|

काठमाडौं : मौद्रिक नीतिको अर्धवार्षिक समिक्षापश्चात् निरन्तर रुपमा गिरावट हुँदै आएको नेप्से परिसूचकमा सुधार देखिएको छ।

पछिल्लो पाँच दिनको कारोबारमा १३५.८२ अंकले घटेको नेप्से परिसूचक बुधवारको कारोबारमा ३३.५७ अंकले बढेर २०८०.३८ बिन्दुमा पुगेको छ। त्यस्तै,सेन्सेटिभ इण्डेक्स ४.८० अंकले बढेको छ भने फ्लोट इण्डेक्स २.३४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४६ अंकले बढेको छ।

बुधबार कारोबारमा आएका २६९ कम्पनीको ४७ लाख ७९ हजार कित्ता शेयर १ अर्ब ८० करोड ३२ लाख ८२ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। मंगलबारको तुलनामा कारोबार रकमसमेत बढेको छ।

नेप्सेका १३ उपसमूहमध्ये बुधवार ३ उपसमूहको परिसूचक घटेको छ भने बाँकी १० उपसमूहको परिसूचक बढेको छ। जसमा जलविद्युत् उपसमूहको परिसूचक ३.८५ प्रतिशत, होटल तथा पर्यटन उपसमूहको परिसूचक ३ प्रतिशतले बढेको छ। यता, लघुवित्त उपसमूहको परिसूचकको १.३८ प्रतिशत घटेको छ।

बुधवार नेप्से परिसूचक बढेसँगै ३ कम्पनीको शेयर मूल्य  ९ प्रतिशतभन्दा धेरै बढेको छ। जसमा लिबर्टी इनर्जीको शेयरमूल्य ९.८०, छ्याङ्दी हाइड्रोपावर र दोर्दी खोला जलविद्युत कम्पनीको ९ प्रतिशतभन्दा बढी बढेको छ भने पिपुल्स पावरको शेयरमूल्य ८.४० प्रतिशत बढेको छ।

यता, आदर्श लघुवित्तको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। बुधबार हिमालयन डिस्टिलरी कम्पनीको १३ करोड रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.