नेपालमा ३० लाख मानिसलाई बाथरोग

|

बाथले जोर्नीमात्रै नभएर सबै अंगमा हानि गर्नसक्छ। अरू रोगले गर्दा मृत्यु हुने सम्भावना बढी हुन्छ भने बाथले हड्डी बाङ्गो हुन्छ। बाथ मुख, आँखा, ढाड शरीरका कुनै पनि अंगमा हुन्छ। आँखा सुक्खा हुनु पनि बाथ रोग नै हो। मुखमा जे खाए पनि पानी पिउनुपर्ने अवस्था आउनु वा मुख सुक्खा हुनु पनि बाथ हो। जोर्नीहरूमा मात्र बाथ हुन्छ भन्ने नेपालीको सोच छ, त्यो सत्य होइन।

बाथ सबै मानिसलाई एकै खालको नभएर भिन्न–भिन्न किसिमको हुन्छ। बाथरोगको उपचारमा चिकित्सकले विरामी जाँच्नु र औषधि दिनु मात्र पर्याप्त हुँदैन। बाथरोगको उपचारमा हाडजोर्नी र छालाका समस्या मात्र निको पारेर हुँदैन। यो रोगले निम्त्याउने अन्य रोग र असरको उपचार बाथरोग विशेषज्ञबाट मात्रै सम्भव हुने भएकाले विरामीहरू चनाखो हुन पनि जरुरी छ। बाथ रोगबारे न्युज एजेन्सी नेपालले नेशनल बाथरोग सेन्टरकी बाथरोग विशेषज्ञ डा. श्वेता नकर्मीसँग कुराकानी गरेको छ। उक्त कुराकानीको सम्पादित अंश।

बाथ भनेको के हो ?

बाथ भनेको कुनै एउटा मात्रै रोग नभएर विभिन्न रोगको संकलनलाई बुझाउँछ। विशेष गरी बाथ भन्ने शब्दभित्र अटो इम्युन डिजिजहरू पर्छ। जस्तै गठिया, लुप्पस, मेरुदण्डको बाथ, स्पनेलाहरू पर्छन्। अर्को भनेको मेरुदण्ड खिइने बाथ, कुरकुरे हड्डी खिइने बाथ पर्छ। अर्को मांसपेसीको बाथ हुन्छ, मेटाबोलकि डिजिज यी सबै कुराको संकलनलाई बाथ भनिन्छ। यो भित्र सयभन्दा बढी प्रकारका बाथ हुन्छन्।

बाथ भयो भनेर कसरी थाहा पाउने ?

बाथ भयो भनेर थाहा पाउन यसका लक्षण केके हुन् भन्ने संक्षिप्त जानकारी आवश्यक छ। बाथ सयौं प्रकारको भएकाले लक्षण पनि भिन्नभिन्न खाले हुन्छ। जोर्नी दुखाइ मुख्य लक्षण हो। जुन ९० प्रतिशत बाथ रोगीमा हुन्छ। जोर्नी दुखाइमा हातका, गोडाका साना, ठूला जोर्नीहरू सुन्निने, दुख्ने, बिहानपख अररो हुने, मुठी कस्न गाह्रो हुने र बिस्तारै घाम लाग्दै गइसकेपछि सहजपन आउने, यो बाथको मुख्य लक्षण हो। छालामा विभिन्न प्रकारको डाबर आउने, गालामा पुतली आकारको डाबर आउने, घाममा जाँदा पोल्ने, चिलचिलाउने, घाउ हुने, बारम्बार निको नहुने घाउ आइरहने, गोडामा विभिन्न प्रकारको डाबर आउने, चाया, पोतो आउने हुनेसक्छ।

चिसो पानी चलाउँदा हातको रङ परिवर्तन हुने, हातको रङ सेतो, नीलो वा पहेंलो भएर चेन्ज हुने यो पनि बाथको एउटा लक्षण हो। मेरुदण्ड बाथको कुरा गर्दा मेरुदण्ड दुख्ने, कम्मर दुख्ने, विशेष गरी राति एक निद्रा सुतिसकेपछि मध्यरातदेखि कम्मर दुखाइ शुरु हुने, बिहानपख कम्मर अरट्ठ हुने, काम गर्न गाह्रो हुने, यो पनि मेरुदण्डको बाथको लक्षण हो। मांसपेसीको बाथको कुरा गर्दा मांसपेसी जताजता छ, शरीरको चारैतिर दुखाइ हुने, मांसपेसी कटकट खाने, बिहान उठेदेखि जाँगर नचल्ने, मासु अरट्ठो भएर बसेको जस्तो हुने, बारम्बार टाउको दुख्ने यस्तो लक्षण हुनसक्छ। बाथ विभिन्न प्रकारको भएकाले लक्षण पनि भिन्नभिन्नै हुनसक्छ। बाथले कुनै पनि अंग समात्न सक्ने हुनाले आँखा समात्यो भने आँखा रातो हुने, दुख्ने, आँखा सुक्खा हुने, आँखा देख्नमा कमजोर हुनसक्छ। मुख सुक्खा हुने, बारम्बार प्यास लाग्ने, किड्नीमा आक्रान्त गरेमा पिसाबमा प्रोटिन जाने, रगत सञ्चालन गर्नेमा आक्रान्त गरे बास्कोलाइटिस हुनसक्छ।

