|

विराटनगर :  ‘अहिले एकअर्काको सारथी छौँ, कुन दिन एक्लो हुने हो थाहा छैन।’  ६९ वर्षीया शकुन्तला उप्रेती श्रीमान्  ७४ वर्षीय लिलाप्रसाद उप्रेतीतर्फ  हेर्दै सुनाउँछिन्।  

पाँच दशकअघि एकबाट दुई भएर सहयात्रा गरिरहेका उप्रेती दम्पतीका लागि प्रेम व्यक्त गर्न  कुनै विशेष दिन या अवसरको खाँचो पर्दैैन। उनीहरूका लागि हरेक दिन प्रेममय हुने दुवै सुनाउँछन्।

त्यसो त विवाह अगाडि उनीहरू एकअर्काको गहिरो प्रेममा परेका पनि होइनन्। परिचित पनि थिएनन्। आफन्तको माध्यमबाट विवाहको प्रस्ताव आएसँगै  जोडी बाँधिएका उनीहरू विवाहको दिनसम्म पनि अपरिचित थिए। 

विराटनगरका लिलाप्रसाद र धरानकी शकुन्तला विवाह बन्धनमा बाँधिदै गर्दा  परिवारको भरोसा र विश्वासमा जीवनको लामो बाटोमा एकअर्कालाई साथ दिने निर्णयमा पुगेका थिए। 

‘त्यो वेला परिवारको निर्णय मान्नुपर्ने जमाना थियो। मेरो भदा र उहाँको दाजु साथी भएकाले उहाँको दाजुले हेरेर घरमा कुरा चलाउनुभएको थियो,’ उनले सुनाइन्, ‘अहिलेको जस्तो मन पराएर वा हेरेर विवाह गर्ने चलन थिएन। परिवारको निर्णय अनुसार ३० सालमा हामी एकबाट दुई भयाैँ।’ पाँच दशकअघि अपरिचितबाट सुरु भएको उनीहरूको दाम्पत्य जीवन अहिले  एकअर्कामा खुशी खोज्ने माध्यम बनेको छ।’

सुखदुखमा  झाँगिदै गरेको प्रेम र सम्बन्धको यात्राले  ५० औँ वसन्त पार गरिसक्दा पनि यात्रा अवधिमा रुखो र बिर्सन नसक्ने कुनै क्षण नभएको सुनाउँछन्।​

सम्बन्धलाई बुझ्न सके सधैँ प्रेमको अनुभूति गर्न सकिने बताउने उप्रेती दम्पतीका लागि आजभोलिको ‘भ्यालेन्टाइन डे’बारे पत्तो  नभएको बताउँछन्। एकदिन मनाइने भ्यालेन्टाइन डे भन्दा दशकौँदेखि .फरक तरिकाले साथ र माया दिँदै आएको सम्बन्धको स्वाद नै महत्त्वपूर्ण लाग्छ उनीहरूलाई।

‘हामीलाई भ्यालेन्टाइन डे भन्ने नै थाहा थिएन। त्यो वेला यस्तो चलन पनि थिएन,’हाँस्दै उप्रती दम्पती सुनाउँछन्, ‘एकदिनको भ्यालेन्टाइन डे भन्दा ५० वर्ष देखि एकअर्कालाई आफ्नै तरिकाले  गरेको प्रेम र साथ धेरै महत्त्वपूर्ण लाग्छ।’

उनीहरूका एक छोरा र एक छोरी छन्। तर, दुवैजना साथमा छैनन्। छोरी विवाह गरेर इटहरीमा छिन् भने छोराबुहारी नातिनी अमेरिकामा  बस्छन्। त्यसो त उप्रेती दम्पतीलाई  छोराछोरी दुवैले दुईजना मात्रै विराटनगर नबस्नु भनेर  कर नगरेका पनि होइनन्। तर, एक-अर्का साथ रहुञ्जेल दुईजना स्वतन्त्र भएर बस्ने निधो गरेपछि छोराछोरीले पनि आफूहरूको निर्णय स्वीकार गरेको  उप्रेती दम्पती बताँछन।

