|

इलाम : हिमाली क्षेत्रको ‘सुरक्षा गार्ड’ को उपमा पाएको तिब्बतियन मास्टिफ कुकुरको व्यावसायिक रुपमा बिक्री सुरू भएको छ। लडाइँमा​ जंगली चितुवालाई समेत जित्ने यो कुकुरको छाउराको मूल्य नेपाली १ लाखभन्दा बढीमा खरिद बिक्री हुन थालेको हो।

हिमाली जीवनशैलीमा मात्रै फस्टाउने तिब्बतियन मास्टिफ कुकुरको प्रजाति लोपै हुन थालेको थियो। सय वर्षअघि चौंरी गोठ सर्ने क्रममा चीनको तिब्बतबाट नेपाल भित्रिएको तिब्बतियन मास्टिफ कुकुर नेपालमा पछिल्ला दिनमा भेट्न गाह्रो पर्थ्यो।

तिब्बतियन मास्टिफ कुकुर ताप्लेजुङको तोक्पेगोला र घुन्सामा मात्रै पाइने गरेको थियो। इलाम र पाँचथरबाट लोप भएको यो कुकुर चौंरी, भेडाको बथानमा चितुवाले आक्रमण नगरोस् भनी सुरक्षाका लागि पाल्ने गरिन्छ। यो कुकुर भारतीय रूपैयाँ ६५ हजार र नेपाली १ लाख रूपैयाँ भन्दा बढीमा  बिक्री हुँदै आएको छ।

एउटा माउ कुकुरबाट २ देखि ४ वटासम्म छाउरा/छाउरी जन्मिने गरेका छन्। घरको सह र सुरक्षाका लागि राखिने गरेको तिब्बतियन मास्टिफ कुकुरको अध्ययनको काम इलामको देउमाई नगरपालिकास्थित जीतपुरमा हुँदै आएको छ। 

विभिन्न अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले वयस्क तिब्बतियन मास्टिफ कुकुर लाखौं अमेरिकी डलरमा बिक्री भएको उल्लेख गरेका छन्। न्युयोक पोष्ट, हिन्दुस्तान टाइम्सलगायत सञ्चारमाध्यममा सन् २०१४ मा प्रकाशित समाचारमा तिब्बतीयन मास्टिफ कुकुर चीनमा लगभग २ मिलियन अमेरिकी डलरमा किनबेच भएको उल्लेख छ।

चीनको पूर्वी प्रान्त झेजियाङमा आयोजित ‘लक्जरी पाल्तु जनावर’ मेलामा झाङ झियुङले एक वर्षको सुनौलो कपाल भएको मास्टिफका लागि १२ मिलियन युआन (१.९ मिलियन अमेरिकी डलर) तिरेको किआनजियाङ इभनिङ न्यूजलाई उद्धृत गर्दै समाचार प्रकाशन भएको छ। 

‘शुद्ध तिब्बती मास्टिफहरू धेरै दुर्लभ छन्, हाम्रो राष्ट्रिय रूपमा बहुमूल्य पाण्डाहरू जस्तै, त्यसैले मूल्यहरू धेरै उच्च छन्’, झाङले भने। ‘बिग स्प्ल्याश’ नामको एउटा रेड मास्टिफ सन् २०११ मा १.५ मिलियनमा बिक्री भएको थियो। त्यसबेला रेकर्ड गरिएको सबैभन्दा महँगो कुकुर बिक्रीमा यसलाई समावेश गरिएको छ।

तिब्बतियन मास्टिफ लगभग ५८ हजार वर्ष पहिले ब्वाँसाहरूबाट अलग भएको मानिन्छ। मूल रूपमा यो प्रजातिका कुकुर भालु, ब्वाँसो र हिउँ चितुवाजस्ता जनावरहरूबाट तिब्बतका बौद्ध मठहरू र भिक्षुहरूलाई जोगाउन प्रयोग गरिएको थियो।

यात्री मीर इज्जुत–उल्लाह (१८७२) ले तिब्बती मास्टिफको बारेमा लेखेका छन्‚ ‘तिब्बतका कुकुरहरू भारतमा देखिनेभन्दा दोब्बर आकारका हुन्छन्, ठूला टाउको र भुत्लासहितका हुन्छन्। तिनीहरू शक्तिशाली जनावर हुन्। दिनको समयमा तिनीहरूलाई साङ्लोले बाँधेर राखिन्छन् र तिनीहरूका मालिकको घरको रक्षा गर्न राति छोडिन्छन्।’

२० औं शताब्दीको प्रारम्भमा, वेल्सका राजकुमार जर्जले तिब्बती मास्टिफको जोडीलाई बेलायतमा परिचय गराए, जसको नस्ल सन् १९०६ मा इङ्गल्याण्डको क्रिस्टल प्यालेसमा शोभाको रुपमा प्रयोग गरिएको थियो। यद्यपि, युद्धको समयपछि विस्तारै मासिँदै गएका थिए।

सन् १९८० पछि विस्तारै  तिब्बतियन मास्टिफहरू फैलँदै गएका छन्। सन् २०११ मा गरिएको डिएनए अध्ययनले तिब्बती मास्टिफ र ग्रेट पाइरेनीज, बर्नीज माउन्टेन डग, रोटवेइलर र सेन्ट बर्नार्ड बीचको आनुवंशिक सम्बन्ध रहेको निष्कर्ष निकालेको थियो। यी ठूला नस्लका कुकुरहरू सम्भवतः आंशिक रूपमा तिब्बती मास्टिफबाट आएको अध्ययनमा उल्लेख छ।

अहिले लोप हुन लागेको आकर्षक तिब्बतियन मास्टिफ कुकुरको संरक्षणसँगै व्यावसायिक रुपमा बिक्री हुन थालेको छ। ३ हजार मिटरमाथिको भू–भागमा मात्रै फस्टाउने यो कुकुर चौंरी, भेडा गोठालाहरूले गोठको रक्षाका लागि पालन गर्दै आएका थिए।

लोप भइसकेको कुकुर इलामको सन्दकपुर गाउँपालिकाको हिमाली क्षेत्रका केही किसानले संरक्षणसँगै व्यावसायिक रुपमा बिक्री गर्दै आएका हुन्।

ठूलो आवाजमा भुक्ने र आकर्षक मुहारका कारण यो कुकुरको मूल्य बढी पर्ने गरेको हो। तिब्बतियन मास्टिफ कुकुर फाट्टफुट्ट पालन सुरू भएपछि सन्दकपूर गाउँपालिकाले संरक्षणका लागि सहयोग गर्ने प्रमुख प्रशासकीय अधिकृत महेश राईले बताए।

लोप भइसकेको कुकुर संरक्षण गर्ने किसानका गोठमा सन्दकपुर भ्रमणमा आउने पर्यटकहरूको आकर्षणको केन्द्र बन्ने गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.