|

इलाम : टर्की र उत्तरपश्चिमी सिरियामा भूकम्पका कारण मृत्यु हुनेको संख्या २९ हजार नाघेको छ। अहिले पनि उद्धार कार्य जारी रहेको छ।

टर्कीमा आइतबार मृत्यु हुनेको संख्या २४,६१७ पुगेको छ भने सिरियामा ४,५०० भन्दा बढीको मृत्यु भएको छ। विभिन्न देशहरुका दातृ निकायहरु टर्की र सिरियामा उद्धारका लागि पुगेका छन्।

चीनले भूकम्प प्रभावित टर्कीलाई सहयोग गर्न ५३ टन टेन्ट पठाएको छ। निकट भविष्यमा थप आपतकालीन सहायताको योजना रहेको राज्य प्रसारक सीसीटीभीले जनाएको छ।

जर्मनीले टर्की र सिरियामा गएको भूकम्पबाट प्रभावित व्यक्तिहरूलाई देशमा रहेका आफन्तहरूसँग अस्थायी रूपमा बस्न अनुमति दिने घोषणा गरेको छ।

कतारले उत्तरपश्चिमी सिरियाको सहायता समूह, ह्वाइट हेल्मेटलाई उनीहरूको भूकम्प खोज र उद्धार कार्यमा सहयोग पु¥याएको कतार फन्ड फर डेभलपमेन्टले जनाएको छ।

 ग्रीसका विदेशमन्त्री दुई नेटो देशहरूबीच लामो समयदेखि चलिरहेको प्रतिद्वन्द्वीका बाबजुद समर्थन प्रदर्शन गर्न टर्की पुगेका छन्।  राज्य सञ्चालित ईआरटी टिभी फुटेजका अनुसार परराष्ट्र मन्त्री निकोस डेन्डियासले भूकम्प प्रभावित क्षेत्रहरूमा हेलिकप्टर चढ्नु आफ्ना टर्की समकक्षी मेभलुट काभुसोग्लुलाई भेटेको अन्तराष्ट्रिय संचारमाध्यम अलजजिरामा समाचार प्रकाशित छ।

विश्वका केही विनाशकारी भूकम्पहरु

दक्षिणी चिलीको भाल्दिभिया शहरलाई लक्षित गरी २२ मे १९६० मा गएको भूकम्पलाई मापन गरिएको अहिलेसम्मकै सबैभन्दा शक्तिशाली भुकम्प मानिन्छ। स्थानीय समयअनुसार दिउँसो ३ बजेर ११ मिनेटमा चिलीको तटबाट लगभग एक सय ६० किलोमिटर टाढा भाल्दिभिया सहरमा गएको भुकम्पलाई ग्रेट चिली भूकम्पको रूपमा चिनिन्छ।

मोमेन्ट म्याग्निच्युड स्केल (एमएमएस) मा ९.५ मापन भएको भूकम्पीय छालहरूमा ऊर्जाको ठूलो मात्रा जारी गर्दै दुई टेकटोनिक प्लेटहरू ३० मिटरभन्दा बढी सर्न पुगे। केवल १० मिनेट भित्रमा सम्पूर्ण शहरहरू भग्नावशेषमा परिणत भएका थिए। भूकम्पपछि विशाल सुनामी आएको थियो ।

करिब ६ हजार जनाको मृत्यु भएको अनुमान गरिएको छ। सुनामीले जापानमा १३० र हवाई आइल्यान्डमा ६० भन्दा बढीको ज्यान लिएको थियो।

चिलीमा गएको भूकम्पबाट अमेरिका मात्रै प्रभावित भए पनि चार वर्षपछि सन् १९६४ को ग्रेट अलास्का भूकम्पलाई रेकड गरिएको दोश्रो शक्तिशाली भुकम्पको रुपमा लिइन्छ। ग्रेट अलास्का भूकम्पलाई गुड फ्राइडे भूकम्प पनि भनिन्छ । अलास्काको प्रिन्स विलियम साउन्ड क्षेत्रमा मार्च २७ शुक्रबार स्थानीय समयअनुसार साँझ साढे पाँच बजे भूकम्प गएको थियो ।  ९.२ म्याग्निच्युडको ग्रेट अलास्का भूकम्पले करिब चार मिनेट चल्दा दक्षिणी र मध्य अलास्काको पूर्वाधारको ठूलो भागलाई ध्वस्त पार्‍यो। अलास्काको राजधानी एन्कोरेजमा ठूलो क्षति पुगेको थियो सम्पूर्ण सडकहरू ध्वस्त भएका थिए।

भूकम्पले चेनेगा गाउँ ध्वस्त भएको थियो । भूकम्पका कारण २७ फुट अग्लो सामुद्रिक लहरसहितको सुनामी आएको थियो । भूकम्प र सुनामीका कारण कुल एक सय ३९ जनाको मृत्यु भएको आँकडा छ । तर, गुड फ्राइडे र धेरै व्यवसाय बन्द भएकाले ज्यान जोगियो। भत्किएका विद्यालयमा बालबालिका पनि थिएनन्।

