|

धनगढी :  सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले भोलि (आइतबार) प्रदेश सभामा विश्वासको मत लिने भएका छन्।

२६ माघमा एमालेका राजेन्द्रसिंह रावललाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि उनी पदमुक्त भएका थिए।

त्यसपछि १९ जना प्रदेश सभा सदस्य रहेको नेपाली कांग्रेसका संसदीय दलका नेता कमलबहादुर शाह ठूलो दलको हैसियतमा सोही दिन मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

उनै शाहले संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिदैछन्।राष्ट्रतिको निर्वाचनलाई लिएर समीकरण फेरिएपछि उनले विश्वासको मत लिने भएका हुन्। नयाँ बनेको समीकरणमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र नेकपा एकीकृत समाजवादी लगायतका दलहरू छन्। त्यसकारण मुख्यमन्त्री शाहले विश्वासको मत पाउनेमा आफू ढुक्क रहेको जनाएका छन्।

नेकपा माओवादी, समाजवादी, नाउपा र स्वतन्त्र प्रदेश सभा सदस्यले समेत आफूलाई मत दिने उनको दाबी छ। सुदूरपश्चिममा सरकार बनाउन अथवा विश्वासको मत प्राप्त गर्न २७ जना प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ। अहिलेको समीकरणमा मुख्यमन्त्री शाहले सहज रुपमा विश्वासको मत पाउने देखिन्छ।

उन्मुक्तिको यस्तो बार्गेनिङ !

टीकापुर हत्याकाण्डमा दोषी प्रमाणित भएर डिल्लीबजार कारागारमा कैद भुक्तान गरिरहेका रेशमलाल चौधरी संस्थापक रहेको नाउपा पनि नयाँ गठबन्धनमा सामेल छ।

उसले अहिलेको सरकारलाई समर्थन गर्न र मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन  मन्त्रालयको भागबण्डामा लिखित प्रतिबद्धता मागेको छ। मुख्यमन्त्री शाहले आइतबार विश्वासको मत लिने तयारी गरेका बेला आठ दलीय सत्तारुढ गठबन्धनमा आबद्ध नाउपाले लिखित प्रतिबद्धता मागेको हो।

यसअघि नाउपाले रेशमलगायत टीकापुर घटनाका राजबन्दीको रिहाइ नै आफ्नो प्रमुख मुद्दा भएको बताउदै आएको थियो। तर अहिले नाउपाले त्यो मुद्दा छाड्न थालेको बुझिएको छ। ‘दलीय सहमतिको लिखित हस्ताक्षरबिना विश्वासको मत दिन सकिँदैन,’ नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठले फेसबुकमा लेखेकी छन्।

अध्यक्ष श्रेष्ठको स्टाटसलाई खण्डन गर्दै नागरिक उन्मुक्ति पार्टी प्रदेश संसदीय दलका नेता रामेश्वर चौधरीले सरकारमा जाने अवस्थामा मन्त्रालयको भागबण्डाका सम्बन्धमा लिखित प्रतिबद्धता दिनुपर्ने माग पार्टीको रहेको बताए। ‘हामी अहिलेको सरकारलाई विश्वासको मत दिने समझदारीमा पुगेका छौँ तर उहाँहरूले मन्त्रालयको भागबण्डामा लिखित प्रतिबद्धता जनाउनुपर्छ,’ चौधरीले भने, ‘उहाँ(मुख्यमन्त्री) ले दिनुभएन भने त्यसपछि  सोच्ने अवस्था आउन सक्छ।’

शनिबार डिल्लीबजारस्थित कारागारमा पार्टीका संस्थापक रेशम चौधरीलाई भेटेर धनगढी फर्किरहेका चौधरीले लिखित प्रतिबद्धता आएपछि मात्र विश्वासको मतका सम्बन्धमा दलको बैठक बसेर निर्णय लिइने बताए।

पार्टीका प्रमुख सचेतक लक्ष्मणकिशोर चौधरीले पनि लिखित प्रतिबद्धता दिएमा विश्वासको मत दिने पक्षमा नाउपा रहेको बताए।

तत्कालीन एमाले नेतृत्वको गठबन्धनमा प्रदेश सरकार गठनमा नागरिक उन्मुक्ति पार्टी निर्णायक थियो तर अहिलेका मुख्यमन्त्री शाहले भने नाउपा बाहेकका कांग्रेस(१९), माओवादी केन्द्र(११) र नेकपा एकीकृत समाजवादी (४), एक स्वतन्त्रको साथ पाउँदा विश्वासको मत पाउने अवस्था छ। सुदूरपश्चिममा उन्मुक्तिका ७ जना प्रदेशसभा सदस्य छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.