|

धनगढी : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कैलालीको गेटास्थित सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको अनुगमन गरेका छन्। सोमबार प्रचण्डले विश्वविद्यालयको पछिल्लो अवस्थाको निरीक्षण तथा अनुगमन गरेका हुन्। उनी आज बिहान सुदूरपश्चिमबाट ठूला तथा गौरवका आयोजना अनुगमनका लागि कैलाली पुगेका थिए।

आइतबार मात्रै  मन्त्रिपरिषद्को बैठकले प्रस्तावित गेटा मेडिकल कलेजलाई सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको थियो। त्यसलगत्तै आज प्रधानमन्त्री प्रचण्ड अनुगमनका लागि यहाँ आएका हुन्।

उनीसँगै अनुगमनमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी, मुख्य सचिव शंकरदाश बैरागीलगायत थिए। अनुगमनका क्रममा प्रचण्डले सुदूरपश्चिम जहिल्यै आफ्नो प्राथमिकतामा रहेको बताएका छन्। अनुगमनका क्रममा संचारकर्मीसंग प्रतिक्रिया दिदै यस्तो बताएका हुन्।

'म पहिला पनि यो मेडिकल कलेज स्थापना गर्ने प्रक्रियामा प्रत्यक्ष रुपमा जोडिएको थिए। बिचमा यसको बेस बन्ने क्रममा पनि म अनुगमनमा आएको थिए' प्रचण्डले भने, 'अहिले फेरि म आउँदा चाहिँ खुसीको कुरा छ, अब यहाँ मेडिकल कलेज मात्र होइन हिजो क्याबिनेट बैठकले हामी बसेर सरकारले देशकै पहिलो सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने भनेर निर्णय गरेका छौं। अब यसको प्रक्रिया अगाडि बढीसकेको छ। मैले पहिलोचोटि प्रधानमन्त्री हुँदा पनि सुदूरपश्चिममा केही काम गरे। त्यसपछि पनि सबैभन्दा बढी मैले सुदूरपश्चिमकै अवलोकनहरु गरेको छु। गेटाको यो विश्वविद्यालय सुदूरपश्चिमको मात्र होइन देशकै गौरव हो।'

आफ्नो प्राथमिकता सुदूरपश्चिम रहेको कुरा जनाउँदै  अहिले पनि फेरि सुदूरपश्चिमबाट अनुगमन सुरु भएको उनको भनाई छ। उनले आजै कञ्चनपुरको दोधारा चाँदनीमा निर्माण हुने सुख्खा बन्दरगाहको निरीक्षण पनि गर्ने छन्।

त्यसपछि नेकपा माओवादी केन्द्र कञ्चनपुरले ‘जनयुद्ध दिवस’को अवसरमा आयोजना गर्ने कार्यक्रमलाई प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने छन्।

यस्तै, आजै महेन्द्रनगरको खुलामञ्चमा सुरु हुने १४ औँ सुदूरपश्चिम प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

सरकारले गेटामा आर्थिक वर्ष २०६६र०६७ मा मेडिकल कलेज निर्माण स्थापना गर्न घोषणा गरेको थियो। तर प्रारुपबारे २०६५ देखि नै अन्योलता देखिएको थियो।

गेटामा ७ प्याकेजमा २६ वटा संरचना निर्माण भएका छन्। जहाँ छात्ररछात्रा छात्रावास, चिकित्सक आवास कक्ष, कुरुवा, शवदाह घर, अक्सिजन प्लान्ट र थप ३ सय शैयाको अस्पतालको भौतिक संरचना निर्माण भएका छन्।

साविक डिपिआर अनुसार ८ अर्ब ५० करोड लागत अनुमान गरिएको थियो। यद्यपि सम्पूर्ण निर्माणसहित सञ्चालनको लागि १५ अर्ब लागत अनुमान गरिएको थियो।  २०७७ असारसम्ममा निर्माणको कार्य सम्पन्न गर्ने लक्ष्य लिइएको थियो। भने आव २०७७र०७८ देखि पढाइ सञ्चालन गर्ने सरकारी लक्ष्य थियो। तर त्यो हुन सकेन, अहिले यसलाई विश्वविद्यालय बनाउने निर्णय गरिएको छ।

यहाँ भौतिक संरचना निर्माण कार्य २०७३ सालदेखि अघि बढेको थियो। अब यहाँ मेडिकल विश्वविद्यालय बन्ने भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.