‘विकास समिति खारेज नभए काम हुन्थ्यो’

|

काठमाडौं : मेलम्चीको खानेपानी यो वर्षामा पनि फेरि बन्द हुने सम्भावना बढेको छ। सरकारले थप संरचना निर्माण कोमार्फत गराउने भन्ने टुंगो लगाउन नसकेपछि बाह्रै महिना उपभोक्ताले खानेपानी उपयोग गर्न नपाउने सम्भावना बढेको हो।

अब तीन महिना मात्रै हिउँद बाँकी छ। त्यसपछि असारबाट पानी पर्न थाल्छ तर सरकारले हालसम्म मेलम्ची खानेपानी आयोजनाको थप संरचना निर्माणको काम शुरु गर्ने विषयमा कुनै निर्णय गर्न सकेको छैन।  

सरकारले चालू आव ०७९/८० को बजेट वक्तव्यमा मेलम्ची खानेपानी विकास समिति खारेज गर्ने घोषणा गरेको थियो। गत जेठ १५ गते बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले भनेका थिए, ‘मेलम्ची खानेपानी विकास समिति र ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति खारेज गरिएको छ। यी समितिबाट सम्पादन हुँदै आएका काम खानेपानी तथा ढल व्यवस्थापन विभाग मातहतबाट सञ्चालन गर्ने व्यवस्था मिलाइनेछ।’

तर मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तका अनुसार मेलम्ची खानेपानी समिति खारेज गर्न मन्त्रिपरिषद्‌बाट कुनै निर्णय भएको छैन। यसले गर्दा काम गर्न अन्योल थपिएको छ। 

समितिलाई नयाँ ढंगबाट सक्रिय बनाई मेलम्ची खानेपानी आयोजना सञ्चालन गर्न मेलम्ची खानेपानी विकास बोर्ड, उपत्यका खानेपानी आपूर्ति व्यवस्थापन बोर्ड, काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेयल)अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालय गाभेर नयाँ बोर्ड गठन गर्न मन्त्रिपरिषद्‌मा प्रस्ताव पुगिसकेको छ।

त्यहाँबाट हालसम्म केही निर्णय नहुँदा नयाँ संरचना बनाउने विषयमा अन्योल कायम रहेको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता पन्तले बताए।

उनले भने, ‘अब त बाह्रै महिना उपत्यकामा पानी ल्याउनुपर्ने आवश्यक छ तर हालसम्म सरकारले केही निर्णय गर्न सकेको छैन। त्यही भएर कहिलेबाट १२ महिना नै पानी ल्याउन सकिन्छ‚ कुनै टुंगो छैन, काम हुन सकेन भने त वर्षातमा पानी बन्द नै हुन्छ।’

उनका अनुसार काठमाडौं उपत्यकाभित्र बाह्रै महिना पानी ल्याउन त्यहाँ थप संरचना निर्माण गर्नुपर्ने हुन्छ तर सरकारले कुन निकायमार्फत ती काम गर्ने भन्ने नै टुंगो लगाउन सकेन। विकास समिति खारेज नगर्नुपर्ने र खारेज नभए अहिले धमाधम काम हुने उनले बताए।

‘विकास समिति खारेज नहुनुपर्ने थियो, खारेज नभएको भए विकास समितिले काम शुरु गरिसक्थ्यो तर खारेज भएपछि अन्य काम अलपत्र परे’‚ उनले भने।

यसअघिपूर्वयोजनाबिनै बजेटमार्फत समिति खारेज, मेलम्चीको पानी रोक्ने कर्मचारीको तयारी मा थिए। विकास समितिका कर्मचारी अधिकारविहीन भएको र कर्मचारीले तलबसमेत नपाएपछि कर्मचारीहरूमा आक्रोश बढेको हो। 

पानी ल्याउँदै, वर्षामा फेरि बन्द गर्दै

मेलम्ची खानेपानी आयोजना शुरु भएको २ दशकपछि काठमाडौं उपत्यकामा पहिलोपटक २०७७ चैत १५ गते पानी वितरण थालिएको थियो। पूर्ण क्षमताअनुसार दैनिक १७ करोड लिटर पानी उपत्यकामा वितरण भइरहँदा २०७८ सालको असार र साउनमा मेलम्ची र इन्द्रावतीमा आएको भीषण बाढीले आयोजनामा ठूलो क्षति पुग्यो।

क्षति भएको ९ महिनापछि अर्थात् गत वैशाख ११ गते क्षति मर्मत गरी अस्थायी रूपमा काठमाडौंमा पानी ल्याइयो तर शहरवासीले राम्रोसँग एक महिना पनि पानी पिउन पाएनन्। पहिला जस्तो बाढीबाट क्षति हुन नदिन भन्दै सरकारले गत जेठ १७ गतेबाट उपत्यकामा मेलम्चीको पानी ल्याउन बन्द गर्‍याे। बर्खा सकिए पनि सरकारले ६ महिनासम्म पानी ल्याउन सकेन। बल्ल गत मंसिर २३ गतेबाट पानी उपत्यकामा वितरण गरियो। सरकारले स्थायी रूपमा पानी ल्याउन पहल नगर्दा फेरि यो वर्षामा बन्द गर्ने अवस्थामा पुगेको छ।

२०७८ सालमै मेलम्ची र इन्द्रावतीमा आएको भीषण बाढी पहिरोबारे राष्ट्रिय तथा अन्तरराष्ट्रिय विज्ञहरूले अध्ययन गरेका थिए। सरकारले हालसम्म ती अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छैन।

केयुकेयलका अनुसार उपत्यकामा दैनिक ४३ करोड लिटर पानीको माग छ तर मेलम्ची खानेपानी आए पनि मागअनुसार आपूर्ति गर्न सकेको छैन। अहिले मेलम्चीकाे पानी उपत्यका ल्याइए पनि मेलम्चीकाे कथा : वर्षामा मुहान, हिउँदमा पाइप टाल्दै ठिक्क छ। जसका कारण शहरवासीले पानीकाे समस्या भाेग्दै आएका छन्।

यसो भन्छ‚ खानेपानी मन्त्रालय

खानेपानी मन्त्रालयकी इन्द्रकुमारी थपलियाले नयाँ बोर्ड गठनका लागि मन्त्रिपरिषद्‌मा प्रस्ताव पठाएको तर अझै निर्णय नभएको बताइन्। तत्काल केही निर्णय नभए मनसुन शुरु हुनुभन्दा अगाडि नै मेलम्चीको पानी बन्द हुने उनको भनाइ छ।

‘बाह्रै महिना ल्याउने भनेको छैन‚ यांग्री र लार्केको पानी आएपछि बाह्रै महिना ल्याउने भनेको होला। प्राविधिक कार्यमा हामी छैनौँ,योजना महाशाखाले हेर्छ, सबै कुरा त बुझ्नैपर्छ, मसँग जानकारी छैन’‚ उनले भनिन्।

कसरी स्थायी रूपमा ल्याउने र संरचना निर्माणमा कति खर्च लाग्छ भनी विषयमा अध्ययन गरिरहेको उनले बताइन्। उनले भनिन्, ‘प्राविधिक कुरा हेर्ने छुट्टै निकाय र टिम छ, उसले अध्ययन गरिरहेको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.