|

म्याग्दी : म्याग्दीमा निर्माणाधीन रावण पार्क ६ महिनादेखि अलपत्र छ। हिन्दू धर्मावलम्बीहरूको ग्रन्थ रामायणमा खलपात्र चित्रण गरिएका रावणको मूर्तिसहितको उक्त पार्क आर्थिक अभावमा अलपत्र परेको हो।

पार्क बेनी नगरपालिका-५ पुलाश्रममा निर्माण भइरहेको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रमअन्तर्गत अघिल्लो आर्थिक वर्षदेखि बेनी नगरपालिकासँगको साझेदारीमा पुलाश्रममा ६ मिटर अग्लो रावणको मूर्तिसहित पार्क निर्माण थालिएको थियो।

पार्क ०७९ फागुनमा बनाइसक्ने सम्झौतामा उल्लेख भए पनि गत वर्ष बेनी नगरपालिकाले निर्माण प्रगति विवरण नबुझाएकोले मन्त्रालयले भुक्तानी रोकेपछि पार्क अलपत्र परेको हो। 

२३ करोड रूपैयाँ लागत अनुमान गरिएकोमा केन्द्रबाटै बजेट नआएपछि काम रोकिएको नगरपालिकाले जनाएको छ। पर्यटन मन्त्रालयले २ करोड ११ लाख र नगरपालिकाले १ करोड १४ लाख विनियोजन गरेर ठेक्का आह्वान गरिएको थियो।

मन्त्रालयको ७० प्रतिशत र बेनी नगरपालिकाको ३० प्रतिशत नगद लगानी हुने गरी अघिल्लो ०७७ फागुनमा १ करोड ७६ लाख ७७ हजार ५ सय ६३ रुपैयाँमा धर्म एस काश्यप जेभी कलंकी काठमाडौंले ठेक्का लिएको थियो।

साझेदारी शर्तअनुसार पार्कको घेरबार, संरक्षण र जमिन सम्याउने समेतका काम भएको र रावणको मूर्तिसमेत बनाउन सुरु गर्न नगरपालिकाले ठेकेदार कम्पनीलाई रनिङ बिल भुक्तानी गरेको छ।

१४ रोपनीमा फैलिएको पुलह पुलाश्रम क्षेत्रमध्ये ४ रोपनीमा मात्र रावण पार्क बनाउन लागिएको हो।

‘मन्त्रालयले गत आवमा भुक्तानी रोकेपछि रावण पार्क निर्माण स्थगित छ‚’ बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ढोलकराज ढकालले भने‚ ‘चालू आवमा मन्त्रालयले सुरु किस्ता १५ लाख पठाएको छ तर हामीसँग थप बजेट नभएकोले काम गराउन सकेका छैनौं।’

मन्त्रालयबाट प्राप्त १५ लाख रुपैयाँले काठमाडौंमा बनेको मूर्ति ल्याई प्रतिस्थापन गर्ने र बाँकी काम थप श्रोत जुटाई गर्ने तथा पार्क अलपत्र परेकोले मन्त्रालयमा थप बजेट निकासाका लागि अनुरोध गर्न जाने तयारीमा नगरपालिका रहेको प्रमुख प्रशासकीय अधिकृत ढकालले बताए।

पुलाश्रममा रहेका ऋषिमुनि मन्दिर, हवन कुण्ड, रावणको नाभी गाडिएको स्थानलाई यथावत संरक्षण गरी ६ मिटर अग्लो रावणको मूर्तिसहित बगैंचा, विश्रामस्थल, घेरबार र जमिन संरक्षण समेतका पूर्वाधार निर्माण गर्ने योजना छ।

रामायणका मुख्य पात्रमध्येका एक रावणलाई राक्षस भनी घृणा गर्ने र रामलाई देवता मानी पुज्ने समाजमा रावण पार्क निर्माण थालिएपछि स्थानीयले भने पर्यटन प्रवर्द्धन भै पुलाश्रमको महत्व झन् बढ्ने ठानेका छन्।