‘छोराछोरी दुवैले अमेरिका बस्नु, छोरीले म सँग बस्नु भन्छन्, तर हामी जबसम्म साथमा छौँ। स्वतन्त्र भएर दुई जनालाई बस्नु दिनु भनेका छौँ,’एकै स्वरमा उनीहरू भन्छन्,‘छोराछोरीले धेरै माया गर्छन्। हाम्रो निर्णय अनुसार यहाँ छोडेका छन्। अमेरिका आउने-जाने गरिरहन्छौँ।’  

जीवनमा सुखदुखका थुप्रै जंघार तरेका उप्रेती दम्पती सम्बन्धलाई जीवन्त राख्न एकअर्कालाई बुझ्न जरुरी रहेको बताउँछन्। एकअर्काको कमीकमजोरी स्वीकार्दै साथ दिन सके सम्बन्धले बाटो मोड्न जरुरी नहुने बताउँछन्।

‘हामीले विवाह भएदेखि यता एक अर्काको कमी कमजोरी बुझ्दै अघि बढेका छौँ’, लिलाप्रसाद भन्छन्,‘मैले उनको कमजोरीलाई ठूलो रूप दिएको छैन, उनले मेरो कमी कमजोरीलाई दुवै मिलेर समस्यालाई सुल्झाउने गर्छाैँ। यसरी नै सम्बन्ध अगाडि बढेको छ।’

प्रेमले  जिउने हिम्मत दियो

१० वर्षदेखि स्तन क्यान्सरबाट ग्रसित रहेकी शकुन्तला माया, प्रेम र साथले  रोगसँग लड्ने हिम्मत  दिएको बताउँछिन्।  

आफूलाई क्यान्सर भएको थाहा हुँदै गर्दा सबैभन्दा पहिले आफूले आफैँलाई प्रेम गर्न सुरु गरेको उनले सुनाइन्। आफ्नो  शरीरको माया गर्दै  श्रीमान र सन्तानका लागि भए पनि बाच्नुपर्छ भन्ने लागेर क्यान्सरसँग लड्दै  जिन्दगी बाँचिरहेको बताउँछिन्।  

‘म १० वर्षदेखि स्तन क्यान्सरसँग लडिरेहकी छु। मैले यो रोगसँग लड्न आफैँलाई प्रेम गर्न सुरु गरेँ,’ उनले सुनाइन्,‘अनि श्रीमान् र छोराछोरीको लागि बाँच्नुपर्छ भन्ने लाग्यो।  म केही भए छोराछोरी टुहुरो हुन्छ। श्रीमान् एक्लो हुन्छ भन्ने लागेर नै रोगसँग लड्दै बाँचिरहेकी छु। भनौँ, म मायाको लागि र मायाले बाँचेकी छु।’  

त्यसो त जिन्दगी एक भोगाइको सिंगो किताब रहेको बताउने उनीहरू जीवन जसरी बाँच्न चाह्यो उसैगरी बाँच्न सकिने अनुभव सुनाउँछन्।

 प्रेम के रहेछ ? भन्ने प्रश्नमा अरुसँग भन्दा पनि श्रीमान् श्रीमतीको प्रेम सम्बन्ध समझदारी रहेको बताउँछन्। समझदारी र बुझाइ भए प्रेमले एउटा सफल गन्तव्यमा पुग्ने सुनाउँछन्।

उप्रेती दम्पतीको प्रेम सम्बन्ध सञ्जिवनी र कुमार सानुको स्वरमा रहेको ‘पुरानो हुँदैन माया, जुनी जुनी लाए पनि’  भन्ने गीतसँग मेल खान्छ। दैनिक देख्ने छिमेकी उनीहरू झगडा गरेको र नमिलेको अहिलेसम्म थाहा नपाएको बताउँछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.