|

सुर्खेत : रुकुम पश्चिम आठबीसकोट बटालागाउँकी ५९ वर्षीया समिता बटालाको बिहे १४ वर्षको उमेरमा भयो। बाबाआमाको अगाडि जिद्दी गरेर माग पूरा गराउने उमेरमा बिहे गराएपछि उनलाई अहिले त्यो बिहे सम्झदा अचम्म लाग्छ।

फुपूको घरमा जाने भन्दै गोतामकोट लिएर उतै छाडेर आएका उनका बाबालाई मात्र छोरीको बिहे गरिदिएको थाहा थियो तर बिहे गर्ने व्यक्तिलाई थाहा नै नपाएको बटाला बताउँछिन्।

गोतामकोट जाँदा फुपुको घरमा एकदुई दिनमा जानुपर्छ अहिले मितबाको घरमा बस भन्दै बाबाले आफूलाई छोडेको विगत सम्झँदै बटालाले भनिन्, ‘दुई दिनपछि बाबा आएपछि फुपूको घरमा जाऊँला भनेर आश मानेर बसेकी थिएँ तर बाबा महिना दिनसम्म नआउँदा धेरै रोएँ, सासूले तिम्रो त जेठासँग बिहे भयो अब नरोऊ। तिम्रो घर यही हो भन्दै सम्झाउनु भएको थियो।’

सो समयमा न त प्रेम थाहा थियो न त बिहे गरेको नै थाहा हुने गरेको उनले बताइन्। बटालाका अहिले ५ छोराछोरी छन्। १५ वर्षकै उमेरमा उनले बच्चा जन्माएकी थिइन्।

‘अहिले नातिले प्रेम दिवसको कुरा सुनाउँदा अचम्म लाग्छ’, उनले भनिन्। बटालाका अनुसार आफ्नो गाउँबाट उमेर नपुग्दै घरपरिवारको सल्लाहमा घाँस , दाउरा र पानी घट्ट गएका केटीहरूको उतैबाट थुतेर बिहे भएको धेरै छ। केटाको अनुहारै नदेखी थुतेर घरमा लिई जबरजस्ती बिहे भएका धेरै घटना छन्।

केटाको घरमा लगेपछि फर्केर आउँदा इज्जत जान्छ भन्ने सामाजिक बन्धनका कारण राम्रो नै नमानेको केटासँग बिहे भए पनि उसैको घरमा बस्नुपर्ने बाध्यता थियो। ‘अहिलेको जस्तो मोबाइल, फेसबुक केही पनि थिएन’, जाजरकोट नलगाड नगरपालिका–८ की पवित्रा खत्रीले भनिन्।

आफ्नो बिहे पनि खेतमा पानी लगाएर फर्कँदै गर्दा २०४४ साल कात्तिक ६ गते थुतेर भएको उनले बताइन्। आफूभन्दा ७ वर्ष जेठो व्यक्तिसँग बिहे गराउन १४ जना तन्नेरीहरू आएर बाटोबाटै उठाएर लिएको उनी सम्झिन्छन्।

‘म १४ वर्षकी थिएँ, पूरै कराउँदा कराउँदै राति उठाएर लगे।  गाउँको एक घरमा लिएर बन्द कोठामा राखे। केही बोल्नबित्तिकै केटाले कुट्थे। १३ दिनसम्म एक घरको बन्द कोठामा राखेर माइती पक्षलाई खबर गरिएको थियो’, अपहरण शैलीमा भएको उक्त सम्झँदै उनले भनिन्।

केटी पक्षलाई खोज्न र सन्देश पठाउन कटुवाललाई पठाउने चलन रहेको उनले जानकारी दिइन्।

‘अहिले जस्तो प्रहरी, फोनको जमाना कहाँ हुनु र बाबै?’, उनले भनिन्। त्यतिवेला न्याय निसाफ दिने भनेकै गाउँकै मुखिया थिए डोल्पा त्रिपुरासुन्दरी-५ की सीता बुढाले बताइन्।

धनी व्यक्ति, फुपूका छोरा, धेरै ठूलो घर भएको व्यक्तिका छोरासँग बिहे गराउने चलनसमेत बढी रहेको विगत सम्झिन्छिन बुढा। अहिले नाति पुस्ताले अनेक थरी कुरा गर्दा आफूहरू अचम्ममा पर्ने गरेको उनी सुनाउँछिन्।

अहिले मायाप्रेमका कुरा गर्दा आफू आश्चर्यमा पर्ने उनले बताइन्। अहिले प्रेम सप्ताह चलिरहेको छ। आज भ्यालेन्टाइन डे रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.