|

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिँदै छन्। दिउँसो १ बजे मुख्यमन्त्री शाहले विश्वासको मत लिने गरि प्रदेश सभाको बैठक आह्वान गरिएको छ।

माघ महिनाको २६ गते मुख्यमन्त्रीमा नियुक्त भएका शाहले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ। सोहीअनुसार आज शाहले विश्वासको मत लिँदै छन्।

केन्द्रमा नयाँ समीकरण (राष्ट्रपति चुनावको सम्मुखमा बनेको आठ दलीय गठबन्धन) बनेसँगै विश्वासको मत पाउन ढुक्क बनेका मुख्यमन्त्री शाहले आज प्रदेश सभाबाट दुईतिहाइ मत पाउने देखिएको छ।

गठबन्धनका दलहरु नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, नेकपा एकीकृत समाजवादी र एक स्वतन्त्र प्रदेश सभा सदस्यले मुख्यमन्त्री शाहलाई मत दिने भएका छन्।

यसअघि नागरिक उन्मुक्ति पार्टी र माओवादी केन्द्रले पावर सेयरिङना सम्मानजनक स्थानको माग गर्दै मत दिन आनाकानी गरिरहेकोमा अहिले पार्टीको शीर्ष तहले मत दिन निर्देशन दिएको छ। त्यसपछि गठबन्धनका सबै दलहरु विश्वासको मत दिन तयार भएका छन्।

२७ पुसमा मुख्यमन्त्री नियुक्त एमालेका राजेन्द्र सिंह रावल विश्वासको मत नपाउँदा २९ दिनमै पदमुक्त भएका थिए।

त्यसपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम संसदको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा कांग्रेसका शाह २६ माघमा मुख्यमन्त्री नियुक्त भएका थिए।

५३ प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिममा सरकार बनाउन २७ सांसदको आवश्यकता पर्दछ।

कांग्रेसका १९, माओवादीका ११ (सभामुख), नागरिक उन्मुक्तिका ७ र  एकीकृत समाजवादीका ४ सहित ४१ सांसद नयाँ गठबन्धनसँग छन्। प्रदेश सभामा नेकपा एमालेका १० (उपसभामुख), राप्रपा र स्वतन्त्र १-१ सांसद छन्। आठ दलीय गठबन्धनमा सहभागी दलसहित एक स्वतन्त्र प्रदेश सभा सदस्यले मत दिँदा मुख्यमन्त्री शाहले ४१ मत पाउनेछन्। जो प्रदेश सभाको दुईतिहाइ मत हो।

२०७४  निर्वाचनको कार्यकालमा पाँच वर्षसम्म स्थायी तवरले चलेको सुदूरपश्चिम सरकार यसपटक भने सबैभन्दा पहिले फेरिएको हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.