|

धनगढी : कैलालीस्थित गौरीगंगा नगरपालिका–१, लठैयाका ४५ वर्षीय प्रदेशु चौधरी पहिला डकर्मी थिए। सुदूर पश्चिमका पहाडी जिल्लामा उनी घर बनाउने काम गर्थे।

अरूका घर बनाउने प्रदेशुले आफ्नो घर बनाउन निकै तनाव झेल्नुपर्‍यो। यसअघि उनी कहिले बैतडी त कहिले अछामतिर हुन्थे। अचेल उनी कहीँ जाँदैनन्। कारण उनको त्यही घर बनाउँदा लिएको ऋण र लघुवित्त संस्थाबाट पाएको पीडा हो।

जेठ १७ गते पनि उनी पहाडतिरै काममा व्यस्त थिए। त्यसै दिन उनका कानमा नराम्रो खबर पुग्यो। त्यो खबर थियो, श्रीमती ३४ वर्षीया रेश्मा चौधरीको निधन। 

त्यो दिन रेश्मा आँगनमा बेहोस अवस्थामा भेटिएपछि उनका ७३ वर्षीय ससुरा चारु चौधरीले छोरा (प्रदेशुलाई) खबर गरेका थिए। त्यसपछि प्रदेशु केही नसोची सीधै घरतर्फ लागे।

त्यतिन्जेल घरमा चारुले गाउँलेलाई बोलाएर बुहारीलाई धनगढीको सेती प्रादेशिक अस्पतालसम्म पुर्‍याए तर भोलिपल्ट बिहान उपचाररत रेश्माको मृत्यु भएको खबर आयो। बिहान ८ बजे रेश्माको मृत्यु भएको कुरा चिकित्सकले जानकारी गराएका थिए।

चिकित्सकका अनुसार मृत्युको कारण विषादी सेवन थियो। त्यसपछि कानुनी प्रक्रिया पूरा गरेर प्रदेशुले श्रीमतीको शव बुझे। त्यसपछि उनी घर बनाउने काम छोडेर आफ्नै घर कुरेर बसेका छन्। उनका अनुसार रेश्माले विष खानुको कारण लघुवित्तको ऋण थियो।

प्रदेशु भन्छन्, ‘रेश्माले लघुवित्त संस्थाबाट ऋण लिन थालेको १३ वर्ष भएको थियो। सुरुमा तीन सन्तान हुर्काउन र पछि ऐलानी जग्गामा रहेको घडेरीमा घर बनाउन हामीले लघुवित्तसँग ऋण लिएर कारोबार गरेका थियौं।’

घर बनाउँदा आफूहरूले युनिक नेपाल नाम गरेको लघुवित्त वित्तीय संस्थाबाट तीन लाख रुपैयाँ ऋण लिएको उनले बताए।

तीन वर्षमा तिर्ने गरी लिएको ऋणमा १ लाख ४० हजार रुपैयाँ तिर्न बाँकी रहेको हिसाब सुनाउँदै उनले भने, ‘कोरोना महामारीपछि काम नपाउँदा सावाँ–ब्याजको किस्ता तिर्न सकिएको थिएन। त्यसपछि लघुवित्तका कर्मचारीले लगातार सताउँदै आएका थिए। घरमै आएर धम्की दिन्थे तर हामी आर्थिक अवस्था कमजोर भएका मान्छे। त्यो रकम चुकाउने अवस्था थिएन।’

यस्तै आफूहरूले अरू लघुवित्तबाट पनि ऋण लिएको उनले बताए। तीन वर्ष पहिले सिकिस्त विरामी भएका छोरा सुरेशलाई कोहलपुर मेडिकल कलेजको आईसीयूमा राखेर उपचार गराउँदा इन्फिनिटी लघुवित्तबाट तीन लाख कर्जा लिएको उनले बताए।

‘इन्फिनिटीको ऋण त ८२ हजार र त्यसको ब्याज मात्र थियो’, प्रदेशु भन्छन्, ‘निको भएर मजदुरी गर्न सिन्धुली गएको १८ वर्षको छोरा उतै बितेपछि रेश्माको मन साह्रै कमजोर भएको थियो।’ पछि छोरीको बिहे गर्दा किसान लघुवित्तबाट पनि तीन लाख लिएको उनले बताए।

विभिन्न महिला समूहमा आबद्ध भएकाले रेश्माकै नामबाट कर्जा लिने गरेको बताउँदै उनले भने, ‘कान्छा छोराले बुहारी ल्याएपछि सामाजिक रीतअनुसार विवाह गर्न एउटा सहकारीबाट ५० हजार रुपैयाँ ऋण लिएका थियौं।’

ऋणमाथि ऋण खप्दै आएको रेश्मा–प्रदेशु दम्पतीको घरमा (१७ जेठमा) युनिक नेपाल लघुवित्तले सूचना टाँसेर ताला मारिदियो।

‘ऋण ढिलोचाँडो तिर्थ्यौं तर उसले मौका नदिएर घरमा ताला लगाइदिँदा रेश्माले आत्महत्या गरिन्’, प्रदेशु भन्छन्, ‘म घरमा भएको भए उनलाई मर्न दिने थिइनँ। यी लघुवित्त त ज्यानमारा हत्यारा रहेछन्।’

प्रदेशुका अनुसार रेश्मा बितेपछि युनिक नेपालले सावाँ–ब्याज मिनाहा गरेर किरिया खर्च दिएको छ। ‘इन्फिनिटी, किसान र पहलमानपुरका कर्मचारी चाहिँ आइरहेका छन्’, उनी भन्छन्, ‘लघुवित्तको ऋणले मेरी श्रीमतीको ज्यान लियो। अब मैले कहाँबाट तिरौं ? घरमा आउँछन्, सताउँछन्, घरमा बुहारी छ। उसलाई पनि सताउलान् भन्ने पीरले म अचेल घरमै बस्छु।’

बिहे भइसकेका उनका कान्छा छोरा गाडीका सहचालक छन्। चौधरी परिवारको आम्दानी भनेको सहचालकले पाउने तलब मात्र हो। घरजग्गा लिलाम गरेर असुल्न आग्रह गर्दा लघुवित्त कम्पनीहरूले नगद चाहिने अडानमा रहेको उनले बताए।

जसोतसो गरेर आफूले ऋण चुक्ता गर्ने तर त्यसका लागि लघुवित्त कम्पनीहरूले केही समय दिनुपर्ने उनको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.