर्ष मल्कबाङको दैडाँडामा पुगेर रोकिएको सडकलाई यस वर्ष विस्तार गरी मलम्पार बस्तीमा पुर्‍याइएको हो।

सडक निर्माणका लागि चालु आर्थिक वर्षमा गाउँपालिकाबाट २५ लाख र गण्डकी प्रदेश सरकारमार्फत विनियोजन भएको १० लाख बजेटबाट मलम्पारमा सडकको ट्याक निर्माण गरिएको वडा अध्यक्ष अमर छन्त्यालले जानकारी दिए। उनका अनुसार, मलम्पार पुगेको सडकलाई विस्तार गरी वडा नम्बर ६ मराङको बुल जोड्ने तयारी गरिएको छ।

सडक सञ्जालले जोडिएपछि दुर्गम बस्ती मलम्पारदेखि वडा कार्यालय रहेको मल्कबाङ सम्मको करिब साढे १ घण्टाको बाटो २० मिनेटमै छोटिएको छ। करिब १५० घरधुरीको बसोबास रहेको मलम्परा गाउँका स्थानीयबासीलाई दैनिक उपभोग्य बस्तुको ढुवानी गर्न र सदरमुकाम र वडा कार्यालय र गाउँपालिका कार्यालय पुग्न समेत सहज भएको छ।

मल्कबाङको दैडाँडादेखि साढे २ किलोमिटर सडक निर्माण भएपछि मलम्पार सडक सञ्जालले जोडिएको गाउँपालिकाको सव इन्जिनियर जनक धानुकले जानकारी दिए। उनका अनुसार,मलम्पारदेखि वडा नम्बर ५ को बुल जोड्नका लागि धमाधम सडक निर्माणको काम भइरहेको छ।

करिब ३ किलोमिटर दूरीमा अब जम्मा १ किलोमिटर मात्रै सडकको ट्याक खन्न बाँकी छ। मलम्पार र बुल सडक सञ्जालले जोडिएमा वडा नम्बर ६ को मराङ–राम्चे–बुल हुँदै वडा नम्बर ५को मलम्पार–मल्कबाङ हुँदै मराङबेशी जोड्ने चक्रपथ निर्माण हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.