म्याग्दी उद्योग वाणिज्य संघका तत्कालीन अध्यक्ष प्रमोद श्रेष्ठको अगुवाईमा ०६६ सालमा बनेको रावण पार्कको अवधारणालाई बेनी नगरपालिकाले गुरुयोजना तयार गरी कार्यान्वयन गरेको हो।

ठेक्का पाएपछि कार्यस्थलमा पुगेका निर्माण कम्पनीका इन्जिनियर सन्तोष ओझाका अनुसार रावणको मूर्ति काठमाडौंमा कुँदन थालिएको छ।

रावण पार्क रहने पुलाश्रमबाट धौलागिरी, निलगिरी, अन्नपूर्ण हिमश्रृखला, सूर्योदयको मनोरम दृश्यका साथै म्याग्दी र कालीगण्डकी नदी दोभानस्थित बेनीससहित जिल्लाका अधिकांश भूगोल तथा पर्वतको जलजला गाउँपालिका राम्रोसँग दृश्यावलोकन गर्न सकिन्छ।

सदरमुकाम बेनीदेखि पश्चिम उत्तरमा करिब १५ सय मिटर उचाइमा अवस्थित तपोभूमि पुलह आश्रममा रहेको होमकुण्डमा प्राचीन चरुको अवशेष (खरानी रंगको चिम्टाइलो माटो) अझै पनि देख्न सकिन्छ।

पुलस्त्य ऋषिको वास्तविक आश्रमको स्वरुप कस्तो थियो किटानसाथ भन्न सकिने आधार छैन तर वर्षौंदेखि पुलाश्रममा पुलस्त्य ऋषिहरुको ढुङ्गाका आकृति कोरी पूजा गर्ने गरिएको छ। पुलाश्रम मन्दिरमा देवी–देवताको नभै ऋषिहरुको पूजाअर्चना गरिन्छ।

पवित्र १५ तीर्थस्थलमध्ये एक- म्याग्दीको पुलाहाश्रम

​धार्मिक ग्रन्थ श्रीमद्भागवत महापुराण, रामायण र महाभारतमा वर्णन गरिएको पुलहाश्रम क्षेत्र म्याग्दी जिल्लामा पर्छ।

श्रीमद्भागवत महापुराणको सप्तम स्कन्दको अध्याय १४ को दण्डकका अनुसार पुलस्त्य पुलहाश्रम क्षेत्र विश्वका अति पवित्र १५ तीर्थस्थलमध्ये एक मानिन्छ।

पुराण प्रसिद्ध ३ ऋषिहरू पुलह, पुलस्त्य र विश्रवा म्याग्दी पुलाको पछैमा अध्ययन र चिन्तनमनन गर्दै बसेको पुराणहरूमा उल्लेख छ।

पुराणका अनुसार यही क्षेत्रमा रामायणमा खल पात्रको रुपमा वर्णन गरिएका लंकाका राजा रावणको जन्म भएको थियो।

रावणको जन्म भएको यही ठाउँमा संसारकै एकमात्र रावण पार्क बनाउन बेनी नगरपालिकाले योजना निर्माण गरेर पार्क निर्माणको जिम्मा ठेकेदारलाई दिएको थियो।

सत्ययुगमा पुलह र पौलस्त्य ऋषिले यहाँ तपस्या गरेर हवन (यज्ञ) गर्न लाग्दा पानी पर्न थालेको उल्लेख पाइन्छ। ऋषिद्वयले इन्द्रसँग प्रार्थना गरेर यज्ञ सम्पन्न भएपछि मात्र वर्षा गराउन आग्रह गरेपछि धेरै समयपछि मात्र पानी परेको श्रीमद्भागवत महापुराणमा उल्लेख भएको पुलह, पुलस्त्य मन्दिरका पुजारी जगदीश सुवेदीले बताए। उनका अनुसार ओढारभित्र यज्ञका अवशेष चरु भेटिनुले पनि यो ठाउँको महत्व उजागर गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.