बास्कोलाइटिस भयो भने फरक अंगले काम गर्दैन। हातगोडा झम्झमाउने, पोल्ने, नसाका विभिन्न लक्षण आउने, फोक्सोमा पानी जम्ने, फोक्सोमा जाली पर्‍यो भने लामो समयसम्म खोकी लाग्ने, स्वाँस्वाँ हुने, दम बढ्ने, मुटुमा पानी जम्यो, मुटुमा असर गर्‍यो भने छाती दुख्ने, दम हुने, गोडा सुन्निने जस्ता विभिन्न लक्षण हुनसक्छ।​

बाथरोग वंशाणुगत हुन्छ कि खानपानबाट हुन्छ ? विरामी केबाट धेरै जोगिनुपर्छ ?

उत्तरः बाथरोग भएका विरामी विशेषगरी चिसोबाट जोगिनुपर्छ। किनभने चिसो मौसम वा चिसो वातावरणमा बाथका लक्षण बढ्छन्। जोर्नी दुखाइ बढ्छ, हातको निलोपन बढ्छ, मेरुदण्डको अरट्ठोपना बढ्छ, त्यसैले चिसोबाट जोगिनुपर्छ। धुम्रपान सेवन गर्नु हुँदैन। सुर्तीजन्य पदार्थबाट टाढा बस्नुपर्छ। लुप्पस भएका विरामी घामको किरणबाट जोगिनुपर्छ। यी तीन कुराबाट विशेष जोगिनुपर्छ। कुन बाथ हो त्यो अनुसार केके बार्नुपर्ने त्यो अलि फरक हुन्छ।

बाथ विभिन्न कारणले हुन्छ। जुनमा अटो इम्युन डिजिजको कुरा गर्नुपर्दा गठिया, मेरुदण्डको लुप्पस यस्ता बाथ अटो इम्युनिटीको कारणले हुन्छ। हाम्रो शरीरमा जुन रोग प्रतिरोधात्मक क्षमता हुन्छ, त्यो क्षमतामा गडबडी आउँदा शरीरका कोषिकाले आफ्नै अंग बिगार्न थाल्छ। जस्तै जोर्नी, भित्री अंगलाई पनि बिगार्न थाल्छ। त्यसबाट अटो इम्युन डिजिजको उत्पत्ति हुन्छ। बाथ हुनैबाट जोगिन त सकिँदैन तर भइसकेपछि केही सावधानी अपनाउन लिन सकिन्छ। बाथमा जेनेटिक अशोसिएशनहरू हुन्छ तर वंशाणुगत हुँदैन।​

४० वर्ष उमेर पुगेका मानिसमा बढी बाथ देखियो भन्ने छ, कारण के हुनसक्छ ?

बाथ हरेक उमेर समूहमा हुनसक्छ। सानो बच्चादेखि, गर्भमा भएको बच्चादेखि लिएर युवावस्था र वृद्धावस्था सबै उमेरमा हुनसक्छ। फरक भनेको यत्ति हो कि कसलाई कुन प्रकारको बाथ हुने सम्भावना छ, त्यो दर फरक हुने हो। बच्चाहरूलाई पनि गठिया बाथ, मेरुदण्डको बाथ, लुप्पस उत्तिकै हुन्छ।

४० कटेका मानिसमा प्रायजसो देखिने भनेको हड्डी खिइने बाथ देखिन्छ। जस्तै अर्थोराइटेस, स्पाइनको डिजेनेरिटिभ डिजिजहरू बढी मात्रामा देखिने भनेको गठिया बाथ हो। गठिया बाथ प्रायजसो युवावस्थामा देखिन्छ। महिलामा बढी देखिन्छ। यो ४० कटेका महिलामा बढी देखिन्छ। पुरुषहरूको कुरा गर्दा ३५ वा ४० भन्दा माथिको पुरुषहरूमा युरिक एसिडको बाथ वा गाउट बढी देखिन्छ। विभिन्न प्रकारको बाथको आ–आफ्नो निश्चित उमेरमा हुन्छ। कुनै बाथ सानो, तन्नेरी उमेरमा बढी देखिन्छ त कुनै ४० पछि र ६० पछि पनि बढी देखिन्छ। कुन प्रकारको बाथ हो त्यसमा निर्भर रहन्छ।

बाथबाट जोगिन यो कुरा गर्नैपर्छ भनेर बुझ्नैपर्ने विषय के हो ?

