|

हेटौंडा : लामो समयदेखि आर्थिक समस्याग्रस्त बनेको सरकारी स्वामित्वको हेटौंडा सिमेन्टको उत्पादन फेरि बन्द भएको छ। कोइला अभाव भएपछि उद्योगको सिमेन्ट उत्पादन रोकिएको हो।

यसअघि पनि कोइला अभावकै कारण ३ महिना उद्योगको सिमेन्ट उत्पादन रोकिएको थियो। करिब २० दिनदेखि उद्योगले सिमेन्ट उत्पादन गर्न सकेको छैन। उद्योग सञ्चालनको लागि कोइला अभाव भएकोले उत्पादन रोकिएको उद्योगका महाप्रबन्धक वसन्त पाण्डे बताउँछन्।

पाण्डेका अनुसार आर्थिक अभावका कारण उद्योगले समयमा कोइला आपूर्ति गर्न नसक्दा सिमेन्ट उत्पादन रोकिएको छ। हाल उद्योगले विभिन्न देशबाट कोइला आपूर्तिको पहल गरिरहेको भए पनि कोइला खरिद गर्ने रकम उद्योगसँग नभएको पाण्डेको भनाई छ।

उद्योगले यसअघि कोइला खरिद गरेको करिब २० करोड रूपैयाँ अझै तिर्न सकेको छैन। यसले गर्दा कोइला आपूर्ति हुन नसकेको पाण्डेले बताए। करिब २० दिनदेखि बन्द भएको उद्योगले हालसम्म १५ सय टन कोइला संकलन गरेको छ। उद्योगलाई उत्पादन शुरु गर्न दैनिक १ सय २५ टन कोइला आवश्यक पर्छ।

२ हजार टन कोइला संकलन भएपछि उद्योगको उत्पादन फेरि शुरु गर्ने पाण्डे बताउँछन् तर त्यसपछि उद्योगलाई निरन्तर सञ्चालन गर्न पनि ठूलो बजेट आवश्यक पर्ने उनको भनाई छ।

‘तत्कालका लागि हामी करिब २ हजार टन कोइला संकलन भएपछि उद्योग सञ्चालन गर्ने तयारीमा छौँ तर हामीले कोइला आपूर्तिकर्तालाई पुरानो पैसा तिर्न नसकेको हुँदा त्यसपछि कोइला आपूर्तिमा पुनः समस्या देखिन सक्छ। त्यसैले उद्योग निरन्तर सञ्चालन गर्न ठूलो रकमको आवश्यकता छ’, उनले भने।

पाण्डेका अनुसार उद्योगले भारत र इण्डोनेसियालगायत देशबाट कोइला ल्याउने गरेको बताए तर कोइला उपलब्ध गराउनेलाई उद्योगले कोइला किनेको पैसा दिन नसकेपछि कोइला आपूर्ति हुन नसकेको हो।

उद्योगले ४ वर्षमा करिब ८० करोड रूपैयाँ घाटा बेहोरेको छ। उत्पादनमा गिरावट र उत्पादित सिमेन्ट पनि बिक्री नहुने समस्याले उद्योग निरन्तर घाटामा छ।

गत आव ०७८/७९ मा मात्रै उद्योगले करिब साढे २३ करोड रूपैयाँ बराबर घाटा बेहोरेको महाप्रबन्धक पाण्डेले जानकारी दिए। गत आवमा १ अर्ब २२ करोड आम्दानी गरेको उद्योगले १ अर्ब ३९ करोड खर्च गरेको छ।

उद्योगले आव ०७४/७५ मा १६ करोड ३६ लाख नाफा कमाएको थियो। त्यसयता उद्योग निरन्तर घाटामा छ।

आव ०७५/७६ मा उद्योगले १ करोड ५ लाख, आव ०७६्/७७ मा २३ करोड ८२ लाख, आव ०७७/७८ मा थप १७ करोड ४ लाख नोक्सान बेहोरेको उद्योगले जनाएको छ।

उद्योगमा गत आव ०७८/७९ मै उत्पादन भएको सिमेन्टसमेत बिक्री नभएर थन्किएको छ। उनले निजी उद्योगहरूले सिमेन्टको मूल्य घटाएपछि हेटौंडा सिमेन्ट बिक्री हुन नसकेको बताए।

रोप–वे लिलाम गर्दै उद्योग

आर्थिक अभावको दलदलबाट निस्किन नसकेपछि उद्योगले रोप–वे लिलामी गर्ने तयारी गरेको छ।

हाल साढे ६ सय टन रोप–वे को कबाडी लिलामीको लागि उद्योगले सूचना प्रकाशन गरिसकेको छ। ३ चरणमा लिलामी गर्ने तयारी गरेको उद्योगले बुधबारसम्म समय दिएको छ।

