पुस्तक लान्छन् तर फिर्ता नदिँदा समस्या थपिँदै

|

काठमाडौं : नेपालको सबैभन्दा ठूलो सार्वजनिक पुस्तकालय हो- त्रिभुवन विश्वविद्यालय (त्रिवि) केन्द्रीय पुस्तकालय। त्रिविद्वारा सञ्चालित यो पुस्तकालय कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्याम्पसभित्र नै सञ्चालनमा छ। त्रिवि स्थापना भएको जति वर्ष पुग्यो‚ यो पुस्तकालय पनि त्यति नै वर्षको भएको छ।

त्रिवि सन् १९५९ मा स्थापना भएको थियो। यही वर्ष राष्ट्रको बौद्धिक सम्पदा जोगाउन, सूचना साक्षरता, पाठक र जीवन–लामो सिकाइ प्रवर्द्धन गर्न, विद्यार्थीहरूको लागि अध्ययन र अनुसन्धानमा अनुकूल वातावरण सिर्जना गर्नलगायत उद्देश्यले पुस्तकालय खुलेको हो। अहिले यो सञ्चालनमा आएको ६३ वर्ष पूरा भयो।

त्रिवि केन्द्रीय पुस्तकालयका प्रमुख पूर्णलाल श्रेष्ठका अनुसार अहिले त्यहाँ ४ लाख ३० हजार पुस्तक छन्। उनले पुस्तक र जर्नललगायत विभिन्न पत्रपत्रिकासमेत रहेको जानकारी दिए।

‘यो पुस्तकालय राष्ट्रिय सम्पत्ति हो, विश्वभरिकाले नै प्रयोग गर्न सुविधा दिन्छ। निःशुल्क उपलब्ध छ, जसले पनि यो प्रयोग गरि बुद्धिको धनी बन्न सक्नुहुन्छ,’ प्रत्येक वर्ष पुस्तकको संकलन बढिरहेको उनको भनाइ छ।

पुस्तकालयमा कस्ता पुस्तक छन्?

त्रिवि केन्द्रीय पुस्तकालयका प्रमुख श्रेष्ठले अन्त्यन्तै महत्वपूर्ण ऐतिहासिक दस्तावेज, पुस्तक, अध्ययन अनुसन्धानमा आधारित सबै पुस्तकहरू रहेको बताए। उनी भन्छन्, ‘हस्तलिखित ग्रन्थहरू छन्, अझै सक्दो सबै पुस्तक, ग्रन्थ डिजिटलाइज गर्ने योजनामा छौँ।’

पुस्तकालयमा विभिन्न कक्षा कोठा नै छुट्याएर पुस्तक व्यवस्थित ढंगले राखिएका छन्। जनरल कलेक्सन, स्पेसल कलेक्सन, पेरियोडिकल्स सेक्सन, अडियो बुक्स, इ-रिसोर्सेज गरेर सेक्सन छुट्याइएको छ।

त्रिवि केन्द्रीय पुस्तकालय अधिकृत विजय शर्माका अनुसार जनरल कलेक्सनमा सबै किसिमका पुस्तक पाइन्छ। पुस्तक निश्चित समयका लागि पढ्न घर लान पाइन्छ। तर स्पेसल कलेक्सनका पुस्तक घर लान पाइँदैन। तत्काल आवश्यक पर्ने किताब त्यहीँ पढ्न सकिन्छ।

​उनले भने, ‘यहाँ नेपालका पुस्तकहरू पाइने त छँदै छ, अमेरिका, जापानलगायत विदेशका पुस्तक पनि पाइन्छन्। अमेरिकन अध्ययनका १३ सय पुस्तक छन्।’ उनले हस्तलिखित ग्रन्थ भने विशेष प्राथमिकताका साथ सुरक्षित राखिएको जानकारी दिए।

‘हस्तलिखित ग्रन्थहरू बक्समा राखिएको छ। यसरी राखिएका ग्रन्थ २ सय वर्षसम्म पनि केही हुँदैन। त्रिवि स्थापनाका बेलाका किताबहरू नि छन्, ७ सय अडियो बुक्स छन्। यी सबै व्यवस्थित र सुरक्षित राख्दै आएका छौँ,’ उनले भने।

डिजिटलाइजमा को–को र कसरी जोडिने ?

