|

विराटनगर : विराटनगरस्थित कोसी अस्पतालको हाडजोर्नी विभागमा पानी आपूर्तिमा समस्या आएपछि शल्यक्रिया रोकिएको छ।

बिहीवार हाडजोर्नीसँग सम्बन्धित सातजना विरामीको शल्यक्रिया गर्ने तालिका थियो। पानी अभाव भएपछि ती सबै शल्यक्रिया रोकिएका हुन्।

बुधवारदेखि नै हाडजोर्नी विभागमा पानी आपूर्तिमा समस्या देखिएको कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. रविनराज सिंहले बताए।

पुरानो पाइपलाइन भएका कारण समस्या देखिएको बताउँदै उनले समस्या समाधानका लागि प्लम्बर खटाइए पनि बिहीवार १० बजेसम्म मर्मत हुन नसकेको बताए।

पानी नहुँदा अप्रेशन तालिकामा भएका सातजना विरामीको शल्यक्रिया रोकिएको मेसु सिंहले जानकारी दिए।

चिकित्सकले शल्यक्रियामा प्रयोग गर्ने सामग्रीदेखि विरामीलाई प्रयोग गरिने स्टिलका सामग्री पानीमा उमालेर मात्रै प्रयोग गर्नुपर्ने हुन्छ। पानी आपूर्ति गर्ने मुख्य पाइपलाइनमा समस्या भएपछि ‘वाटर प्यूरिफाई प्लान्ट’ समेत बन्द भएको छ। यसले गर्दा शल्यक्रिया सामग्री स्टरलाइजेशन र निःसंक्रमित गर्न नसकिएको मेसु सिंहको दावी छ।

‘प्यूरिफाई वाटर’मा दुई घण्टासम्म सामान उमालेर मात्रै शल्यक्रिया गर्ने वा बिरामीलाई लगाउनुपर्ने स्टिल निःसंक्रमित गराउनुपर्ने हुन्छ’, मेसु सिंहले भने, ‘हाडजोर्नी विभागको पानी आपूर्तिमा समस्या भएपछि त्यो सम्भव नहुँदा अप्रेशन कक्ष बन्द भएको हो।’

उनले बिहीवारलाई अप्रेशन गर्ने तालिकामा रहेका विरामीको शल्यक्रिया शुक्रवार गरिने जानकारी दिए।

शुक्रवार अप्रेशन तालिका नभए पनि बिहीवार शल्यक्रिया हुन नसकेपछि योपटक शुक्रवार पनि अप्रेशन गरिने र त्यसैअनुसार तालिका राखिएको मेसु सिंहले बताए।

अप्रेशन गर्नुपर्ने सूचीमा सातजना विरामी छन्। तीमध्ये बिहीवार पाँचजनाको अप्रेशन गर्ने तयारी थियो। अस्पतालको सर्जरी र प्रसूति विभागको काम भने नियमित रहेको र अन्य सेवा प्रभावित नभएको मेसु सिंहले बताए।

कोसी अस्पताल परिसरमा नयाँ संरचना निर्माण गर्ने काम समेत भएकाले त्यसले समेत कतिपय ठाउँमा पाइप लाइन चुँडिने गरेको अस्पताल प्रशासनले बताएको छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.