भूकम्प र सुनामी

सुनामी प्रायः तब हुन्छ जब पृथ्वी तल वा समुद्र नजिकै भूकम्प जान्छ। तिनीहरूले भूकम्पको केन्द्रबिन्दुबाट टाढाको मृत्यु निम्त्याउन सक्छन्।

त्यस्तै प्रकारको भुकम्प ९.१ म्याग्निच्युडको हिन्द महासागरको सुमात्रा–अण्डमान भूकम्पलाई लिइन्छ।  सन् २००४ को २६ डिसेम्बरमा इन्डोनेसियाको पश्चिमी तट सुमात्रालाई केन्द्रबिन्दु बनाएर गएको भुकम्पमा प्रत्यक्ष रुपमा कसैको मृत्यु भएन्।  तर यसले ल्याएको सुनामीबाट दक्षिण र दक्षिणपुर्व एसियाका १४ देश प्रभावित बने। १५ सय किलोमिटर परसम्म फैलिएको यो भूकम्पबाट दुई लाख ४० हजारको मृत्यु भएको थियो।

भूकम्पपछि ३० मिटर (१०० फिट) अग्लो छालसहित सुनामी आएको थियो । यसको ऊर्जा हिरोसिमा आणविक बमको १५ सय गुणाबराबर थियो ।

सन् २०११ मा जापानको तोहोकु क्षेत्रमा भूकम्पले ४०.५ मिटर (१३३ फिट) उचाइसम्मका छालहरूसहित ठूलो सुनामी निम्त्यायो । छालहरूले ६ माइलसम्म भित्री यात्रा गरेको थियो भने उत्तर–पूर्वी जापानमा व्यापक भौतिक क्षति गरेको थियो । सन् १९८६ को चेर्नोबिल दुर्घटनापछि सबैभन्दा खराब आणविक प्रकोपको रुपमा तोहोकु भुकम्पलाई लिइन्छ। ९.१ म्याग्निच्युट मापन गरिएको भुकम्पले प्रशान्त तटमा ५ सय वर्गकिलोमिटर क्षेत्रमा शक्तिशाली सुनामी छाल ल्याएको थियो। लगभग २२ हजार मानिसहरु मारिए भने ४ लाख भवनहरु ध्वस्त भएका थिए। फुकुशिमाको आणविक उर्जा केन्द्रमा १४ मिटर अग्लो छालले तीनवटा रिएक्टरमा पग्लिएर रेडियोएक्टिभ डिस्चार्ज भएको थियो। जसले गर्दा धेरै देशहरूले आणविक उर्जासँगको आफ्नो सम्बन्धलाई परिमार्जन गरेका थिए।

चीनमा शक्तिशाली भूकम्प

२३ जनवरी १५५६ मा मध्य चीनको शान्सी प्रान्तमा भूकम्प गएको थियो। ८ म्याग्निच्युट मापन गरिएको भुकम्पबाट लगभग ८ लाख ३० हजार मानिसहरु मारिए वा घाइते अनुमान गरिएको छ। यो ठूलो मृत्युको संख्याले दुई प्रदेशको जनसंख्या करिब ६० प्रतिशतले घटाएको मानिन्छ। स्थानीय इतिहासले (जसको मिति ११७० इसा पूर्व) भूकम्पको केन्द्रबिन्दु शानसीको ह्वाक्सियान वरपर राख्छ।

यस प्रान्तमा २६ अन्य विनाशकारी भूकम्पहरू रेकर्ड गर्ने इतिहासले सन् १५५६ को भूकम्पबाट भएको विनाशलाई स्पष्ट विवरणमा वर्णन गर्दछ जुन यी अभिलेखहरूमध्ये अद्वितीय छ। भूकम्प केही सेकेन्ड मात्रै टिकेता पनि यसले पहाडलाई समतल बनायो, नदीको बाटो परिवर्तन गर्‍यो, ठूलो बाढी निम्त्यायो। स्थानीय अभिलेखहरूले भूकम्पका कारणहरूका लागि प्रेरणादायी खोजको अतिरिक्त भूकम्पले प्रभावित क्षेत्रका मानिसहरूलाई त्यस्ता विनाशकारी प्राकृतिक प्रकोपहरूबाट हुने क्षतिलाई न्यूनीकरण गर्ने उपायहरू खोज्न प्रेरित गरेको देखाउँछ।

भूकम्पमा परी ज्यान गुमाउनेमा धेरै भवनहरू ढलेका क्षेत्रका मानिसहरू थिए। यसरी, १५५६ को भूकम्प पछि, धेरै ढुङ्गाका भवनहरूको सट्टा बाँस र काठ जस्ता नरम, अधिक भूकम्प प्रतिरोधी सामग्रीहरूबाट बनेका भवनहरू बनाइएको थियो। शान्सी भूकम्प तीन प्रमुख फल्ट (चट्टानको दुई खण्डहरू बीचको फ्रयाक्चर क्षेत्र) सँग सम्बन्धित छ, जसले वेई नदी बेसिनको सिमाना बनाउँछ। इतिहासमा रेकर्ड गरिएका २६ भूकम्पको केन्द्रबिन्दु यस बेसिनमा थियो।

