|

इलाम : देशकै व्यवस्थितमध्ये पर्छ इलाम कारागार। सजाय भुक्तान गर्ने कारागारहरूमा क्षमताभन्दा बढी कैदी राख्नेदेखि खानेपानी, शौचालय, स्वास्थलगायत आधारभूत कुरामा पनि देशभरका जेलहरूको अवस्था नाजुक रहेको गुनासो आइरहेका वेला इलाम कारागारलाई सुधार गृहको रुपमा लिने गरिएको छ।

तर इलाम कारागारको व्यवस्थापनभित्रको अँध्यारो पाटो भर्खरै सार्वजनिक भएको छ। इलाम कारागारमा कानुनले वर्जित गरेका मदिरासेवन, जुवा तास खेल्न तथा मोबाइल फोनसमेतको प्रयोग हुने गरेको पाइएको छ।

कारागारभित्रका कैदी र थुनुवाले कारागारलाई मदिराको प्रयोग र तासको अखडा बनाइरहेका छन्। कैदी र थुनुवाहरू मदिरासेवन गरी तास खेलेर मनोरञ्जन गर्ने गरेका छन्।

कारागारभित्र कैदी र थुनुवाहरूका लागि शारीरिक ब्यायाम गर्न जिम, भलिबल, फुटसल, बुद्धिचाल, क्यारेम बोर्ड, ब्याडमिन्टन, स्किपिङलगायत खेल खेल्ने सुविधा हुन्छ।

साथै पुस्तक र पत्रपत्रिका पढ्न पुस्तकालय, सूचना तथा मनोरञ्जनका लागि रेडियो सुन्न र टेलिभिजन हेर्ने सुविधा हुन्छ तर इलाम कारागारमा भने कर्मचारी र सुरक्षाकर्मीको सेटिङबाटै मदिरा भित्रिने गरेको पाइएको छ।

कारागारभित्र मदिरा र तास भित्रिएसँगै त्यहाँका कैदी र थुनुवाहरू मदिरासेवन, तास खेलिरहेको भिडियो बाहिरिएपछि कर्मचारी र सुरक्षाकर्मीको सेटिङ भएको पुष्टि भएको छ।

कारागारमा रहेका कैदी र थुनुवाहरू बाहिर निस्कन पाउँदैनन्। कुनै कामका लागि बाहिर निस्कनै परे पनि प्रहरीले हतकडी लगाएर सँगसँगै मात्र निस्कन पाउँछन्। बाहिरबाट आफन्तले खानेकुरा लैजाँदासमेत लगेका सामान सबै हेरेर लैजाने व्यक्तिले चाखेपछि मात्रै भित्र प्रवेश गराउन मिल्छ।

जिल्ला कारागार इलामका जेलर सुमित मगरले उक्त भिडियो कारागारभित्रकै रहेको स्विकारेका छन्। मगरले सो भिडियो इलाम कारागारकै रहेको र त्यहाँ देखिएका केही कैदीबन्दी अहिले पनि त्यहीँ रहेको स्वीकार गर्दै भिडियो देख्दा आफू पनि अचम्भित परेको बताउँदै कारागारभित्र भएको यस्तो क्रियायाकलापको निष्पक्ष छानबिन गर्ने बताए।

तर, कारागारभित्र मदिरा र तास भित्रनुमा आफ्नो सेटिङ रहेको कुरा भने अस्वीकार गरेका छन्।

‘त्यो भिडियो कहिलेको हो र कसरी त्यस्तो भयो भन्ने कुराको अनुसन्धान सुरु भएको छ। मैले कर्मचारी र सुरक्षाकर्मीसहित २५ जनालाई लिखित स्पष्टीकरण लिइसकेको छु। कैदीलाई पनि सोधेको छु‚’ जेलर मगरले भने, ‘हामी अनुसन्धानकै क्रममा छौं। अनुसन्धानको प्रतिवेदनबाट मात्र सबै कुरा भन्न सकिन्छ।’

उनले कारागारभित्र अनुशासनहीन काम गर्न नपाइने र कानुनले बन्देज गरेका कुराहरू प्रयोग गर्न नपाइने र बिक्री वितरण गर्न नपाइने बताए। सेटिङबिना कसरी कारागारभित्र लैजान सकिन्छ भन्ने प्रश्नमा मगरले अनुसन्धानबाट सबै कुरा प्रष्ट हुने बताए।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले कारागारभित्र भएको क्रियाकलापबारे छानबिन गर्न कार्यदल गठन भएको बताउँदै कार्यदलको प्रतिवेदनपछि मात्र विस्तृत रुपमा भन्न सकिने बताए।

‘घटनाका सम्बन्धमा छानबिन गरी ३ दिनभित्र सुझावसहितको प्रतिवेदन पेश गर्न छानबिन कार्यदल गठन गरिएको छ। कार्यदलले स्थलगत रुपमा अध्ययन गरेर के प्रतिवेदन दिन्छ, त्यसपछि मात्र भन्न सकिन्छ‚’ पोख्रेलले भने, ‘घटना कसरी भयो, कसको दोष छ, के के पक्षमा सुधार गर्नुपर्ने हो, आगामी दिनमा के गर्न सकिन्छ भन्ने भन्न सकिन्छ।’

जिल्ला सुरक्षा समितिको बैठकले जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हरिकुमार थापाको संयोजकत्वमा प्रहरी निरीक्षक विपन विश्वकर्मा र नायव सुब्बा नित्यानन्द घिमिरे सदस्य रहेको कार्यदल गठन गरेको छ।

कार्यदलले स्थलगत रुपमा निरीक्षण गरी सुझावसहितको प्रतिवेदन पेश गर्नेछ। नेपालकै पहिलो नमुना सुधार गृहको रुपमा भौतिक संरचना निर्माण गरिएको इलाम कारागारमा इलाम हाल २ सय ८० जना रहेका छन्। सो कारागारको क्षमता १ सय २५ जनाको मात्र हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.