|

म्याग्दी : लगातारको खडेरीले म्याग्दी सहित धौलागिरि क्षेत्रमा लगाइएको गहुँबाली सुकेको छ। यो वर्ष हिउँदे वर्षा नहुँदा गहुँबाली सुकेको किसानले बताएका छन्।

फागुन अन्तिम साता लागिसक्दा समेत यो वर्ष हिउँदे वर्षा भएको छैन। लगातारको खडेरीले गहुँबाली सुकेको बेनी नगरपालिका–२ का कृषक चन्द्रबहादुर कार्कीले बताए। यति लामो खडेरी अहिलेसम्म नपरेको उनले बताए।

‘यो वर्ष खडेरीका कारण गहुँबाली सुकेको छ। खेत बाँझै छन्, पानी नपर्दा बाँझो जमिनमा मकै रोप्न समेत ढिलो भयो। गहुँबाली सुकेपछि के खाने भन्ने चिन्ताले सताउन थालेको छ’, कार्कीले भने।

सिँचाइ सुविधा नभएका ठाउँमा खडेरीको प्रभाव बढी परेको किसानले बताएका छन्। सिँचाइ सुविधा नभएकै कारण खेतमा लगाएको गहुँबाली सुकिसकेको पुलाचौरका किसान टेकबहादुर विकले बताए।

उनले भने, ‘खडेरीका कारण अधिकांश गहुँबाली सुकिसकेको छ। अझै पानी पर्ने छाँटकाँट छैन। यो वर्ष भोकमरी हुने सम्भावना देखिएको छ।’

लगातारको खडेरीले गहुँबाली सुकेपछि घरपरिवार कसरी पाल्ने भन्ने चिन्ता थपिएको मालिका गाउँपालिका–५ का किसान डेकबहादुर बुढाले बताए। खडेरीका कारण जनजीवन प्रभावित भएको उनको भनाइ छ।

हिमपात हुने समयमा पानी समेत नपरेपछि बालीनाली हुर्कन नपाएको किसानको भनाइ छ।

हिउँदमा खडेरीका कारण गहुँ उत्पादनमा कमी आउने गरेको किसानले बताएका छन्। खडेरीका कारण गहुँबाली उत्पादनमा ह्रास आउन सक्छ। लगातारको खडेरीले गहुँबालीमा नराम्रो प्रभाव परेको छ। खडेरीका कारण हिउँदेबालीको उत्पादनमा कमी आउने भएपछि खाद्यान्न आयातमा वृद्धि हुने भएको छ।

वर्षा र हिमपात नभएपछि सिंचाइको अभावले गहुँ, जौं लगायतका हिउँदे खेतीखेतबारीमै सुक्न थालेको धवलागिरि गाउँपालिका–२ लमसुङका पलु पुनले बताए।

धान उत्पादन घटेको अवस्थामा हिउँदेबाली समेत खेतमै सुक्न थालेपछि कृषक समस्यामा परेका छन्। खेतमा लगाएको गहुँ, जौंसँगै तरकारी खेतीमा समेत सिंचाइ गर्न समस्या भएको धवलागिरि गाउँपालिका–७ ताकमका स्थानीय दीपक सुवेदीले बताए।

हिमपात नभएपछि हिमालको हिउँ पग्लिएको छ। हिउँ पग्लिएपछि हिमाल नांगिदै गएका छन्। हिउँ नपरेपछि यतिबेला धवलागिरि, नीलगिरि, अन्नपूर्ण, गुर्जा, चुरे लगायतका हिमाल रङ उडेझैं फिक्का देखिन थालेका छन्।

मौसमी हिमपात हुन छाडेर बेमौसमी हिमपात हुन थालेपछि स्थानीयवासीले हिमाली तथा उच्च पहाडी क्षेत्रमा जलवायु परिवर्तनको असर महसुस गर्न थालेको धवलागिरि गाउँपालिका–१ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए।

समयमा हिमपात नहुँदा हिमालमा हिउँको मात्रा घट्दै जाँदा हिमाल काला पहाड जस्ता देखिन थालेको र जंगली फूलहरूमा समेत त्यसको प्रभाव देखिएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोरेपानीका पर्यटन व्यवसायी क्याप्टेन डमबहादुर पुनले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.