|

म्याग्दी : मुस्ताङ जोड्ने सडक मार्ग बेनी–जोमसोम सडकखण्डको जोखिमयुक्त ठाउँ भीरकाटेमा सुरुङ निर्माणको तयारी गरिएको छ।

कालीगण्डकी करिडोर सडकखण्डअन्तर्गत बेनी–जोमसोम खण्डमा अक्करे पहाडमा सुरुङ निर्माणको तयारी भएको हो।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ भीरकाटेमा केही वर्षदेखि वर्षायाममा सडक बाढीले बगाउने र अवरुद्ध हुने समस्या समाधान सुल्झाउन सुरुङ निर्माण गरिने भएको हो। झण्डै ३६० मिटर लम्बाइको सुरुङ निर्माण गरिने आयोजनाले जनाएको छ।

सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा उक्त योजनालाई समेटेको छ। डिजाइनको अन्तिम काम भइरहेको र यसै साता प्रस्तुति हुने कालीगण्डकी करिडोर मालढुङ्गा–कोरला योजनाका प्रमुख जगत् प्रजापतिले बताए।

यो सातामा अन्तिम काम सकाएर र परामर्शदाताबाट प्रतिवेदन पाउने उनले जानकारी दिए। 

उक्त खण्डमा दुईतीन वर्षदेखि नियमित वर्षामा बाढीपहिरोको समस्या थियो। भविष्यमा नदीमा बाढीपहिरो आउँदा सतह बढ्ने हुँदा यो सडकको विकल्प खोजिएको उनले बताए। 

पाँच वर्ष पहिले नै यसको प्रारम्भिक अध्ययन भएको र अहिले आएर यसलाई कार्यक्रमका रूपमा अघि बढाइएको योजनाले जनाएको छ। सुरुङ निर्माणका लागि सरकारले पर्याप्त बजेट विनियोजन गरेकाले समस्या नभएको प्रमुख प्रजापतिले बताए।

चालु आवमा रु. १ करोड २३ लाखको सिलिङ रहेको छ। यसको लागत रु. ८० करोड हुनसक्ने अनुमान गरिएको छ। ठेक्कामा जाँदा त्यो लागत अझै कम हुने देखिएको छ।

यस किसिमको साना सुरुङ पहाडी सडकमा धेरै ठाउँमा आवश्यक रहेको योजना प्रमुख प्रजापतिले बताए। सडकमा मोड कम हुने र त्यसले गर्दा दुर्घटना हुने गरेकामा सुरुङ बनाउँदा सडक सुरक्षित हुने उनको भनाइ छ।

भूबनोटका आधारमा अहिले सञ्चालनमा रहेको सडकले दीर्घकालीन रूपमा काम नगर्ने र अरू संरचना निर्माण गर्न पनि नसकिने देखिएकाले सुरुङको विकल्प रोजिएको उनले जानकारी दिए। उनले भने, ‘सडक छोटो बनाउनेभन्दा सडकको स्थायी संरचना बनाइएको हो।’

सडकमा बढी क्षति हुने खण्डमा भने सुरुङ निर्माणका लागि तयारी अघि बढाइएको उत्तर–दक्षिण करिडोर आयोजना निर्देशनालयका प्रमुख श्यामबहादुर खड्काले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.