|

चितवन : जिल्लामा पालिएका कुकुरमा ‘पार्वो भाइरस’को सङ्क्रमण देखिएको छ। 

भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र चितवनका अनुसार जिल्लाका विभिन्न स्थानमा पालिएका कुकुरमा सङ्क्रमण देखिएको हो ।

केन्द्रका सूचना अधिकारी डा प्रभात न्यौपानेले अस्पतालमा उपचारका लागि ल्याइएका कुकुरमा ३० देखि ४० प्रतिशतमा  भाइरस देखिएको बताए। मौसममा आएको परिवर्तनसँगै यो समस्या आएको हो। घरपालुवासहित छाडा छोडिएका कुकुरमा देखिने गरेको उनको भनाइ छ ।

पार्वोको सङ्क्रमण भएका कुकुरमा खानमन नलाग्ने, पखाला लाग्ने, रगतमासी पर्ने जस्ता लक्षण देखापर्ने डा. न्यौपानेले बताए। सामान्यतया पार्वो खतरनाक समस्या नभए पनि उपचार नभएमा कुकुरको मृत्यु हुन्छ। कुकुरलाई नियमित खोप नलगाउँदा यस्तो समस्या देखा पर्छ। 

कुकुरलाई डीएचएलपिपी नामक खोप नियमित पाँच वटा दिएमा यस्ता संक्रमण नहुने चिकित्सक बताउँछन्। अधिकांश घरपालुवा कुकुरमा नियमित खोप लगाउने अभ्यास नभएकाले यस्तो खालको समस्या देखिने गरेको डा. न्यौपानेले बताए।

कुकुरलाई जन्मिएको छ देखि आठ हप्तामा पार्वो विरुद्धको नियमित खोप लगाउन चिकित्सकको सुझाव छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.