सम्भवतः रेकर्ड गरिएको इतिहासमा दोस्रो सबैभन्दा घातक भूकम्प र विगत १०० वर्षको सबैभन्दा खराब भुकम्प पनि चीनमा नै निम्त्यिो। २८ जुलाई १९७६ मा स्थानीय समय अनुसार ३ः४२ बजे ७.१ म्याग्निच्युडको भूकम्पले आज ७ मिलियन भन्दा बढी जनसंख्या भएको ताङ्शान शहरलाई लगभग ध्वस्त पारेको थियो।

भूकम्पको केन्द्र ताङ्शानबाट १५ किलोमिटर दक्षिणपश्चिममा थियो तर भूकम्पको धक्का बेइजिङबाट १४० किलोमिटर टाढा महसुस गरिएको थियो। सबै दिशामा ६८० माइल (१,१०० किलोमिटर) भन्दा बढी पर कम्पन महसुस गरिएको थियो। त्यसै दिन पछि, उत्तरपूर्वमा झन्डै ४३ माइल (७० किलोमिटर) लुआन्क्सियान सहरमा ठूलो पराकम्पन (७.१ म्याग्निच्युड) थियो।

 त्यसबाट पचास लाख भन्दा बढी घरहरू बस्न योग्य थिएनन्। हजारौ मानिसहरू भुकम्पमा  ज्यान गुमाए। यद्यपि अधिकारीहरूले २ लाख ४२ हजारको मृत्युहरू दर्ता गरे पनि, वास्तविक मृत्युको संख्या ६ लाख ५० हजार अनुमान गरिएको छ।

सन् १९२० को दशकमा पूर्वी एसियामा आएको भूकम्पको शृङ्खलाको सबैभन्दा नराम्रो भूकम्प चीनमा पनि भएको थियो। १६ डिसेम्बर १९२० को ७.८ म्याग्निच्युडको हाइयुवान भूकम्प थियो। भुकम्प तथा पहिरो कारण भोकमरी र जाडोको जोखिमबाट मृत्यु हुनेको संख्या उच्च थियो।

संयुक्त राज्य भूगर्भ सर्वेक्षण (युएसजिएस) ले २ लाख मानिसले ज्यान गुमाएको तथ्यांकलाई अघि सारेको थियो। तर सन् २०१० को चिनियाँ अध्ययनले २ लाख ७३ हजार मानिसहरूको मृत्यु भएको अनुमान गरेको छ। कम जनघनत्व भएको क्षेत्रमा हाइयुवान काउन्टीका झण्डै आधा बासिन्दाको मृत्यु भएको बताइएको छ।

अन्तर्राष्ट्रिय राहत सहायता

नेपाल सरकारले टर्कीका भूकम्पपीडितका लागि औषधि, चिकित्सा उपकरण, न्यानो कपडा र अन्य आधारभूत सामग्री राहतस्वरुप पठाएको छ। भूकम्पपीडितका लागि २२ टनभन्दा बढी राहत सामग्रीको पहिलो खेप सोमबार टर्कीस एयरलाइन्सबाट टर्की पठाइएको हो।

यही माघ २३ गते (६ फेब्रुअरी)मा टर्कीमा गएको विनाशकारी भूकम्पपछि राहत तथा पुनःस्थापनामा ऐक्यबद्धता जनाउँदै राहत सामग्री पठाउने निर्णय सरकारले गरेको थियो। 

सिरिया र टर्कीमा जस्तै आजकल भूकम्प आएपछि अन्तर्राष्ट्रिय राहत संस्थाहरू तुरुन्तै परिचालन हुन्छन्। यो क्रम २०१० मा पनि भएको थियो जब १२ जनवरीमा स्थानीय समय अनुसार ४:५३ बजे हाइटीमा भूकम्प गएको थियो।

७ रेक्टर स्केलको भुकम्प शताब्दीको सबैभन्दा शक्तिशाली भूकम्प थिएन, तर यसको विनाशकारी हिसाबले यो सबैभन्दा खराब थियो। पश्चिमी गोलार्धको सबैभन्दा गरिब देश हाइटी अर्को प्राकृतिक प्रकोपको लागि तयार थिएन। केही क्षेत्रहरूमा ९० प्रतिशत घरहरू ध्वस्त भएका थिए। 

अझै पनि हताहतको यकिन तथ्याङ्क छैन, तर अन्तर्राष्ट्रिय संस्थाहरूले पीडितहरूको संख्या २ लाख देखि र ५ लाख  बीचमा रहेको अनुमान गरेका छन्।

(अन्तराष्ट्रिय संचारमाध्यमको सहयोगमा भावानुवाद)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.