बाथ हुनैबाट जोगिन त गाह्रो छ। किनभने अटो इम्युन डिजिज हो तर बाथ भएका विरामीहरूले यसलाई बढ्नबाट जोगिन चिसोबाट जोगिने, चुरोटको धुवाँबाट जोगिने, समयमै उपचार शुरु गर्नुपर्छ। उपचार शुरु गरिसकेपछि त्यसलाई निरन्तरता पनि दिनुपर्छ। बाथको उपचार भनेको खालि लक्षणको उपचार होइन, बाथको उपचारले यसको जटिलता यसले भित्री अंगहरू सबै बिगार्न सक्ने भएकाले यसको जटिलतालाई पनि प्रिभेन्ट गर्नुपर्ने हुन्छ। उपचारलाई निरन्तरता दिँदै अघि बढ्ने हो भने बाथ रोगबाट जोगिन सकिन्छ।

जाडो याममा बिहानमा मर्निङ वाक कति उपयुक्त छ ?

जाडो मौसममा घाम लागिसकेपछि नै एक्सरसाइज गरेको राम्रो हो। एक्सरसाइज बाथ रोगीका लागि धेरै राम्रो कुरा हो। त्यसैले हामीले सबैजनालाई चिसोबाट बचेर एक्सरसाइज गर्न आग्रह गर्छौं। धेरै चिसो भइरहेको वेला बाहिर नजाने वा जानै परेको अवस्थामा पनि पञ्जा, मोजा, डबल लेयर भएको लुगा लगाएर जाने, हावाहुरी, चिसोबाट बच्ने र सकभर अलिकति घाम लागिसकेपछि जोर्नी सजिलो भइसकेपछि मात्र बाहिर निस्किएर एक्सरसाइज गर्नु उपयुक्त हुन्छ।

युरिक एसिडबाट पीडित भएकालाई पछिल्लो समयमा समस्या देखिएको छ, यसमा कस्तो सचेतना अपनाउन जरुरी छ ?

युरिक एसिडको बाथ अथवा गाउट प्रायजसो पुरुषमा हुन्छ। ४० भन्दा माथिको उमेर समूहमा बढी हुन्छ। आजभोलि ४० भन्दा तलको उमेरसमूहमा पनि देखिन थालेको छ। २० वर्षको उमेरस मूहबाट नै युरिक एसिडको बाथ देखिन थालेको छ। यसको एउटा मुख्य कारण भनेको खानपिन र एक्सरसाइजको अभाव हो। खानपिनमा आजभोलि जंकफुड, कोक, कोल्ड्रिंक्सहरू बढी मात्रामा खाइन्छ, यसको कारणले पनि युरिक एसिडको बाथ बढी मात्रामा देखिन्छ।

अर्को एक्सरसाइज नगर्नाले पनि हुन्छ। यसबाट बच्न हामीले पहिलो कुरा खानपानमा ध्यान दिनुपर्छ। जस्तै स्वस्थ भोजन खाने, अल्कोहल कम खाने, जनावरको भित्री अंग कम खाने, प्रिजरबेटिभ भएको खाना, बट्टामा भएको जुसहरू, कार्बोनेटेड ड्रिंक्सहरू कम प्रयोग गर्ने, निरन्तर एक्सरसाइज गर्ने, पानी प्रशस्त मात्रामा खाएको राम्रो हो।

तरकारी र दूधको मात्रा अलि बढी मात्रामा सेवन गर्ने गर्नुपर्छ। युरिक एसिड बाथ सुगरको रोग, प्रेसर, कोलस्टोरको समस्या र मोटोपना, यो ४ वटासँग पनि जोडिने भएकाले युरिक एसिडको बाथ नियन्त्रण गर्दा हामीले यो बाँकी ४ वटा कुरामा ध्यान दिनुपर्छ। बाथ कमन रोगहरूमा नै पर्छ। समाजमा हेर्ने हो भने ३० प्रतिशतलाई कुनै न कुनै हाडजोर्नी तथा मांसपेसीको रोग हुनसक्ने सम्भावना देखिन्छ। त्यसमध्ये पनि पूरा जनसंख्याको १० प्रतिशतमा नेपालको कुरा गर्दा ३० लाखलाई बाथ रोग हुनसक्ने सम्भावना छ। यो विश्वको तथ्यांकअनुसार हो। बाथको पहिचान हुनसक्यो भने र समयमै उपचार शुरु गर्न सकियो भने कुनै कुनै अवस्थामा बाथ निको पनि हुनसक्छ।

गठिया बाथ र मेरुदण्डको बाथ तीनदेखि ६ महिनाभित्र गर्न सकियो भने निको हुनसक्ने सम्भावना ३० प्रतिशतसम्म रहन्छ। बाथको समयमै र सही पहिचान गर्न जरुरी छ। पहिचान भइसकेपछि उपचार शुरु गर्नुपर्छ। डाक्टरको सल्लाहअनुसार निरन्तर रूपमा औषधि खाइरहनुपर्छ। शुरुवाती चरणमै बिरामी आउने हो भने १ वर्षभित्र बाथ निको हुनसक्छ। त्यो भनेको शरीरबाटै बाथ गायब हुने भने होइन। यसलाई बिना औषधि नियन्त्रणमा राख्न सकिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.