|

विराटनगर : विविध जातजाति, भाषा, धर्म र संस्कृतिको साझा फूलबारी रहेको नेपाल कला र संस्कृतिले धनी मानिन्छ। जहाँ सबै जातजातिको संस्कारअनुसार विभिन्न चाडपर्व मनाइने गरिन्छ।

तीमध्ये होली पर्व प्रत्येक वर्षको फाल्गुण शुक्ल पूर्णिमामा मनाइन्छ। पहाड र तराईमा फरक दिन मनाइए पनि होली एकापसमा सद्‌भावका साथ धुमधामले मनाइन्छ।

माया प्रेम र सद्‌भावका साथै हर्ष उल्लास र उमङ्ग झल्काउने होली एकअर्कालाई विभिन्न रंग दलेर, पानी छ्यापेर मनाइने गरिन्छ। सोमबार उपत्यका, पहाडमा र मंगलबार तराईमा होली मनाइरहँदा विराटनगरमा पनि होलीको रौनक छ।

होलीमा प्रयोग गर्ने रंग, पूजाका सामग्री किनमेलका लागि बजारमा ग्राहकको भीड बढेको छ भने यो पर्व मनाउने तयारी पनि उत्तिकै छ। २३ गते तराईमा होली मनाइने भए पनि विराटनगरका विभिन्न ठाउँमा केही दिन पहिलेदेखि शुभकामना आदानप्रदान गरी मनाइन्छ।

यस्तै महेन्द्र मोरङ क्याम्पसमा अनेरास्ववियूको होली लक्षित कार्यक्रममा भेटिएका विराटनगरका युवा नेता ओसिम आलम आफू मुस्लिम भए पनि सबै खाले पर्व सद्‌भावका साथ मनाउँदै आएको बताउँछन्। त्यसमा पनि होली उल्लासको प्रतिनिधित्व गर्ने पर्व भएकाले एकअर्कामा शुभकामना आदानप्रदान गरेर रंग दलेर मनाउने गरेको उनी सुनाउँछन्।

‘म मुस्लिम समुदायको हुँ। नेपालमा मनाइने सबै पर्व मनाउँदै आएको छु। हामीले मनाउने पर्वले एकअर्को संस्कार र संस्कृतिसँग जोड्ने भएकाले म सबै पर्व सद्‌भावका साथ मनाउँछु’, उनले भने, ‘त्यसमा पनि होली रंगको पर्व हो। यो पर्वले थप प्रेम सद्‌भाव बाँड्ने गर्दछ।’ वर्षेनि आफ्नो घरैमा सबै साथीभाइलाई निमन्त्रणा गरेर शुभकामना आदानप्रदान गर्दै रंग दलेर मनाउँदै आएको उनले बताए। 

इदमा पनि अन्य समुदायले विशेष चासो र सद्‌भावका साथ मनाउने हुँदा आफू पनि दशैँ, तिहार र उधौली, उभौली पर्व मनाउने गरेको उनी बताउँछन्।

किराँत याक्खा छुम्माकी कोषाध्यक्ष शर्मिला देवान पनि होली याक्खा समुदायको विशेष पर्व नभए पनि सद्‌भावका साथ मनाउने गरेको बताउँछिन्। साथीभाइ मिलेर शुभकामना आदानप्रदान गर्दै होली पर्व मनाउँदै आएको बताउने उनी यो वर्षको होली पनि सदाझैँ साथीभाइ जमघट, रंग दलेर मनाउने बताउँछिन्।

‘नेपाल बहुजाति, बहुभाषी भएकाले सबैले मनाउने पर्वलाई समान रूपले लिएर सद्‌भावका साथ मनाउँदा समाजमा राम्रो सन्देश जान्छ’, उनले भनिन्। तराईमा बसोवास गर्ने भएकाले उधौली, उभौली पर्वमा पनि अन्य समुदाय सहभागी हुने भएकाले सबै चाडपर्वलाई अपनत्व र एकताको मन्त्र सम्झेर आफूहरूले धुमधामका साथ होली मनाउँदै आएको उनी बताउँछिन्।

यस्तै विराटनगर–११ का कृषल आले पनि परिवार साथीभाइसँग उल्लासका साथ होली मनाउने गरेको बताउँछन्।

आपसमा मिलन र प्रेमको भाव प्रकट गर्ने रंगको पर्व होलीले विविध समुदायलाई एउटा सूत्रमा बाँध्न थप मद्दत पुग्ने बताउँछन्। जनकपुरका रूपेश दास अध्ययनका क्रममा विराटनगर आएका हुन्।

होली नजिकिएसँगै परिवारको साथमा पर्व मनाउने योजनामा रहेको बताउने उनी आफूहरूको समुदायका लागि होली पर्व विशेष रहेको बताउँछन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.