ब्याजदर घटाउन माग

|

धनगढी : बैंकहरूले लिइरहेको चर्को ब्याजदरविरुद्ध सुदूरपश्चिमका उद्योगी, व्यवसायी तथा व्यापारीहरू केही दिनदेखि आन्दोलित छन्।

उनीहरु बैंक तथा वित्तिय संघसंस्थाले चर्को ब्याज असुलिरहेको भन्दै आन्दोलित बनेका हुन्। आन्दोलनका क्रममा उनीहरूले बिहीबार धनगढीसहित सुदूरपश्चिम प्रदेशमा ‘नो डिपोजिट’ अभियान चलाउँदै विरोध जनाएका छन्।

उद्योग वाणिज्य महासंघको अगुवाइमा भइरहेको आन्दोलनअन्तर्गत बैंक तथा वित्तिय संस्थामा बिहीबार कुनै पनि व्यक्तिलाई रकम जम्मा गर्न नदिन ‘नो डिपोजिट’ कार्यक्रम गरेका हुन्।

व्यवसायीको आन्दोलनका कारण बिहीबार सर्वसाधारणले समेत बैंक खातामा रकम जम्मा गर्न पाएका थिएनन्। धनगढीमा बिहान विरोधसहित प्रदर्शन गरेका व्यवसायीहरुले दैनिक ९ देखि ११ बजेसम्म व्यापार, व्यवसाय बन्द गर्ने गरेका छन्।

उनीहरूले बैंक तथा वित्तिय संस्थाले अस्वाभाविक रुपमा बढाएको ब्याजदर घटाएर एक अंकमा कायम गर्नुपर्ने माग राखेका छन्।

कैलालीसहित सुदूरपश्चिम प्रदेशका सबै जिल्ला तथा नगरहरूमा यो आन्दोलन जारी छ। उनीहरूले सरकारले ब्याजदर नघटाउँदासम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।

नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशले जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरूसँगको समन्वयपछि आन्दोलनका कार्यक्रम तय गरिएको थियो। सोहीअनुसार सबै जिल्ला र नगरमा आन्दोलन भइरहेको हो।

हिजो बुधबार पनि व्यवसायीहरूले धनगढीको नेपाल राष्ट्र बैंक अगाडि विरोध प्रदर्शन गरेका थिए। यसअघि मासिक ७ प्रतिशत तिर्दै आएको भए पनि वित्तीय संस्थाहरूले हाल एकैचोटी ब्याजदर बढाएर १७ प्रतिशसम्म पुर्‍याएपछि व्यवसायी आन्दोलित हुँदै आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.