|

विराटनगर : विद्यार्थीहरूको साझा संस्था स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको सरगर्मी महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा पनि बढेको छ। 

देशभरका क्याम्पसमा निर्वाचनको घोषणा भएसँगै यतिवेला महेन्द्र मोरङका  विद्यार्थी नेताहरू स्ववियु निर्वाचनको तयारीमा जुटेका हुन्।

सामूहिक भेला, बैठकदेखि विभिन्न कार्यक्रमको आयोजना गर्दै निर्वाचनको तयारीमा जुटेका विद्यार्थीहरूका लागि सिंगो क्याम्पसको नेतृत्व पंक्तिमा कसलाई उभ्याउने भन्ने चर्चाको विषय बनेको छ।

क्याम्पसको आन्तरिक समस्या र राजनीतिक खिचातानीको चेपुवामा परेको स्ववियु निर्वाचन ०६५ सालदेखि महेन्द्र मोरङ क्याम्पसमा  हुन सकेको छैन। लामो समय स्ववियु निर्वाचन नहुँदा विद्यार्थीहरू नेतृत्वविहीन अवस्थामा रहेको स्ववियु निर्वाचनका लागि सभापतिका आकांक्षी विद्यार्थी नेताहरू बताउँछन्।

यसले गर्दा क्याम्पसको प्रशासनिक, भौतिक साथै शैक्षिक क्षेत्रमा सुधार हुनुपर्नेमा झन् झन् खस्कँदै गएको उनीहरूको आरोप छ।

के भन्छन् विद्यार्थी?

स्ववियु निर्वाचनको आन्तरिक तयारी भइरहेको अनेरास्ववियुका जिल्ला कमिटी सहसचिव नविन पहाडी बताउँछन्। उनी स्ववियु निर्वाचनका लागि अनेरास्ववियुको तर्फबाट सभापतिका आकांक्षी पनि हुन्।

निर्वाचनमा मात्रै नभएर अन्य समयमा पनि विद्यार्थीहरूका समस्या हल गर्दै आइरहेको बताउने उनी लामो समयदेखि स्ववियु निर्वाचन हुन नसक्दा विद्यार्थी नेतृत्वविहीन भएको तर्क गर्छन्।

माथिल्लो निकायमा हुने राजनीतिक दलहरूको खिचातानी र टसलका कारण लामो समयसम्म स्ववियु निर्वाचन हुन नसकेको उनको बुझाई छ।

‘लामो समयसम्म स्ववियु निर्वाचन नहुनुको मेरो व्यक्तिगत धारणा केन्द्रमा राजनीतिक दलहरूमा हुने खिचातानी, टसलका कारण  हो,’ उनी भन्छन्, ‘कहिले उमेर हदबन्दीको नाममा निर्वाचनलाई टार्ने त कहिले भागबण्डा‚ नियुक्तिलगायतले हो।’

त्रिविअन्तर्गत रहेको क्याम्पसमा  स्ववियु निर्वाचन नहुँदा क्याम्पसको विद्यार्थीहरूका समस्या ओझेलमा परेको बताउँदै उनले क्याम्पस प्रशासन पनि  गलत हिसाबले दिनदिनै बढेर गएको हुँदा नकारात्मक सन्देश फैलिएको उनको भनाई थियो।

क्याम्पसभित्रका नकारात्मक गतिविधि अन्त्य गर्न पनि आफू स्ववियु निर्वाचनका लागि अनेरास्ववियुको तर्फबाट सभापतिको आकांक्षी रहेको उनले बताए।

एकीकृत समाजवादीनिकट अनेरास्ववियूका जिल्ला सचिव निर्मल भण्डारीले आफूहरुले आन्तरिक तवरबाट स्ववियु निर्वाचनको तयारी  थालिएको बताउँछन्।

भण्डारी पनि स्ववियु निर्वाचनका लागि सभापतिमा आकांक्षी हुन्। विद्यार्थीमाझ आफ्नो कुरा राख्दै क्याम्पसलाई सकारात्मक दिशातिर लग्ने एजेण्डाका साथ अगाडि बढेको उनी बताउँछन्।

लामो समयसम्म स्ववियु निर्वाचन हुन नसक्दा क्याम्पसमा देखिएको प्रशासनिक, भौतिक समस्या साथै विद्यार्थीको समस्यामा आवाज उठाउने नेतृत्व नभएको उनले बताए।

स्ववियु निर्वाचन हुन नसक्दा विद्यार्थीको समस्याको समाधान हुन नसक्ने बताउँदै उनले भने, ‘त्यसैले विद्यार्थीको समस्या समाधानका लागि स्ववियु निर्वाचन अनिवार्य छ।’

क्याम्पसमा कर्मचारीका समस्याहरु प्राध्यापकहरुले समयमा नपढाउने जस्ता समस्या रहेको बताउँदै उनले त्यसको समस्या समाधान गर्न सक्छु भन्ने विश्वासले आफू सभापतिमा आकांक्षी रहेको बताउँछन्।

नेवि संघका महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका सभपति जसवन्त पौडलले पनि निर्वाचनको आन्तरिक तयारी भइरहेको बताए। लामो समयसम्म स्ववियु निर्वाचन नहुँदा नेतृत्वविहीन भएकाले पूर्ण सहयोग र काम गर्न नपाएको उनले बताए।

‘नेतृत्वविहीन छ महेन्द्र मोरङ क्याम्पस, विद्यार्थीहरुको माग ठूलो पनि छैन‚’ उनले भने, ‘बुक, होस्टेल, खानेपानी लगायतको समस्या छ। सामान्य समस्याको समाधान पनि हुन सकेको छैन।’

स्ववियुमा आउने नेतृत्वले यसको समाधान गर्नुपर्नेमा जोड दिँदै उनले लामो समयसम्म राजनीतिक अस्थिरताले चुनाव हुन नसकेको बताए।

अखिल क्रान्तिकारीका सहसंयोजक रोहित यादव क्याम्पसमा नेतृत्वविहीन हुँदा विद्यार्थीका सामान्य समस्या पनि समाधान हुन नसकेको बताउँछन्।

अखिल क्रान्तिकारीको तर्फबाट सभापतिका आकांक्षी रहेका उनले आफूहरुको संगठनले पनि निर्वाचनको तयारी तीव्र गतिमा अगाडि बढाइरहेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.