|

इलाम : इलाम कारागारभित्र तास खेलेको र मदिरा पिएको भिडियो सार्वजनिक भएपछि यसको छानबिन गर्न बनाइएको छानबिन समितिले मुख्य कुरा नै पत्ता लगाउन नसकेको पाइएको छ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हरिकुमार थापाको संयोजकत्वमा बनेको छानबिन समितिको प्रतिवेदनमा मदिरा र तास कसरी कारागारमा भित्रियो भन्नेबारे कुनै तथ्य खुल्न नसकेको जनाएको छ।

तास खेलेको र मदिरा पिएको भिडियो ११ महिनाअघिको भएको दावी गरिएको प्रतिवेदनमा मदिरा र तास कारागारभित्र कसरी प्रवेश भयो भन्ने खुल्न सकेन। ११ महिनाअघिको भिडियो भएको दावी छानबिन समितिले गरे पनि त्यो बेलाका कर्मचारी र सुरक्षाकर्मीहरुको बारेमा खासै छानबिन नगरेको पाइएको छ।

प्रतिवेदनले त्यति बेलाका कर्मचारी र सुरक्षाकर्मीको सेटिङलाई बचाउ गरेको देखिएको छ। प्रतिवेदनले भिडियो पुरानो भएकाले कारागारका अहिलेका कर्मचारी र सुरक्षाकर्मी उक्त घटनामा नमुछिएको भन्दै ‘पानीमाथिको ओभान‍ो’ बनेको छ।

प्रतिवेदनका अनुसार ११ महिनाअघि कारागारको २ नम्बर ब्लकमा एकजना कैदीको मृत्यु भएको थियो। मान्छे मरेका बेला राति जागै बस्नुपर्छ भन्दै कैदी–बन्दीले तास खेलेको र मदिरा पिएको भिडियो त्यति बेलाका असन्तुष्ट चौकीदारले खिचेको प्रतिवेदनमा उल्लेख गरेको छ। एक कैदीलाई चौकीदारबाट हटाइएपछि असन्तुष्ट बनेका उनले भिडियो खिचेको प्रतिवेदनमा उल्लेख छ।

महिला कैदीमार्फत भिडियो सार्वजनिक गराएको निष्कर्ष छानबिन समितिले निकालेको छ। समितिले २५ फागुनमा बुझाएको प्रतिवेदनले भिडियो अहिलेको नभएको देखाएकाले क–कसको संलग्नता रहेको खुल्न नसकेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले जानकारी दिए।

भिडियोमा देखिएका केही कैदी यसअघि नै स्थानान्तरण भइसकेको र हाल रहेका सुरक्षाकर्मी पनि घटनामा संलग्न नभएको प्रतिवेदनमा उल्लेख भएको प्रजिअ पोख्रेलले बताए।

प्रतिवेदनमा आगामी दिनका लागि ७ नीतिगत सुझाव दिएको प्रजिअ पोख्रेलले जानकारी दिए। प्रतिवेदनले आन्तरिक प्रशासनका चौकीदार र नाइकेलाई बढी जिम्मेवार/जबाफदेही बनाउनुपर्ने, कारागारमा लगिने खाद्यान्नको सूक्ष्म जाँच गर्नुपर्ने, कैदी भेटघाट कक्ष व्यवस्थित गरी बढी निगरानी गर्नुपर्ने, कारागार प्रशासन र सुरक्षाकर्मीबीच समन्वय प्रभावकारी बनाउनुपर्ने, स्थानीय व्यक्तिलाई चौकीदारका रूपमा राख्न नहुने, कारागार प्रशासनका कर्मचारीलाई बढीमा १ वर्ष र सुरक्षाकर्मीलाई ६/६ महिनामा परिवर्तन गर्नुपर्ने जस्ता विषयमा सुझाव दिएको प्रजिअ पोख्रेलले बताए।

‘भिडियो पुरानो रहेको र हाल त्यति बेलाका कर्मचारी र सुरक्षाकर्मी नरहेकाले संलग्नताबारे प्रतिवेदनमा प्रष्ट उल्लेख भएन‚’ प्रजिअ पोख्रेलले भने, ‘तर आगामी दिनमा त्यस्ता गल्ती कमजोरी दोहोरिन नदिन नीतिगत सुधारका लागि सुझाव आएका छन्।’

कारागारका कैदी-बन्दीले जेलभित्रै तास खेलेको र मदिरा पिएको आएपछि स्थानीय प्रशासनले केही कैदी–बन्दीलाई स्थानान्तरण र सुरक्षाकर्मी हेरफेर समेत गरेको जनाएको छ।

आन्तरिक प्रशासनको जिम्मेवारीमा रहेका महिला र पुरुष दुवैतर्फका चौकीदार र भिडियोमा देखिएका कैदीलाई कारागार विभागको निर्देशनमा स्थानान्तरण गरिएको जनाएको छ।

गत १५ फागुनमा इलाम कारागारभित्रका कैदी र थुनुवाले मदिरा सेवन गरी तास खेलिरहेको भिडियो सार्वजनिक भएको थियो। भिडियो सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत थापाको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरिएको थियो।

कारागारभित्र निषेधित वस्तु प्रवेश गर्नुमा कार्यालयका कर्मचारी र सुरक्षाकर्मीको सेटिङ भएको भन्दै व्यापक आलोचना भएको थियो। इलाम कारागारको क्षमता १ सय २५ जनाको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.