महाप्रबन्धक पाण्डेका अनुसार उद्योगले लिलामीको लागि बुधबार दिउँसो १२ बजेसम्मको समय दिएको छ। सोही दिन दिउँसो ३ बजे उद्योगले लिलामी खुल्ला गर्ने पाण्डेले बताए।

‘उद्योगको आर्थिक समस्या टार्न हामीले रोप–वे लिलाम गर्न लागेका छौँ। बुधबार दिउँसो ३ बजे हामी लिलाम खुल्ला गर्छौं’, उनले भने। उद्योगले यसअघि पनि कैयौंपटक रोप–वे लिलाम गर्न खोजे पनि बिक्री हुन सकेको थिएन।

भैंसेखानीबाट चुनढुङ्गा बोक्न प्रयोग हुँदै आएको रोप-वे उपकरण २०६१ सालयता बन्द अवस्था छ। रोप-वेको टावर, तार, तथा बस्तीमाथि झुन्डिएका डब्बाले दुर्घटनाको जोखिमसमेत बढेको छ।

पटक–पटक बोलपत्र आह्वान गर्दा पनि खरिदकर्ता नआएपछि उद्योगले लिलामी दर पनि घटाउँदै आएको थियो। करिब ८ वर्षअघि पहिलोपटक जारी गरेको सूचनामा रोप-वे र जगेडा पाटपुर्जाका लागि मूल्यअभिवृद्धि करबाहेक न्यूनतम मूल्य ६ करोड १६ लाख ५३ हजार ३ सय ५२ रूपैयाँ कायम गरेको थियो।

खरिदकर्ताको अनिच्छापछि उद्योगले दोस्रोपटक ४ करोड ६१ लाखमा झारेको थियो। पछिल्लोपटक करिब ४ वर्षअघि उद्योगले मूल्य घटाएर २ करोड ८० लाख कायम गरे पनि कुनै बोलपत्र परेको थिएन। यो पटक उद्योगले लिलाम रकम गोप्य राखेको जनाएको छ।

उद्योगले भैंसेदेखि उद्योगसम्म प्रयोगमा नरहेको ११ किलोमिटर रोप-वेको सिस्टम तथा भण्डारणमा रहेको जगेडा पाटपुर्जा बिक्रीका लागि प्रक्रिया सुरु गरेको थियो।

उद्योगले आफ्नो उत्पादन सुरुवातसँगै २०४३ सालबाट भैंसेस्थित खानीबाट लामसुरेस्थित कारखानासम्म चुनढुङ्गा ढुवानी गर्न सञ्चालनमा ल्याइएको रोप-वे २०६१ सालदेखि बन्द छ।

२०६० सालमा आएको बाढीपहिरोले भैंसे त्रिखण्डीनजिकको टावरमा क्षति पुगेपछि रोप-वे बन्द भएको थियो। करिब ८ करोडको लगानीमा निर्माण भएको रोप-वेको आर्थिक भार थेग्न नसकेपछि रोप-वे बन्द गर्नुपरेको उद्योगले जनाएको छ।

८ करोडमा स्थापना गरेको रोप-वे मर्मतमै करोडौं खर्च हुने भएपछि बिक्री गरेर आर्थिक समस्या टार्ने विकल्प सोचेको हो। २०४३ सालबाट २ दशकसम्म भैंसे खानीबाट चुनढुङा ढुवानी गरेको रोप-वे बाढीले भत्काएपछि सञ्चालन हुन सकेको थिएन।

प्रतिघन्टा ३ सय मेट्रिक टन चुनढुङ्गा ढुवानी गर्ने क्षमता रहेको रोप-वेको सुरुमा १ सय ६५ वटा वकेट (क्यारियर) रहेकोमा बिग्रिएर झर्दै गएपछि १ सय ४० जति बाँकी रहेको उद्योगले जनाएको छ।

उद्योगले मूल्य घटाउँदा पनि सिमेन्ट बिक्री हुन सकेको छैन। ४ वर्षदेखि निरन्तर घाटामा चलिरहेको उद्योगले निजी सिमेन्ट उद्योगसँग प्रतिस्पर्धा गर्न भन्दै प्रति बोरा सिमेन्टको मोल ४० रूपैयाँ घटाउँदा पनि बिक्री नभएको हो।

मूल्य घटाए पनि सिमेन्टको बिक्री अपेक्षाकृत रूपमा नभएको महाप्रबन्धक पाण्डेले बताए। करिब ९ सय रूपैयाँ लागतमा सिमेन्ट उत्पादन गर्ने उद्योगले ७४७ रूपैयाँ प्रति बोरा सिमेन्ट बिक्री गर्दै आएको थियो।

तर सिमेन्ट बिक्री नभएपछि उद्योगले प्रतिबोरा ४० रूपैयाँ भाउ घटाएको थियो। उद्योगले बोरामा २०० रूपैयाँको हाराहारीमा घाटा बेहोरिरहेको पाण्डेले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.