कहिले लिन्छन् विश्वासको मत ?

|

धनगढी : सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाउन नागरिक उन्मुक्तिको साथ खोजेका छन्।

त्यसका लागि माहोल बनाउन मुख्यमन्त्री नियुक्त भएपछि शाहले सक्रियता बढाएका छन्। स्रोतका अनुसार मुख्यमन्त्री शाहले आज (आइतवार) मात्रै नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीलाई भेटेका छन्।

शाहले डिल्लीबजार कारागार पुगेर टीकापुर घटनामा दोषी प्रमाणित भएर जेल जीवन बिताइरहेका चौधरीलाई भेटेका हुन्।

मुख्यमन्त्री शाहले चौधरीसँग सामान्य भेट भएको र समसामयिक राजनीतिक परिस्थितिबारे कुराकानी भएको बताएका छन्। यसअघि शनिवार मुख्यमन्त्री शाहले जानकी गाउँपालिका–९ स्थित चौधरीको घरमा पुगेर रेशमको रिहाइका लागि सरकारसँग पहल गर्ने आश्वासन दिएका थिए।

त्यहाँ उनले शनिबार बिहान रेशम चौधरीकी आमा सुनफीदेवीलाई भेटेका थिए। त्यसपछि त्यसै दिन दिउँसो चौधरीकी पत्नी तथा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठसँग पनि मुख्यमन्त्री शाहले भेट गरेका थिए। भेटमा उनले विश्वासको मत दिनका लागि आग्रह समेत गरेका थिए।

मुख्यमन्त्री शाह अहिले नेपाली कांग्रेस रेशम चौधरीको रिहाइको मागमा सकारात्मक रहेको देखाउँदै उन्मुक्तिलाई आफूतिर तान्ने रणनीतिमा छन्।

पुस २७ गते मुख्यमन्त्री नियुक्त एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएपछि पदमुक्त भएका थिए। उनलाई समर्थन गरेको नागरिक उन्मुक्ति विश्वास मत नदिएपछि रावल पदमुक्त भएका थिए।

त्यसपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम संसद्‌को सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतले कांग्रेसका शाह सुदूरपश्चिमको तेस्रो मुख्यमन्त्री नियुक्त भएका थिए। उनले पनि एक महिनाभित्र विश्वासको मत लिइसक्नु पर्छ।

५३ प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिममा सरकार बनाउन २७ सांसद आवश्यक पर्छ। नेपाली कांग्रेसका १९ र एकीकृत समाजवादीका ४ गरेर सत्तारुढ पक्षसँग अहिले २३ सांसद छन्। उनीहरूलाई सरकार टिकाइराख्न नागरिक उन्मुक्ति वा माओवादीले समर्थन गर्नुपर्ने हुन्छ। त्यसैका लागि मुख्यमन्त्रीले दौडधुप बढाएका छन्।

देउवालाई भेटे, बलायरलाई जिम्मेवारी

यस्तै आजै मुख्यमन्त्री शाहले काठमाडौँस्थित नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको निवासमै पुगेर उनलाई भेटेका छन्। शाहले पार्टी सभापति देउवाको निवास धुम्बाराहीमा काँग्रेस सभापति,  उपसभापति पूर्णबहादुर खड्का, केन्द्रीय सदस्य आरजु राणा देउवासँग सामूहिक भेटवार्ता गरेका हुन्।

भेटमा उनले शीर्ष स्तरबाट विश्वासको मत पाउने वातावरण मिलाइदिन आग्रह गरेको बताइएको छ। पार्टीको प्रदेश समितिले भने मुख्यमन्त्री शाहलाई विश्वासको मत जुटाउने जिम्मा प्रदेश पार्टी सभापति वीरबहादुर बलायरलाई दिएको छ।

धनगढीमा आइतबार बसेको प्रदेश पार्टी कार्यसमिति बैठकले पूर्वमन्त्री एवं पार्टीका प्रदेश सभापति बलायरलाई विश्वासको मतका लागि वार्ता र संवाद गर्ने जिम्मा दिइएको प्रदेश महामन्त्री मेघराज खड्काले बताए।

उनले भने, ‘हुनत केन्द्रबाटै पनि यस विषयमा छलफल भइरहेको छ तर प्रदेशस्तरबाट पार्टी सभापतिलाई यस विषयमा संवाद र छलफल गर्ने जिम्मा दिने निर्णय भएको छ।’

मुख्यमन्त्री शाहले आफू विश्वासको मत पाउने दाबी गरेका छन्। उनले नागरिक उन्मुक्ति, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र स्वतन्त्र एक सांसदको समर्थन पाउने आशा राखेका छन्।

मुख्यमन्त्री शाहले अर्को हप्ता विश्वासको मत लिने गरी तयारी गरिरहेको उनका सहयोगी राम विष्टले बताए। चाँडै विश्वासको मत लिने गरी छलफल र वार्ता भइरहेको उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.