त्रिवि केन्द्रीय पुस्तकालय नेपालको सबैभन्दा ठूलो सार्वजनिक पुस्तकालय रहे पनि अझै अधिकांश विद्यार्थीहरूलाई कसरी यहाँ जोडिने जानकारी छैन।

त्रिविले अनलाइन माध्यमबाट पनि यी पुस्तकहरू पढ्न सकिने गरि व्यवस्था गरेको छ तर कसरी घरमै बसेर निःशुल्क किताब पढ्ने? त्यो जानकारी पनि धेरैलाई छैन।

उक्त पुस्तकालय त्रिवि आंगिक क्याम्पसका विद्यार्थीहरूको लागि मात्रै हो कि भन्ने पनि कतिपय विद्यार्थीलाई लाग्नसक्छ। तर त्यसो नभएर सबैले यहाँका पुस्तक पढ्न पाउने त्रिवि केन्द्रीय पुस्तकालय अधिकृत शर्मा बताउँछन्। तर आंगिक क्याम्पसका विद्यार्थीबाहेक अरु विद्यार्थीले भने केही शुल्क तिर्नुपर्छ।

त्रिवि केन्द्रीय पुस्तकालयका अधिकृत शर्माले भने, ‘त्रिविको बाहेक अरूले पनि पढ्न पाउँछन् तर पुस्तकालयको सदस्यता भने लिनुपर्छ। यसका लागि सय रूपैयाँ शुल्क लाग्छ।’

उनका अनुसार त्रिविका आंगिक क्याम्पसका विद्यार्थीहरूले डिजिटलाइज गरेका पुस्तकहरू घरबाटै निःशुल्क पढ्न पाउँछन्। तर यसका लागि प्रकृया भने पूरा गरेपछि मात्र पुस्तकमा पहुँच पुग्छ र पढ्न पाइन्छ।

‘टियूको डोमेनबाहेक अरूलाई हुँदैन टियू डोमेन चाहिन्छ। अनलाइन माध्यमबाट यहाँ जोडिन (https://tucl.edu.np) लग-इन गरेर रिक्वेस्ट फाराम भर्नुपर्छ, यहाँ पठाएपछि टियूको नोटिफिकेसन आउँछ। अनि अरू त्यहाँ भनेअनुसार थप फाराम भरेपछि डिजिटलाइज गरिएको पुस्तक हेर्न सकिन्छ,’ उनले भने।

उनका अनुसार यो सेवा निःशुल्क हो। तर त्रिविका जति पनि आंगिक क्याम्पस छन्‚ त्यहाँका विद्यार्थीहरूले मात्रै यो सुविधा लिन पाउँछन्। अन्य कलेजका विद्यार्थीहरूका लागि अनलाइन प्रणालीमा छिर्न २ सय रूपैयाँ शुल्क लाग्ने उनले बताए।

विद्यार्थीले लगेका पुस्तक फिर्ता नदिँदा थपियो समस्या

पुस्तकालय जाडो महिनामा बिहान ९ बजेदेखि साँझ ४ बजेसम्म खुल्छ। गर्मी महिनामा भने बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म नै पुस्तकालय खुल्छ।

आफूलाई पढ्न मन लागे वा अध्ययन अनुसन्धानका लागि किताब चाहिए त्यहाँ गएर सेवा लिन सकिन्छ। त्यहाँ व्यवस्थित रूपमा पढ्ने वातावरण पनि मिलाइएको छ।

सोमबार पनि पुस्तकालय विद्यार्थीले भरिभराउ थियो। कतिपय पुस्तकालयमै बसेर अध्ययन गरिरहेका थिए।

तर घरमा लगेपछि भने पुस्तक फिर्ता नगर्ने समस्या बढेको त्रिवि केन्द्रीय पुस्तकालयले जनाएको छ। त्यहाँका कर्मचारीहरूका अनुसार तोकिएको समयभित्र ल्याउँछु भनि प्रतिबद्धता जनाएर किताब लगे पनि त्यो समयमा ल्याउँदैनन्।

५ सयभन्दा बढी किताब फिर्ता नआएको त्यहाँका कर्मचारी बताउँछन्। तर समयमा फिर्ता नगर्नेलाई जरिवाना गराउने गरेको त्रिवि केन्द्रीय पुस्तकालय अधिकृत शर्माले बताए।

‘लगेको किताब समयमा नल्याए दिनको १ रूपैयाँका दरले जरिवाना लाग्छ,’ उनले भने, ‘हामी फेरि पछि मार्कसिट दिँदा लाइब्रेरी क्लियरेन्स खोजिन्छ, त्यसवेला पनि फिर्ता नगरेको पाइए सबै डकुमेन्ट रोकिन्छ। मास्टर्स गर्न पाइँदैन, त्यसैले लगे जसरी नै उनीहरूले पुस्तक फिर्ता बुझाउनुपर्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.