|

पाल्पा : सोमबार पाल्पामा पनि विविध कार्यक्रम गरी ४१औँ मगर एकता दिवस मनाइयो।

बगनासकाली गाउँपालिकाको सहयोगमा आदिवासी जनजाति समन्वय समितिको आयोजना र नेपाल मगर संघको सहआयोजनामा दिवस मनाइएको हो।

मगर संस्कृति झल्किने साँस्कृतिक कार्यक्रम आयोजना गरेर दिवस मनाइएको थियो। दिवस मनाउन गाउँपालिकासहित छिमेकी तानसेन नगरपालिकाबाट समेत सयौं मानिस पुगेका थिए।

अधिकांश मानिस मगर वेषभूषामा सजिएर कार्यक्रम स्थल पुगेका थिए। बालबालिका, युवा र ज्येष्ठ नागरिकले समेत मगर पोसाकमा चिटिक्क बनेका थिए। पुरुषले आसकोट, पटुका र घलेक पहिरिएका थिए। महिलाले गुन्यो, चोली, पोते र घलेक तथा पछ्यौरा ओढेका देखिन्थे।

कतिपय डम्फु मादल भिरेका थिए। स्थानीय झाम्रे, सालैजो, ठूलो नाच, कौडा नाच लगायतका प्रस्तुति प्रस्तुत गरेका थिए। ज्येष्ठ नागरिकले गाएका थिए। युवा नाचेका देखिन्थे। बालबालिकादेखि ज्येष्ठ नागरिक समेत हेर्नका लागि निकै उत्साहित देखिन्थे।

मगर समुदायको इतिहास बोकेका कतिपय संस्कृति र परम्परा पुस्तान्तरण गर्न आवश्यक रहेको युवा टीकाबहादुर थापाले बताए। आधुनिकतासँगै पछिल्ला पुस्ताले संस्कृति बिर्सिन थालेको नेपाल मगर संघका पूर्व केन्द्रीय सदस्य मोहन थापाले बताए।

बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती चिदीले यहाँको मगर समुदायको भाषा, वेषभूषा, कला, संस्कृति संरक्षण संवर्द्धनका लागि गाउँपालिकाले सहयोग गर्ने बताइन्।

गाउँपालिकाभित्रको जातीय सद्‌भाव कायम राख्नका लागि सबै जातजातिको संस्कृति र संस्कार बचाउन आफूले सहकार्य गर्ने उनले बताइन्। गाउँपालिकाले विशेष योजना तय गरेर सबै जातजाति र समुदायको संस्कृति जगेर्ना गर्ने चिदीले बताइन्।

कार्यक्रमका अवसरमा मगर समुदायबाट निर्वाचित गाउँपालिका अध्यक्ष सरस्वती चिदी र वडा नम्बर ३ का वडाध्यक्ष तथा गाउँपालिका प्रवक्ता टीका थापालाई सम्मान गरिएको थियो । यस्तै कार्यक्रममा सहभागी प्रतियोगीलाई नगदसहित प्रमाणपत्रले पुरस्कृत गरिएको थियो।

आदिवासी जनजाति समन्वय समिति बगनासकालीका अध्यक्ष गणबहादुर बुढाथोकी मगर समुदायका फरक खालको संस्कृति रहेको र यसको संरक्षणका लागि विशेष कार्यक्रम र बजेटको व्यवस्था हुनुपर्ने बताए।

मगरको इतिहास, भाषा, धर्म, कला, संस्कार, संस्कृतिको संरक्षण र संवर्धन गर्ने उद्देश्यले २०३९ सालको फागुन १५ गते तनहुँको दमौलीमा पहिलोपटक राष्ट्रिय स्तरमा मगरहरू भेला भई मगर संघ गठन गरेका थिए। सोही दिनको अवसरमा मगर एकता दिवस मनाउँदै आएको जानकार बताउँछन्।

मगर एकता दिवसको अवसरमा बगनासकाली गाउँपालिकासहित पाल्पाका सबै स्थानीय तहले सोमबार सार्वजनिक बिदा दिएका थिए। सबै स्थानीय तहले विविध कार्यक्रम गरी यो दिवस मनाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.