|

जनकपुरधाम : लामो धार्मिक पदयात्राका रुपमा चिनिने मिथिला माध्यमिकी परिक्रमा आज ​चौथो दिन बिहीबार महोत्तरीको मटिहानी पुगेको छ। भारतको कल्नाबाट बुधबार फुलहर एवं गिरीजास्थान पुगेर रात्रि विश्राम गरेका परिक्रमाका यात्रुहरू बिहीबार बिहान मटिहानीतर्फ प्रस्थान गरेका हुन्।

गिरीजास्थानमा त्रेता युगमा भगवान राम र सीताको पहिलो भेट भएको मानिन्छ। आज परिक्रमा पुग्ने मटिहानीमा त्रेता युगमा सीताको मटकोर भएको धार्मिक विश्वास छ। त्यसकारण पन्ध्रदिने परिक्रमाको चौथो पडाव स्थल भनिन्छ। मटिहानी नगरपालिकाले आज परिक्रमाका यात्रुहरूलाई स्वागत गर्न सार्वजनिक बिदासमेत दिएको मेयर हरि मण्डलले बताए।

धनुषाको कचुरीको मठबाट मिथिला बिहारीजीको डोला र जनकपुरको रत्नसागरस्थित मठबाट रामजानकीको डोलालाई विधिवत रूपमा निकाली १५ दिने मिथिला माध्यमिकी परिक्रमा सोमबारबाट प्रारम्भ भएको थियो।

परिक्रमामा नेपालको धार्मिक ऐतिहासिक ठाउँहरूको १०७ किलोमिटर र भारतको २६ किलोमिटर गरी जम्मा १३३ किलोमिटर भूभागको यात्रा गरिन्छ। यसलाई मिथिला माध्यमिकी परिक्रमा भन्ने गरिन्छ।

जानकारहरूका अनुसार करिब सन् १७९३ तिर साधुसन्तलाई लिएर वनजंगलको बाटो भएर माध्यमिकी परिक्रमा प्रारम्भ गरिएको थियो। 

सो समयमा वन जंगल घना रहेको र साधुसन्तहरू वनमा आश्रम राखेर बस्ने गरेका थिए। बाघ‚ भालुजस्ता जंगली जनावरले साधुसन्तमाथि आक्रमण गर्ने र दुःख दिने गरेकाले त्यस्ता जनावरबाट सुरक्षाका लागि परिक्रमाको थालनी गरेको विश्वास गरिन्छ।

सन् १७९३ मा पाँचदिने मिथिला माध्यमिकी परिक्रमा ​सुरु भएको थियो। त्यसपछि फेरि सन् १८३१ र सन् १८७० हुँदै सन् १८९५ मा कमलशरण दासले मठाधीशको अधिकार प्राप्त गरेपछि उनले सन् १८९५ देखि १५ दिने मिथिला अन्तगृह परिक्रमा यात्रा आरम्भ गराएको बताइन्छ। त्यसपछि आज पर्यन्त यही क्रम जारी रहेको जानकारहरू बताउँछ्न्।

​त्यति बेला जनकपुरधामका ५२ कुट्टीका ५२ सन्त र ३ जना सुसारे गरि ५५ जना सन्तबाट शुरु भएको माध्यमिकी परिक्रमामा अहिले हजारौं सहभागी हुने मैथिली साहित्यकार एवम् वरिष्ठ पत्रकार उपेन्द्र भगत नागवन्सीले बताए। यसैकारण मिथिलाको  राजधानी जनकपुरधाम ‘५२ कुट्टी ७२ कुण्ड’का नामले पनि  प्रख्यात भएको हो।

परिक्रमामा सहभागीहरूका लागि प्रत्येक वर्ष बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले १५ वटै विश्रामस्थलमा बिजुली, खानेपानीलगायतको व्यवस्था मिलाउने गरेको छ।

परिक्रमा गर्नेहरू राति गाउँभन्दा टाढा खुला चौर, बगैंचा वा पोखरीको डिलमा विश्राम गर्छन्। स्थानीय बासिन्दाले पनि सहभागीका लागि अन्न, दाउराको प्रबन्ध मिलाउँछन्।

भोलि शुक्रबार जलेश्वर, मडै, ध्रुवकुण्ड, कञ्चनवन, पर्वता, सतोषर, औरही, बिशौल हुँदै पुनः कल्ना पुगी १५ औं दिनमा परिक्रमा टोली जनकपुर आउनेछ। त्यसपछि जनकपुरमा अन्तगृह परिक्रमासँगै परिक्रमा समापन हुनेछ। त्यसको भोलिपल्ट जनकपुरमा होली खेल्ने परम्परासमेत रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.