शिक्षकलाई तालिम दिन शुरु

|

काठमाडौं : आगामी नयाँ शैक्षिक सत्र (२०८०) बाट ‘स्तरीकृत परीक्षा प्रणाली’ लागू हुने भएको छ।

राष्ट्रिय परीक्षा बोर्डले यसका लागि तयारी थालिसकेको छ। कतिपय विद्यार्थीले यो परीक्षा प्रणाली भनेको के हो? कस्ता प्रश्न आउँछन् भनेर चिन्ता लिने गरेका छन्।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार जुनसुकै ठाउँबाट उत्तरपुस्तिका नाप अर्थात् जाँचे पनि एउटै किसिमको स्ट्यान्डर्डमा नाप्ने ‘स्तरीकृत परीक्षा प्रणाली’ हो। विद्यार्थीहरूको गुणस्तरीय योग्यता परीक्षण गर्ने हो। जसमा पहिला धेरै प्रश्नहरू बनाइन्छ।

विद्यार्थीहरूमा परीक्षण गरिन्छ। यसअघि यस्तो परीक्षण हुँदैनथ्यो। परीक्षण गरिएका ती प्रश्नहरू विद्यार्थीहरूको स्तरअनुसार बैंक स्थापना गरी राखिन्छ। ‘त्यसमा धेरै प्रश्न संकलित हुन्छन्। त्यहाँबाट झिकेर परीक्षामा प्रश्न सोधिन्छ। प्रत्येक प्रदेशमा बैंक स्थापना गरिन्छ। यो पहुँच हरेक स्थानीय तह, विद्यालयसम्मै पुग्छ अनि विद्यार्थीहरूको स्तरअनुसार परीक्षा लिइन्छ’‚ उनले भने।

उनका अनुसार यो प्रणाली भनेको विद्यार्थीहरूको स्तरअनुसारको प्रश्नपत्र छ कि छैन भनेर एउटा स्तर जाँच्ने र स्तरअनुसार परीक्षा लिने कुरामा प्रश्नपत्र निर्माण प्रक्रियालाई राम्रो पार्ने हो।

‘स्तर अनुसार प्रश्न सोध्ने भन्नाले अहिले विद्यार्थीलाई धेरै ज्ञान मात्रै सोधिरहेका छौँ’‚ उनले भने, ‘घोकेर लेखेर कण्ठ पार्ने अनि परीक्षा पास गर्ने प्रवृत्ति छ। यो प्रणाली लागू भएपछि घोक्न पर्दैन। पाठ्यक्रममा राखिएको उद्देश्यअनुसार कति बुझे‚ कति बोध गरे। त्यो बोध गरेका कुरालाई प्रयोगमा कसरी र कति ल्याउन सक्छन्। यसका लागि चाहिँ विद्यार्थीहरूले प्रयोगात्मक र व्यवहारिक रूपले यो परीक्षा लिइन्छ।’

उनले विद्यार्थीहरूको सबै योग्यताको परीक्षण गर्ने र यसका लागि प्रश्नपत्रको स्वरूप भने परिवर्तन गरिने बताए। ‘यस प्रणालीमा प्राप्त उच्च क्षमतालाई व्यवहारमा लागू गर्ने र व्याख्या गर्ने यस्ता विषय जोडिन्छ’‚ उनले भने, ‘यसका लागि प्रश्नपत्रको स्वरूप परिवर्तन हुन्छ। प्रश्नपत्रमा चाहिँ पाठ्यक्रमले यो यो कुरा जाँच्ने भन्यो तर प्रश्नपत्र ज्ञान मात्रै जाँच्ने बनायो भने मिलेन नि। यो खालको जाँच्नका लागि प्रश्नपत्र बन्नुपर्छ।’ 

प्रश्न गाह्रो सोधिन्छ कि भन्ने विद्यार्थीहरूको चिन्तामा उनले सजिलै प्रश्नलाई व्यवस्थित ढंगले सोधिने बताए। उनका अनुसार विद्यार्थीले नसिकेको, नजानेको, कहिल्यै नसुनेको प्रश्नपत्र सोधिँदैन। पाठ्यक्रममा रहेको पाठ पढ्ने र त्यहाँ भएकाकै आधारमा प्रश्न सोधिने उनको भनाइ छ। ‘यसमा विद्यार्थीहरूले आफ्नै शैली, जानेका प्रयोगात्मक कुरा लेख्न सक्छन्। घोक्नुपर्ने अवस्था आउँदैन’‚ उनले भने।

