|

विराटनगर : जिम्मेवारी पाएमा महिला पुरुष जत्तिकै सक्षम छन् भन्ने विराटनगरका महिलाले चरितार्थ गरेका छन्।

गन्तव्यमा पुग्न कतिपय महिलाहरू कम्मर कसेर नेतृत्व पंक्तिमा उभिएका छन्। पुरुषसँगको समान पहुँचमा पुगेका धेरै महिला सफल नेतृत्व गर्दै यस्ता विविध प्रश्नलाई प्रमाणित गर्न सफल भएका छन्। यस्तै विराटनगर महानगरपालिकाभित्रका केही विद्यालयमा महिला प्रधानाध्यापकले नेतृत्व सम्हाल्दै आएका छन्।

त्यसो त व्यवस्थापनमा असहज र अप्ठेरा थुप्रै भए पनि चुनौतीपूर्ण यात्रामा आफूलाई सफलता साथ गन्तव्यमा पुर्‍याउन कडा मेहनत गरिरहेका छन्। विद्यालय सञ्चालन कठिन र जटिल भए पनि सहजै चुनौतीसँग सामना गर्ने क्षमता उनीहरूमा छ।

विराटनगर–५ स्थित विराट बहिरा आवासीय मावि प्रदेशस्तरमै फरक क्षमता भएका विद्यार्थी अध्ययन गराउने विद्यालय हो।

२०७२ सालदेखि यहाँ ९–१२ मा प्राविधिक धारअन्तर्गत सिभिल इन्जिनियरिङको पढाइ शुरु भएको छ। यो विद्यालयबाट बहिरा र सुस्तश्रवण भएका १५ जना विद्यार्थीले यो वर्ष सिभिल इन्जिनियरिङतर्फको कक्षा १२ उत्तीर्ण गरे। देशभरका २२ जिल्लाका २३२ जना विद्यार्थी अध्ययनरत विराट बहिरा माविमा मीनु अधिकारीले २०६८ सालदेखि प्रध्यानाध्यापकको जिम्मेवारी सम्हाल्दै आएकी छिन्।

प्रअ अधिकार सजिलो र अप्ठ्यारो दुवै रहेको बताउँछिन्। जागिर खानभन्दा सेवा गर्ने मनसाय राखी विद्यालयमा आउनुपर्ने उनको भनाइ छ।

विद्यालयमा २१० जना विद्यार्थी आवासीय छन्। उनीहरूको दैनिकी व्यवस्थापन, छात्रा र छात्रबीचको हेलमेल र अन्तरघुलनको सन्तुलन मिलाउन घरको काम बिर्सनुपर्ने चुनौती रहेको उनी बताउँछिन्।

छात्रावासमा बस्ने बालबालिकाको रेखदेखमा विशेष सतर्क हुनुपर्ने भएकाले १० जना कर्मचारी विद्यालयको आन्तरिक स्रोतबाट राखिएको उनले जानकारी दिइन्। विद्यालयमा शिक्षक र प्रशिक्षक गरेर २२ जना छन्।

उनका अनुसार फरक क्षमता भएका विद्यार्थीका लागि सरकारले मासिक चार हजार छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ।

त्यस बाहेक विद्यालयको भौतिक संरचना निर्माण छात्र–छात्रा आवासीय भवन निर्माणका लागि प्रअको हैसियतमा अधिकारीले दाता र स्थानीय तहसँग सहयोग लिन सफल भएकी छिन्।

यस्तै विराट महेन्द्र रात्रि माविकी पूर्व प्रअ निरौलाको अनुभव पनि उस्तै छ। विद्यालयको सेवा क्षेत्र फरक छ। औद्योगिक करिडोरअन्तर्गतका विराटनगर, कटहरी, बूढीगंगा र सुनसरीको दुहबीसम्मका विद्यार्थी अध्ययनरत विद्यालयलाई विशेष दृष्टिकोणले सम्हाल्नु परेको उनको बुझाइ छ।

आवश्यकता बुझ्न नसक्दा रात्रिकालीन पढाइबाट छात्राहरू वञ्चित हुँदै गएको उनी बताउँछिन्। छात्राहरूलाई राति घरघरमा छोड्ने यातायातको सुविधा आवश्यक भए पनि त्यसको मर्म बुझ्न व्यवस्थापन समिति, शिक्षक र स्थानीय तह गम्भीर नहुँदा छात्राहरूलाई समस्या रहेको उनको भनाइ छ।

समस्याग्रस्त विद्यालय सम्हाल्ने जिम्मेवारी महिलाले लिएको भन्ने मर्म बुझ्न नसक्दा दैनिक आवश्यकता धान्न समस्या झेल्नु परेको उनी बताउँछिन्।

विभिन्न घटनामा संलग्न बालबिज्याइँ आरोपमा बाल सुधारगृहमा बसेका बालबालिका विराटनगर–३ स्थित बाल सुधारगृह माविमा अध्ययनरत छन्।

यस्ता बालबालिका दुई सयको हाराहारीमा अध्ययनरत विद्यालयको नेतृत्व प्रधानाध्यापक फूलमाया प्रसाईंले गरेकी छिन्। महिलालाई धेरै समस्या रहे पनि सम्हाल्ने क्षमतामा कति पनि कमजोरी हुन नदिएको उनी दाबी गर्छिन्।

सञ्चालन र व्यवस्थापनमा चुनौती रहेको बाल सुधार माविका बालबालिकालाई पढाइमा लगाउन कठिनाइ झेल्नु परेको उनको भनाइ छ। तीन वर्षअघि सञ्चालनमा आएको विद्यालयमा कक्षा ४–१० सम्म अध्ययन अध्यापन हुने गरेको छ।

बालबिज्याइँमा परेका बालबालिकाको शैक्षिक गुणस्तर उकास्न कठिनाइ भए पनि शिक्षाको महत्त्व बुझाउँदै पढाइ मनोविज्ञानको विकास गर्नुपर्ने अवस्था रहेको उनले बताइन्। यस्ता बालबालिकालाई औपचारिकभन्दा सीपमूलक शिक्षा आवश्यक रहेको उनको बुझाइ छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.