तुलसीपुर : तुलसीपुर उपमहानगर-५ स्थित राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको स्वामित्वको जग्गामा रहेको श्री ३ जुद्ध समशेरको सालिक संरक्षण नहुँदा जीर्ण बनेको छ।
अस्पतालदेखि उत्तरपूर्वमा रहेको झण्डै ८ फिट अग्लो स्तम्भमाथि करिब ३ फिट जति अग्लो समशेरको सालिक छ। उक्त सालिक सल्यानी राजा शमशेर बहादुर शाहले विसं. १९९५ सालमा स्थापना गरेको शिलालेखमा उल्लेख छ।
ऐतिहासिक सालिकको अवस्था यस्तो हुनु दुःखद भएको यज्ञबहादुर बुढाले बताए। उनले नेपालको शासन व्यवस्थाको इतिहाससँग जोडिएका व्यक्तिको सालिकको संरक्षण हुनुपर्ने बताए।
उनले भने, ‘नेपालको इतिहाससँग राणाकाल जोडिएको छ। यसलाई संरक्षण गर्नुपर्छ। यो सालिक जीर्ण अवस्थामा रहेको छ। कसको सालिक भनेर कसैलाई थाहा पनि छैन। स्तम्भ भत्किएको छ। सालिकको टाउको पछाडिबाट फुटेको छ। यसलाई सम्बन्धित निकायले संरक्षण गर्नुपर्छ।’
उनले ऐतिहासिक वस्तु संरक्षण गर्नु राज्यको दायित्व भएको पनि बताए। भावी पुस्तालाई पनि इतिहासको जानकारी दिन यसको संरक्षण गर्नु उचित रहेको उनको भनाइ थियो।
यस्तै समाजसेवी गोपीनाथ योगीले ऐतिहासिक वस्तुको संरक्षण गर्नुपर्ने बताए। उनले भने, ‘अहिले तुलसीपुरको इतिहास जनाउने एउटा रतननाथ मन्दिर मात्र छ। यहाँ इतिहास जनाउने वस्तु सबै मासिएका छन्। त्यसैले सल्यानी राजाको पालामा बनेको जुद्ध समशेरको सालिकको संरक्षण गर्नुपर्छ।’
यस्तै उनले यो सालिक राप्ती प्रादेशिक अस्पतालको जग्गामा रहेको भन्दै यसको संरक्षणमा अस्पताल, वडा कार्यालय र उपमहानगरले ध्यान दिनुपर्ने बताए।
उनका अनुसार अहिले अस्पताल रहेको ठाउँमा सल्यानी राजको दरबार थियो। राजाहरू सल्यानमा जाडो हुँदा दाङमा आउने र दाङमा गर्मी हुँदा सल्यान जान्थे।
अस्पतालले सालिकको संरक्षण गर्ने जनाएको छ। सालिक भएको ठाउँमा कुनै पनि संरचना बनाउने योजना नरहेको र यदि बनाउनु परे त्यसलाई संरक्षण गरेर बनाउने अस्पताल विकास समितिका अध्यक्ष पदमप्रसाद न्यौपानेले बताए।
उनले भने, ‘अहिले संरचना बनाउने योजना छैन। बनाउनुपरे पनि हामीसँग तुलसीपुर-६ गोलौरामा गोविन्द रजौरेले दिएको ४ कट्ठा जग्गामा बनाउनेछौँ।’
आफूहरूको ध्यान स्वास्थ्यसँग सम्बन्धित सेवा कसरी दिने भन्नेमा गएको हुँदा पनि सालिकको संरक्षणमा ध्यान नपुगेको उनले स्विकारे। उनले भने, ‘५० शय्याबाट सञ्चालन भएको अस्पताललाई २०० शय्याको बनाएका छौँ। अस्पतालमा जनशक्ति कमी हुँदा हाम्रो ध्यान सबै त्यता छ। त्यसैले गर्दा पनि सालिक संरक्षणमा ध्यान गएन। अब हामी सालिक संरक्षणका लागि विभिन्न निकायसँग समन्वय गरी काम गर्नेछौँ।’
यसैगरी तुलसीपुर उपमहानगरले पनि सालिक संरक्षणका लागि योजना बनाएको बताएको छ। केही समयअघि सालिकको सरसफाइ गरे पनि विभिन्न कारणले नभ्याउँदा समस्या भएको भन्दै सालिक संरक्षण गर्ने वडाध्यक्ष वीरेन्द्रकुमार शाहले बताए।
उनले भने, ‘हामीले सालिक जोगाउनुपर्छ भन्ने सोचेका थियौँ। जनताको काममा बढी ध्यान दिनुपर्दा कहिले नभ्याएर र कहिले बिर्संदा काम हुन सकेको थिएन। अब सालिक संरक्षण गरेर अगाडि बढ्नेछौँ। ऐतिहासिक वस्तुको संरक्षण गर्नुपर्छ भन्ने हाम्रो पनि मान्यता छ।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।