|

हेटौंडा : बागमती प्रदेश सरकारले ७० अंक ल्याए सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल पास हुने व्यवस्था मंगलवारदेखि लागू गरेको छ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले भक्तपुरमा रहेको यातायात व्यवस्था कार्यालयमा ७० अंक ल्याए सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल पास हुने व्यवस्थाको आरम्भ गरेका हुन्।​

त्यसैगरी बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठले सतुंगलस्थित ट्रायल सेण्टर ठूलो भर्‍याङ कार्यालयबाट सेवा शुभारम्भ गरे। योसँगै अबदेखि लिखित तथा ट्रायल परीक्षा ‘सवारीचालक अनुमतिपत्र परीक्षा सञ्चालन निर्देशिका २०७७’ अनुसार सञ्चालन हुनेछ।

फागुन १ गते सबै कार्यालयबाट सेवा सञ्चालन गर्ने भनिए पनि सार्वजनिक बिदा परेकाले मंगलवारबाट सेवा शुरु गरिएको लागेको श्रम, रोजगार तथा यातायात मन्त्रालयले जनाएको छ।

मंगलबारदेखि चावहिल, राधेराधे, ठूलो भर्‍याङ र हेटौँडास्थित कार्यालयबाट ७० अंक ल्याए ट्रायल पास हुने प्रणाली लागू भएको छ। एकान्तकुनामा केही व्यवस्थापकीय कार्य पूरा नभएकाले केही दिन पछिमात्र यो व्यवस्था बमोजिम ट्रायल परीक्षा शुरु गरिने जनाइएको छ।

यसअघि प्रदेशका तत्कालीन श्रम,रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले ३ पटकसम्म लागू गर्न खोजेपछि तत्कालीन मुख्यमन्त्री राजेन्द्र पाण्डेले रोकेका थिए। प्रदेशको वर्तमान श्रम, रोजगार तथा यातायातमन्त्री श्रेष्ठले मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै यो प्रणाली लागू गर्न तदारुकता देखाएका थिए। उनकै पहलमा मंगलबारदेखि प्रदेशभर यो प्रणाली लागू भएको छ।

यो प्रणालीमा मोटरसाइकल, स्कुटर तथा मोपेडका लागि कुल अंकभार १०० तोकिएको छ। त्यसमा ७० अंक प्राप्त गर्ने प्रशिक्षार्थी अनुमतिपत्रका लागि योग्य मानिनेछन्। प्रदेश सरकारले तयार पारेको निर्देशिकाअनुसार मोटरसाइकल, स्कुटर र मोपेड चालकका लागि घुमाउरो ८ (एट आकार) को अंकभार २० तोकिएको छ। दुईपटकसम्म अंकित रेखा छोएमा प्रत्येकपटक ५ अंकको दरले १० अंकभार घट्नेछ तर ट्रायल फेल भइँदैन। दुईपटकभन्दा बढी उक्त रेखा छोएमा, सवारीको टायर अंकित रेखाभन्दा बाहिर गएमा, एक पटकभन्दा धेरैपटक खुट्टाले भुईं टेके, ठीक दिशाबाट वा ठीक तरिकाबाट ८ आकार नबनाए वा सवारीको स्टार्ट बन्द भएको अवस्थामा भने अनुत्तीर्ण भएको घोषणा गरिने व्यवस्था गरिएको छ।

साँघुरो फलेकको अंकभार १० तोकिएको छ। साँघुरो फलेकमा खुट्टाले भुईंमा टेकेमा, फलेकको लम्बाइ पार गर्नुअगावै फलेकबाहिर निस्के पनि अनुत्तीर्ण हुनेछन्। निर्देशिकामा यु–टर्नको अंकभार १० तोकिएको छ। टर्निङ लाइट नबालेको खण्डमा १० अंक घटाइनेछ। त्यस्तो अवस्थामा पनि अंकित रेखा छोए भने अनुत्तीर्ण हुनेछन्।

ट्राफिक संकेतका लागि १५ अंकभार तोकिएको छ। ट्राफिक संकेत पालना नगरेको खण्डमा १५ अंक घटाइनेछ। निर्देशिकामा उबडखाबडको अंकभार १५ तोकिएको छ। एकपटकसम्म सवारीको स्टार्ट बन्द भएको खण्डमा ५ अंकभार घटाइनेछ। एकपटकभन्दा बढी स्टार्ट बन्द भयो भने प्रयोगात्मक परीक्षा दिने अनुत्तीर्ण हुनेछन्। त्यसैगरी उकालो (र्‍याप) को अंकभार २० तोकिएको छ।

त्यसैगरी परीक्षार्थीको व्यवहारगत पक्षको समग्र मूल्यांकनलाई १० अंकभार तोकिएको छ। कार, जिप, डेलिभरी भ्यानको प्रयोगात्मक परीक्षाको कुल अंकभार १ सय तोकिएको छ। जसमा ७० प्रतिशत ल्याएको खण्डमा प्रशिक्षार्थी उत्तीर्ण भएको मानिनेछ। निर्देशिकाअनुसार कार, जिप, डेलिभरी भ्यानको प्रयोगात्मक परीक्षामा घुमाउरो ८ (एट) को अंकभार २० तोकिएको छ।

दुईपटकसम्म अंकित रेखा छोए प्रत्येक पटक ५ अंकको दरले १० अंकभार घट्नेछ तर ट्रायल फेल भइँदैन। दुईपटकभन्दा बढी अंकित रेखा छोए, सवारीको टायर अंकित रेखाभन्दा बाहिर गए, ठीक दिशाबाट वा ठीक तरिकाबाट ८ आकार नबनाएकोमा वा सवारीको स्टार्ट बन्द भएको अवस्थामा भने अनुत्तीर्ण हुने व्यवस्था गरिएको छ।

निर्देशिकामा ट्राफिक संकेतको अंकभार १५ तोकिएको छ। पालना नगरे १५ अंक घट्ने प्रावधान राखिएको छ। त्यसैगरी यु–टर्नको अंकभार १० तोकिएको छ। टर्निङ इन्डिकेटर लाइट नबालेको खण्डमा १० अंकभार घटाइनेछ। अंकित रेखा छोएको खण्डमा भने प्रशिक्षार्थी अनुत्तीर्ण हुनेछन्।

चारपांग्रे सवारीचालकलाई र्‍याम (उकालो)का लागि अंकभार १५ तोकिएको छ। तोकिएको रेखा नाघी सवारी रोकेमा वा सवारी अगाडि बढेमा, रोकिएको अवस्थामा सवारीसाधन अगाडि बढाउँदा सवारीको पछाडिको टायर ६ इन्चभन्दा पछाडि सरेमा, उकालो पार गरी ओरालोबाट झर्ने क्रममा तोकिएको सीमा नाघी सवारी रोकेमा वा एकपटकभन्दा धेरै सवारी स्टार्ट बन्द भएमा अनुत्तीर्ण हुनेछ। ग्यारेज पार्किङको अंकभार १० तोकिएको छ।

त्यसैगरी परीक्षार्थीको व्यवहारगत पक्षको समग्र मूल्यांकनलाई १० अंकभार तोकिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.