|

विराटनगर : स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव नजिकिएसँगै विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसलाई यति बेला चुनावी माहोलले छोपेको छ।
चैत ५ गते हुने स्ववियुको चुनावले क्याम्पस परिसरमा आजभोलि विद्यार्थीको आउजाउ पनि उत्तिकै बढेको छ।

त्यसो त महेन्द्र मोरङ क्याम्पस देशका शीर्ष नेता जन्माउने स्थलको रुपमा पनि मानिन्छ। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीदेखि प्रदेशका पूर्वमन्त्री राजनीतिमा उदाएको क्याम्पस हो महेन्द्र मोरङ।

कोशी प्रदेशको ठूलो क्याम्पस रहेको महेन्द्र मोरङमा आफ्नो संगठनलाई जिताउन ठूला विद्यार्थी संगठन कम्मर कसेर लागेका छन्। महेन्द्र मोरङमा २०६५ सालसम्म नेविसंघले ४ पटक, एमालेनिकट अनेरास्ववियुले ३ पटक र माओवादीनिकट अखिल (क्रान्तिकारी)ले एक पटक सभापतिमा जितेसँगै स्ववियुको नेतृत्वका लागि फेरि प्रतिस्पर्धामा उभिएका छन्।

करिब एक दशकपछि हुन लागेको स्ववियु निर्वाचनमा एमाले, कांग्रेस र माओवादी केन्द्रको विद्यार्थी संगठनबीच मुख्य प्रतिस्पर्धा हुने आँकलन विद्यार्थी नेताहरुको छ तर अनेरास्ववियु र नेविसंघ आन्तरिक विवादमा अल्झिएका छन्।

यता, अखिल क्रान्तिकारीले भने विद्यार्थी संगठनमा देखिएको विवाद र आफ्नो संगठनको एकता नै जितको आधार रहेको दाबी गरेको छ। अखिल क्रान्तिकारीले स्ववियु निर्वाचनमा रोहित यादव (विकास) को नेतृत्वमा प्यानल बनाएर चुनावी मैदानमा उत्रिएको छ।

यादव महेन्द्र मोरङ क्याम्पसको शैक्षिक गुणस्तर सुधारदेखि विद्यार्थीहरूलाई सहज रूपमा अध्ययन हुने व्यवस्था लागू गर्ने एजेन्डा बोकेर चुनावी प्रतिस्पर्धामा उत्रेका छन्।

क्रान्तिकारीले जसपानिकट विद्यार्थी संगठन र सिके राउत नेतृत्वको जनमत पार्टीनिकट विद्यार्थी संगठनसँग गठबन्धन गरेको छ। आफ्नो संगठन एकढिक्का रहेको बताउँदै यादव सबैको समर्थनमा जित्ने दाबी गर्छन्।

नेवि संघभित्र तीव्र मतभेद

नेपाल विद्यार्थी संघ (नेविसंघ) मा संस्थापन पक्ष र इतर समूहबीच मतभेद रहेको छ। स्ववियुको अध्यक्षमा संस्थापन पक्षबाट नेविसंघले जसवन्त पौडेललाई उम्मेदवार बनाउँदा इतर समूह रुष्ट भएको छ।

पौडेललाई उम्मेदवार बनाएका कारण असन्तुष्टि चुलिएको इतर समूहका विद्यार्थी नेताहरु बताउँछन्। आन्तरिक विवाद भए पनि संगठनभित्रको यो विवादले  चुनावलाई  प्रभाव नपर्नेसमेत इतर समूहका विद्यार्थी नेताहरू नै दाबी गर्छन्।

नेविसंघले परीक्षा र नीतिगत प्रणाली, संरचनागत सुधार, पाठ्यक्रम निर्माण लगायतका विषयमा सुधार गर्नुपर्ने विषय उठाएको पौडेलको भनाई छ। 

एमालेनिकट अनेरास्ववियुलाई अन्तर्घातको डर

नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुलाई भने अन्तर्घातको डर रहेको छ। गुटबन्दीका कारण निर्वाचनमा आफ्नैबाट अन्तर्घातको डर रहेको अनेरास्ववियुका एक नेता बताउँछन्।

त्यसो त आफू विद्यार्थीहरुको निकट रहेकाले जित्नेमा ढुक्क रहेको अनेरास्ववियुका सभापति नवीन पहाडी बताउँछन्। उनले वृहत् सपना बाँड्नभन्दा पनि क्याम्पसमा विद्यार्थीले भोगिरहेको समस्या समाधान हुने र सुधारको मुख्य विषयलाई एजेन्डा बनाएको बताए।

छात्रावास र यातायातको व्यवस्था गरिनुपर्ने र छात्रा शौचालयमा भेन्डिङ मेसिनसहितको सेनेटरी प्याड अनिवार्य राखिनुपर्ने मुख्य चुनावी एजेन्डा रहेको उनले सुनाए।

२०६५ सालमा भएको स्ववियु निर्वाचनमा महेन्द्र मोरङमा अखिल क्रान्तिकारीका तत्कालीन उम्मेदवार जयराम सुन्दास विजयी भएका थिए।

१४ वर्षपछि हुन लागेको निर्वाचनमा पनि आफ्नो यसअघिको विरासत जोगाउने दाउमा क्रान्तिकारी छ। निर्वाचनमा उक्त कलेजमा ५ हजार ७ सय ९० जना विद्यार्थी मतदाता रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.