|

बागलुङ : नेपालकै एक मात्र सिकार आरक्ष ढोरपाटनमा दोस्रो सिकार याम सुरू भएको छ। फागुन–वैशाखका लागि ढोरपाटनमा सिकार गर्न इच्छुकबाट प्रस्ताव आह्वान भएको छ। राष्ट्रिय निकुञ्जमा सिकार प्रतिस्पर्धाबाट गराउनका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले दरभाउपत्र आह्वान गरेको हो।

१५ दिनभित्र पेश हुने प्रस्तावहरूबाट बढीबढाउका आधारमा सिकार कम्पनीले नाउर, झारल र बँदेलको सिकार अनुमति पाउने छन्। आरक्षमा यस आर्थिक वर्षको दोस्रो यामका लागि १२ नाउर र ८ झारलको सिकार कोटा तोकिएको छ। यस सिजनमा नेपाली नागरिकका लागि ७ बँदेल र विदेशी नागरिकका लागि ४ बँदेल गरी जम्मा ११ वटा बँदेल सिकार कोटा तोकिएको आरक्षका प्रमुख संरक्षण अधिकृत विरेन्द्र कँडेलले बताए।

विभागका अनुसार आरक्षमा तोकिएको ब्लक र निर्धारण गरिएको कोटाको आधारमा प्रतिस्पर्धाबाट नाउर, झारल र बँदेलको सिकार गरिने भएको छ। यसका लागि व्यक्ति तथा संघसंस्थाले निवेदन दिन सक्ने विभागले जनाएको छ। आरक्षमा बर्सेनि असोज–मंसिर र फागुन–वैशाख गरी दुई पटक सिकार खुल्छ। विभागले गराउने अन्तर्राष्ट्रिय बोलपत्रको प्रतिस्पर्धाबाट छानिएका कम्पनीले विदेशी व्यवसायिक सिकारीलाई नेपाल भित्र्याउँछन्।

यस वर्षको पहिलो सिकार यामका लागि ८ नाउर र ५ वटा झारलको सिकारको अनुमति रहेकोमा पाँच नाउर र चार झारलको मात्रै सिकार भएको थियो। अघिल्लो सिकार याममा सिकार हुन नसकेका नाउर र झारल समेतलाई थप गरेर वर्षको दोस्रोयाममा सिकार अनुमति दिन लागिएको हो।

पहिलो सिकारयाममा कुनै पनि नेपाली र विदेशीले सिकारका लागि चासो नदेखाए पनि दोस्रोयाममा बँदेलको सिकारका लागि प्रस्ताव आह्वान गरिएको छ। ‘अनुमति लिएका विदेशीले निःशुल्क बँदेलको सिकार गर्न पाउँछन्’, कँडेलले भने, ‘नेपालीलाई पनि सामान्य शुल्क लिएर सिकारका लागि अनुमति लिन प्रस्ताव आह्वान गरिए पनि अहिलेसम्म कोही आएका छैनन्।’

सिकार पर्यटनबाट प्रतिवर्ष करोडौं रुपैयाँ राजश्व जम्मा हुन्छ। सिकार कम्पनीको प्रतिस्पर्धाका आधारमा सिकारको राजश्व दर घटबढ हुने हो सिकार गरेपछि अधिकांश सिकारीले मासु खाएर सिंङ, खुर र छाला मात्रै आफ्नो देशमा लैजान्छन्। विदेशी सिकारीहरू खास गरि ट्राफिका लागि ढोरपाटनमा सिकार खेल्न आउने गरेको पाइन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.