उनका अनुसार प्रश्नपत्र निर्माण गरेर मात्र हुँदैन। यसका लागि ती प्रश्नपत्रअनुसार परीक्षा सञ्चालन र व्यवस्थापन पनि उत्तिकै महत्त्वका साथ हेरिनुपर्ने उनले बताए। ‘एकै किसिमको परीक्षा केन्द्र  हुनुपर्छ’‚ उनले भने, ‘यसले शिक्षण सिकाइमा पनि परिवर्तन गराउँछ। यो क्वालिटी परीक्षा हो, प्रश्नपत्र परीक्षण भए एक अर्का विद्यालय र प्रदेशकोसँग तुलना पनि गर्न मिल्छ।’

पहिलो चरणमा कक्षा ८ मा परीक्षा लिइने

परीक्षा बोर्डका अध्यक्ष शर्माले आगामी नयाँ शैक्षिक सत्रबाट पहिला कक्षा–८ मा स्तरीकृत परीक्षा सञ्चालन गर्ने जानकारी दिए। ‘आगामी वर्षदेखि केही पालिकाका विद्यालयको कक्षा–८ मा यो प्रणालीबाट परीक्षा सञ्चालन हुन्छन्। अहिलेलाई गणित, विज्ञान र अंग्रेजी विषयलाई प्राथमिकतामा राखेका छौँ। विस्तारै सबै विषयको लिइन्छ, कक्षा ८ र १० को नयाँ पाठ्यक्रम लागू हुँदै छ। कक्षा १२ को लागू भइसकेको छ। क्रमशः सबै कक्षामा यो प्रणाली लागू हुन्छ’‚ उनले भने। 

शिक्षकहरूलाई तालिम शुरु

बोर्डले यो प्रणालीबाट परीक्षा सञ्चालन गर्न शिक्षकहरूलाई तालिम प्रदान गर्न थालेको छ। प्रश्नपत्र निर्माण मोडालिटी, शिक्षण सिकाइ पनि परिवर्तन हुने भएकाले यसका लागि शिक्षकहरूलाई तालिम आवश्यक छ।

‘प्रश्नपत्र निर्माण गर्न,कसरी उत्तर पुस्तिका परीक्षण गर्ने, मार्किङ गर्ने, प्रश्नको उत्तर के हुने, यसका लागि शिक्षकहरूलाई तालिम दिनुपर्छ। उत्तरपुञ्जिका अनुसार उत्तरपुस्तिका परीक्षण गर्ने हो। त्यसैले हामीले तालिम सञ्चालन प्रदान गर्न थालेका छौँ।’ 

उनका अनुसार अहिले जिल्लाका शिक्षकहरूलाई तालिम दिइँदै आएको छ। ‘नयाँ सफ्टवेयर छ। त्यसबाट प्रश्नपत्र निर्माण गर्ने, फाइनल गर्ने लगायतका लागि अनलाइनबाट पनि तालिम दिइरहेका छौँ। अब पालिका-पालिकामा तालिम दिने गरी अघि बढेका छौँ। यसका लागि हामीले गाउँपालिका महासंघसँग सहकार्य गरेर निर्णय गरिसकेका छौँ, नगरपालिकाहरूसँग नी समन्वय गरिरहेका छौँ’, उनले भने।  

यी प्रणाली लागू भएपछि शिक्षण सिकाइमा पनि परिवर्तन आउने र शिक्षामा गुणस्तरीयता बढ्ने उनको अपेक्षा छ। ‘प्रश्नपत्र निर्माण, परीक्षा सञ्चालन र उत्तरपुस्तिका परीक्षणमा व्यवस्थित गर्न नसक्दासम्म शिक्षाको गुणस्तर सुध्रिदैन। त्यसैले यो लागू गर्न लागिएको हो’, उनले भने। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.